Explore news and happenings at Bhaktapur

‘‘मिलेनियम च्यालेन्ज कर्पोरेशन र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयक प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर । मिति २०७६ फागुन १२ गते, सोमबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सोमबार ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा कलेजका कर्मचारी र शिक्षकहरुबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्तमान समयमा अमेरिकी साम्राज्यवादविरुद्ध लडाइँ गर्नु आवश्यक भएको बताउनुभयो ।

दुई तिहाइ भएको सरकारले देशहित विपरीतका ऐन–कानुन पास गरी संविधान नै संशोधन गर्ने खतरा भएको औंल्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले चीनसित लड्न अमेरिकाले यो रणनीति अगाडि सारेको र एमसीसी सम्झौता अनुमोदन भयो भने नेपालको ऐन–कानुन नै नचल्ने खतरा भएको बताउनुभयो ।

लडाइँबाट नहारेसम्म संरा अमेरिकाले साम्राज्यवादी सोच नत्याग्ने बताउनुहुँदै उहाँले विदेशीको पैसाले चुनाव जितेका शासक दलका नेताहरुले विदेशीकै इसारामा अमेरिकी एमसीसी सम्झौतालाई अगाडि सारेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिका युवाहरुको सपनाको देश नभइ अपराधी र गुण्डाहरुको देश बन्दै गइरहेको बताउनुहुँदै अध्यक्ष रोहितले एमसीसीलाई कुनै हातमा संसदबाट पारित गराउन नहुने र त्यसको विरुद्ध नेमकिपाले फागुन १३ गते रत्नपार्कदेखि विरोध जुलुस गर्दै अमेरिकी दूतावासमा विरोध पत्र बुझाउने कार्यक्रम रहेको र सो कार्यक्रममा न्यायप्रेमी जनतामाझ उपस्थितिको लागि आह्वान गर्नुभयो ।

नेमकिपाका सचिव एवम् संघीय सचिव प्रेम सुवालले नेपालजस्तो सानो मुलुकको लागि एमसीसी सम्झौता चुनौतीपूर्ण भएको बताउनुहुँदै एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन विदेशी दलालहरु सक्रिय रहेको बताउनुभयो ।
एमसीसी सम्झौताका शर्तहरुबारे केलाउनुहुँदै सांसद सुवालले एमसीसी सम्झौता भारतको प्रस्तावमा अमेरिकाले नेपाललाई सहयोग गर्न लागेको देखिन्छ भन्नुभयो ।

आइपीएस र एमसीसी सम्झौत एउटै भएको बताउनुहुँदै नेता सुवालले एमसीसीमा सहभागी हुनु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु हो भन्नुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन शासक दलका नेताहरुले सक्रियता बढाइरहेकोमा आपत्ति जनाउनुहुँदै सरकारले विना शर्तका सहयोग स्वीकार गर्न नहुने र त्यस्ता सहयोगको सशक्त विरोध गरी अस्वीकार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ विषयमा प्रस्तुतीकरण देखाउनुहुँदै मिलेनियम च्यालेन्ज लागु भएका संसारका विभिन्न देश अन्योलमा रहेको बताउनुहुँदै यो सम्झौता अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक सामरिक रणनीतिकै अंग भएको बताउनुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे आफ्नो प्रस्तुतीकरण देखाउनुहुँदै संयुक्त राज्य अमेरिकाले चीनको विरुद्ध लड्न अन्य शक्ति राष्ट्रहरुलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.