Explore news and happenings at Bhaktapur

दुगुरेस्थित बेची व्वङ र शारीरिक सुगठनका सामग्रीहरूको उद्घाटन

भक्तपुर । २०७६ फागुन ३० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित तुमचो, दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्र अवस्थित बेची ब्वङ (कुवा) पुनःनिर्माण तथा नगरपालिकाको बजेटअन्तर्गत व्यवस्थापन गरिएको शारीरिक व्यायाम सामाग्रीको उद्घाटन शुक्रबार गर्नुभयो ।

उद्घाटन समारोहमा आफ्नो विचार राख्नुहुँदै प्रमुख प्रजापतिले बेची ब्वङको ऐतिहासिकता लोप हुने खतरा भएको हुँदा भक्तपुर नपाले ब्वङको ऐतिहासिकता जोगाउन नगरपालिकाले पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी यसको पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले उपभोक्ता समितिमा बसेर योगदान पु¥याउनुहुने, श्रमदाता र चन्दादाताहरूमा नैतिक र भौतिक सहयोगको निम्ति नगरपालिकाको तर्फबाट आभार प्रकट गर्नुभयो ।

भक्तपुर नगरपालिकाले यहाँका ऐतिहासिक र पुरातात्विक महत्व बोेकेको क्षतिग्रस्त सम्पदाहरू उपभोक्ता समिति गठन गरी आर्थिक अनुशासनमा बसेर पारदर्शी ढंगले सम्पदाहरू पुनःनिर्माण गरिरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले व्यक्तिगत सम्पत्ति भन्दा समाजको सम्पत्ति जोगाउन अभियानका साथ नपा अगाडि बढिरहेको बताउनुभयो ।

अस्वस्थ खानपिन र जीवनशैलीले विभिन्न रोगहरूको जोखिम बढिरहेको वर्तमान समयमा नगरबासीहरूलाई स्वस्थ र स्फूर्ति बनाउन नगरका सबै वडा र नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा शारीरिक व्यायामका सामाग्रीहरू जडान गरिसकेको उहाँले बताउनुभयो ।

भक्तपुर नपाले व्यवस्थित आवास योजना सञ्चालनमा जोड दिंदै आएको र खानेपानी समस्या समाधानको निम्ति विभिन्न ठाउँहरूमा बोरिङको कार्यलाई पनि तीव्रता दिंदै आएको छ – उहाँले भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बेची ब्वङलाई पुनःजीवन दिने काममा स्थानीय जनताको सक्रिय सहभागिता रहेको बताउनुभयो । क्षेत्रफलका हिसाबले सानो भक्तपुर नगरपालिकामा घना मानव बस्तीको बसोबास रहेको हुँदा खुला ठाउँ संरक्षण चुनौतीपूर्ण रहेको औंल्याउनुहुँदै वडाध्यक्ष ज्याखवले भक्तपुर नपाले कला–संस्कृतिले भरिएको नगरको ऐतिहासिकता जोगाउन आवश्यक पहल गरिरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष एवम् भनपा अनुगमन समितिका संयोजक राजकृष्ण गोराले भक्तपुर नगरभित्रका पसलहरूको बजार अनुगमनका क्रममा भेटिएको तथ्यहरू पेश गर्नुहुँदै अधिकांश पसलहरूले नाफाको निम्ति अखाद्य वस्तु र रंग प्रयोग गर्ने पाइरहेको बताउनुभयो ।

बेची ब्वङ उपभोक्ता अनुगमन समितिका संयोजक एवम् कार्यपालिका सदस्य छोरीमैया सुजखुले वडामार्फत भएका गतिविधि र सम्पदा संरक्षणमा भक्तपुर नपाले गरिरहेको कार्यबारे अवगत गराउनुहुँदै उपभोक्ता समितिमार्फत भएका कार्यमा स्थानीय जनताको अपनत्व रहेको बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य केन्द्रका जनरल फिजिसियन डा. बालकृष्ण चाँगुभारीले कोरोना भाइरस संक्रमणबाट बच्ने उपायबारे सचेत पार्नुभयो भने भनपा वडा नं. ९ खेलकुद समितिका संयोजक राजेश प्रजापतिले नगरपालिकाले स्थापना गरेको व्यायाम सामाग्रीहरू सही सदुपयोगको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा बेची ब्वङ उपभोक्ता समितिका अध्यक्ष रमेश लाछिमस्युले बेची ब्वङ पुनःनिर्माण कार्यको आर्थिक हिसाब प्रस्तुत गर्नुहुँदै बेची ब्वङको लगत इस्टिमेट ६० लाख ७३ हजार ३४० रहेकोमा कुल खर्च ४३ लाख ६५ हजार ३४८ मा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा रामेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.