Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिद्वारा रसियाका ख्याति प्राप्त कलाकारहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर । २०७६ फागुन १९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसियाबाट आउनुभएका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो । रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया आन्ड्रोस्भाको नेतृत्वमा आउनुभएको भ्रमण टोलीमा रसियाका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरुको अवलोकन गर्नुका साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनको स्थलगत अवलोकन गर्नुभयो ।


टोलीलाई स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको परिचय दिनुहुँदै नेपाल र रुस दूरीमा धेरै टाढा भए पनि नेमकिपाले लेनिनवादी विचारलाई अंगाल्दै देशमा समाजवाद स्थापनाको लागि कार्यरत रहेको बताउनुभयो ।
भक्तपुरबासी जनतालाई सुविधा दिन शिक्षा र स्वास्थ्यमा भक्तपुर नगरपालिकाले जोड दिइरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरेर सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यो सांस्कृतिक नगरमा धेरै मूर्त र अमूर्त सम्पदाहरू छन् । नगरपालिकाले पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारा दिएर कला–संस्कृतिको संरक्षण गर्दै आएको छ । २०७२ सालको भूकम्पले यहा“का ११५ भन्दा बढी सम्पदाहरू ८ हजारभन्दा बढी घरहरूमा क्षति पुगेकोमा हाल ९० भन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरिसकेको र क्षतिग्रस्त घरहरू तीव्र गतिमा निर्माण भइरहेका छन् ।’
नगरपालिकाले खेलकुदलाई पनि विशेष जोड दिइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले हालैमात्र अन्तरनगर खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको र बक्सिङ, कराँते, जिम्नास्टिक, भलिबल, फुटबल, टेबुलटेनिसलगायतका खेलहरूको नियमित प्रशिक्षण दिंदै आएको बताउनुभयो ।
भेटमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ, रुसी सांस्कृतिक केन्द्रका प्रमुख, रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया आन्ड्रोस्भा, भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवालगायतले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.