Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सवलाई पृथक ढंगले मनाऔं ः नगर प्रमुख सुनिल प्रजापति

भक्तपुर । २०७६ फागुन ५ गते, सोमबार

0

नेपाल भ्रमण वर्ष सफल पार्न भक्तपुर नगरपालिकाको आयोजनामा यही चैत ४–८ गतेसम्म सञ्चालन हुने पाँच दिने ‘भक्तपुर महोत्सव’ को तयारीस्वरुप सोमबार नगरभित्रका होटल व्यवसायीहरुको भेला सम्पन्न भयो ।

भेलामा सम्बोधन गर्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको भविष्य पर्यटन क्षेत्रको विकासमा भएको बताउनुहुँदै आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि होटल व्यवसायीहरुले गुणस्तरीय सेवा–सुविधा प्रदान गर्न आह्वान गर्नुभयो ।

चीनमा हाल देखा परेको कोरोना भाइरसका कारण भक्तपुर भ्रमण गर्ने चिनियाँ पर्यटकहरुमा कमी आएको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले होटल–व्यवसायीहरुबीच हुने अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुहुँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र भक्तपुरको पहिचानलाई संसार सामु चिनाउने उद्देश्यले ‘भक्तपुर महोत्सव’ को आयोजना भएको बताउनुभयो ।

भक्तपुरको पुरानो नगरलाई व्यवस्थित र आकर्षक बनाउन २०७६ साल फागुन १ गतेदेखि भारी सवारीसाधन प्रवेश गरिएको जानकार गराउनुहुँदै प्रमुख प्रजापतिले आन्तरिक र बाह्य पर्यटकको स्वागत–सत्कार व्यवस्थित हुनुपर्ने बताउनुभयो । भक्तपुर महोत्सवलाई अरु ठाउँको महोत्सवभन्दा फरक र पृथक ढंगले आयोजना गर्ने योजना भएको उल्लेख गर्नुहुँदै उहाँले भक्तपुर नपाले नगरको सरसफाइलाई पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको छ भन्नुभयो ।

कार्यक्रममा उपस्थित होटल व्यवसायीहरु मोनिका कायस्थ, कैलाश धौबन्जार, सत्यराम सुवाल, रञ्जित मारिखु, कृतन अवाललगायतले भक्तपुरमा कल्चर सेन्टरको आवश्यकता भएको, धार्मिक पर्यटकहरुलाई प्रोत्साहन गर्ने गरी मन्दिरहरु खोल्ने व्यवस्था गर्नुपर्ने, पर्यटकहरुको सुरक्षाको प्रबन्धमा ध्यान दिनुपर्ने, विदेशी पाहुनाहरुको विशेष स्वागतको व्यवस्था हुनुपर्ने, सन्ध्याकालीन पर्यटनको लागि सम्पदालाई असर नपर्ने गरी रात्रीकालीन बत्तीको व्यवस्था गर्नुपर्ने, पर्यटकहरुको सामान ढुवानीको लागि सानो इलेक्ट्रिक सवारी वा ह्वील चेयरको व्यवस्था हुनुपर्ने, भुस्याहार कुकुर नियन्त्रण गर्न पहलकदमी आवश्यक भएकोलगायतका सुझावहरु राख्नुभएको थियो ।

भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवका आकर्षणहरुबारे जानकारी दिनुहुँदै भक्तपुरको सबै गल्ली र चोकहरुमा महोत्सवका आकर्षणहरु समावेश रहेको बताउनुभयो । उहाँले पाँचदिने महोत्सवलाई उल्लासमय ढंगले सम्पन्न गर्न सम्पूर्ण व्यवसायीहरुलाई आ–आफ्नो क्षेत्रमा योगदान गर्न पनि आह्वान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.