Explore news and happenings at Bhaktapur

अनलाइन गोष्ठीमार्फत नेपाली भूमिमाथि भारतीय अतिक्रमणको विरोध

भक्तपुर । २०७७ वैशाख २९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अतिक्रमणबारे अनलाइन गोष्ठी (वेबिनार) सोमबार सम्पन्न भयो ।

अनलाइन गोष्ठीमा आफ्नो धारणा राख्नुहुँदै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको महामारी भइरहेको समयमा भारतका शासक वर्गले देखाएकोे विस्तारवादी चरित्रको भत्सर्ना गर्नुहुँदै नेपालको भूमि अतिक्रमणबारे परराष्ट्रमन्त्री बेखबर हुनु लज्जास्पद र निन्दनीय भएको बताउनुभयो ।

नेपालले कुटनीतिक पहलका साथै सप्रमाण अन्तर्राष्ट्रिय अदालतमा गएर नेपालको भूमि दाबी गर्न ढिलाई गर्न नहुने बताउनुहुँदै प्रमुख प्रजापतिले भारतीय विस्तारवादको हेपाहा र हस्तक्षेपकारी कदमको विरोधमा नेपाली जनताले निरन्तर सशक्त संघर्ष गर्दै जाने बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो — ‘नेपाल सरकारले आफ्नो भूमि प्रमाणको आधारमा दाबी गर्नुपर्छ । नेपाल मजदुर किसान पार्टीले नेपाल भारत सीमा नियमित गर्नुपर्नेमा निरन्तर आवाज उठाउ“दै आएको छ भन्नुभयो ।’

अनलाइन गोष्ठीमा सीमाविद् रतन भण्डारीले ‘लिम्पियाधुरा सीमा अतिक्रमण ः नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथिको नांगो आक्रमण’ विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको ऐतिहासिक नक्सा नेपालसँग भएको बताउनुहुँदै सीमाविद् भण्डारीले नेपालको भूमि फिर्ता लिन उच्च राजनीतिक संयन्त्रमार्फत कुटनीतिक संवाद र वार्ता गर्न नेपाल सरकारले ढिलाइ गर्न नहुने विचार राख्नुभयो ।

अनलाइन गोष्ठीको सञ्चालन ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.