Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. ४ मा दन्त शिविर

२०७६ फागुन १० गते, शनिबार ।

0

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शनिबार तारा माविको प्रांगणमा दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।

शिविरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै धन हो, शरीरको सबै अंगको उत्तिकै महत्व र मूल्य हुने बताउनुहुँदै दाँतको उपचार निकै कठिन र महँगो पर्ने हुँदा यसको उचित हेरचाह गर्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले नयाँ पुस्ताको आधुनिक जीवनशैलीका कारण समाजमा विकृतिहरु पनि भित्रिंदै गएको औंल्याउनुहुँदै सुसंस्कृत समाज निर्माणको अभियानमा भक्तपुर नपा क्रियाशील रहेको बताउनुभयो ।

देशकै अग्लो पाँच तले मन्दिरको अभिलेखीकरण गर्दै पुनःनिर्माण गरिरहेको भक्तपुर नपाले आयोजना गर्ने भक्तपुर महोत्सवमा भक्तपुरबासीहरुको मौलिक कला, सीप, संस्कृति उजागर हुने बताउनुहुँदै शारीरिक, मानसिक र बौद्धिक रुपमा स्वस्थ रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी नपाले नियमित रुपमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र दाँतको सुरक्षाको निम्ति खाना खाइसकेपश्चात नियमित दाँत माझ्ने बानी विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् कार्यपालिका सदस्य एवम् भनपा वडा नं. ४ स्वास्थ्य समितिका संयोजक कृष्णलक्ष्मी दुवालले दाँतबाट हुने सम्भावित रोगबाट बच्न यसको समयमै सुरक्षा र चेकजाँच गराउनु आवश्यक भएको बताउनुहुँदै नेमकिपाको आयोजनामा फागुन १३ गते अमेरिकी एमसीसी सम्झौताको विरोधमा अमेरिकी दूतावासमा विरोध पत्र बुझाउने कार्यक्रममा सहभागिताको लागि आह्वान गर्नुभयो ।

स्वास्थ्य समितिका सल्लाहकार उपेन्द्र सुवालले दाँत शरीरको महत्वपूर्ण अंग भएको औंल्याउनुहुँदै नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले सबै वडामा शारीरिक ब्यायामशाला जडान गरिसकेको र यसको उपभोगको निम्ति पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य समितिका सदस्य एवम् तारमा माविका शिक्षक कृष्ण गोविन्द दुवाल र वडा सदस्य राजेन्द्र माकले पनि आ—आफ्नो विचार व्यक्त गनुभयो ।

Leave A Reply

Your email address will not be published.