Explore news and happenings at Bhaktapur

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक

भक्तपुर । चैत ६ गते, बिहीबार

0

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरुसँग छलफल कार्यक्रमको आयोजना ग¥यो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य संकटकाल घोषणा भएको अवस्थामा जात्रा सञ्चालन चुनौतीपूर्ण रहेको बताउनुहुँदै हजारौं मानिस जम्मा हुने बिस्केट जात्रा सञ्चालनलाई व्यवस्थित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।

जटिल परिस्थितिमा पनि भक्तपुरको ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र कोरोना संक्रमणबाट सजग बनाउने अभियानमा भक्तपुर नगरपालिका क्रियाशील रहने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रालाई सफल पार्नु सबैको दायित्व हो भन्नुहुँदै उहाँले बैठकबाट प्राप्त महत्वपूर्ण सुझावलाई मध्यनजर गरी आवश्यकताअनुसारको सानो समूहको समिति गठन गरी जात्रा व्यवस्थापनबारे आवाश्यक निर्णय गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको त्रासले गर्दा यस वर्ष बिस्केट जात्रा चुनौतीपूर्ण हुने इंगित गर्नुहुँदै ऐतिहासिक महत्व बोकेको जात्रा सञ्चालन जनगुनासो रहित ढंगले सम्पन्न गराउन गुठी संस्थान भक्तपुरलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले कोभिड–१९ भयावह बन्दै गएको र नियन्त्रण गर्न चुनौतीपूर्ण भइरहेको बताउनुहुँदै जात्राको समयमा उच्च सतर्कता अपनाउन नागरिकहरुमा अपिल गर्नुपर्नेमा जोड दिनुभयो ।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले साविकबमोजिम रथ निर्माणको काम भइरहेको र संस्थानबाट गर्नुपर्ने काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यक्रमका सहभागीहरु रामबहादुर प्रजापति, केशव तमखु, न्हुछेराम भेले, गोविन्द मल्ललगायतले पनि राय–सुझाव राख्नुभएको थियो ।

बैठकका निर्णयहरू निम्नप्रकार छन् ः

१) बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) हालसम्म १३९ देशमा संक्रमणका बिरामी भेटिएको, १,९१,१२७ संक्रमित भई ७,८०७ जना मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाउँदै विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको तथा नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको हुँदा यो संकटको बेला सम्पूर्ण नगरबासीहरुलाई सचेत रहन अपिल गर्ने र कोभिड—१९ को संक्रमणबाट जोगिने उपायहरुका सम्बन्धमा प्रचारप्रसार गर्ने निर्णय गरियो ।

२) बिस्केट जात्रा सञ्चालनको लागि कोरोना भाइरसको उच्च जोखिममा ठूला भेला र सभा सम्मेलन गर्न नमिल्ने परिस्थितिलाई ध्यानमा राखेर शान्तिपूर्ण र व्यवस्थित रुपमा जात्रा सञ्चालन गर्न नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा निम्न बमोजिमका सदस्यहरु रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरियो ः
१. संयोजक – सुनिल प्रजापति
२. सदस्य – प्रमुख जिल्ला अधिकारी
३. सदस्य – भनपा वडा नं. ४ का वडाध्यक्ष
४. सदस्य – भनपा वडा नं. ५ का वडाध्यक्ष
५. सदस्य – जिल्लाका सुरक्षा निकाय प्रमुखहरु
६. सदस्य – भक्तपुर विद्युत प्राधिकरण प्रमुख
७. सदस्य – भक्तपुर दूर सञ्चार प्रमुख
८. सदस्य – खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख
९. सदस्य – भैरवनाथ जात्रा सहयोग समिति
१०. सदस्य – भैरवनाथ गुठी नाइके

३. बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण जनतामा अपिल गर्ने,

४. गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सरोकारवाला सबैले समयमै जात्रा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट आवश्यक तयारी समयमै गर्ने,

५. जिल्ला प्रशासन तथा जिल्लाका सुरक्षा निकायहरुले शान्ति सुरक्षाको योजना बनाई सुरक्षा व्यवस्था मिलाउने ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.