Explore news and happenings at Bhaktapur

भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगितामा न्हुज धिमे खलः समूह विजयी

भक्तपुर । २०७६ माघ २६ गते आइतबार

0

भक्तपुर नगरपालिकाले भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता (माघ २५ र २६) गते सफलताका साथ सम्पन्न ग¥यो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

शनिबार र आइतबार गरी दुई दिन आयोजित उक्त प्रतियोगितामा भक्तपुर जिल्लाभरिका ७७ वटा बाजा समूह दर्ता भएकोमा ७२ बाजा समूहले प्रतियोगितामा भाग लिएका थिए ।

धिमे बाजा प्रतियोगितामा भनपा वडा नं. १० कमलविनायकको न्हुज धिमे खलः प्रथम, भनपा वडा नं. ९ दत्तात्रयको ख्वप धिमे खलः द्वितीय, छालिङ ५ चाँगुनारायण नपाको श्री गणेश दाफा भजन समूह तृतीय, नगाँचा १० भक्तपुरको नगाँचा धिमे बाजा खलः र भक्तपुर याछें ६ को द राइजिङ कल्चर ग्रुपले सान्त्वना स्थान हासिल गरेको थियो भने सूर्यविनायक नपा पान्डोबजार ६ को पान्डोबजार धिमाय् बाजा खलः र मध्यपुर थिमी गुंगचिवा ६ को गुंगचिवा धिमेले  भने प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।

पुरस्कार वितरण समाराेहमा बोल्नुहुँदै नेता बिजुक्छेँले नगरपालिकाद्वारा आयोजित धिमे बाजा प्रतियोगिताका प्रतिस्पर्धीहरु अधिकांश नयाँ पुस्ताका युवाहरु रहेको उल्लेख गर्नुहुँदै भक्तपुरका जनताको राजनैतिक र सांस्कृतिक स्तर विस्तारै बढ्दै गएको छ भन्नुभयो । उहाँले भक्तपुरका हरेक नागरिकलाई कलाकारको संज्ञा दिनुहुँदै आफूले सिकेको सीप र ज्ञान सधैं जीवनउपयोगी हुने बताउनुहुँदै नेपाली कांग्रेस भ्रष्टाचारीको पक्ष लिने पार्टी हो भन्नुभयो ।

भक्तपुर नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृतिको लागि माग गरिरहेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरभित्र भारी सवारीसाधन निषेध गर्ने निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।

समारोहका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक प्रवद्र्धनमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने बताउनहुँदै भक्तपुर नपाले भक्तपुरको संस्कृति प्रवद्र्धन र संरक्षणमा अग्रणी भूमिका खेल्ने संस्कृतिकर्मीहरुको सम्मान गर्दै आइरहेको बताउनुभयो । उहाँले सांस्कृतिक नगर भक्तपुरमा फागुन १ गतेदेखि निश्चित समयको लागि भारी सवारीसाधन प्रवेश निषेधको योजना अगाडि सारेको बताउनुभयो ।

नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले प्रतियोगिता निकै उल्लासमय ढंगले सुचारु भएको बताउनुहुँदै धिमे बाजामार्फत समाजमा भएका विभिन्न किसिमका समाजिक र राजनीतिक विकृति विरोध गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले पञ्चायती बाटो नै पछ्याइरहेको छ भन्नुहुँदै उहाँले पञ्चायत, नेका र नेकपा सरकार ‘गाँसे गुसे एकै नासे’ हुन् भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई जीवन्तता दिन सांस्कृति प्रतियोगिताले थप योगदान पु¥याउने बताउनुहुँदै भक्तपुर महोत्सवमा समाविष्ट गरिने सांस्कृतिक कार्यक्रमहरुबारे जानकारी गराउनुभयो ।

उहाँले भक्तपुर भूकम्पीय जोखिममा रहेको क्षेत्र भएको नपाद्वारा सञ्चालित कलेजहरुमा भूकम्प इन्जिनियरिङ विषयको अध्ययन—अध्यापन भइरहेको छ भन्नुभयो । नयाँ पुस्तालाई कुलतबाट जोगाउन विभिन्न प्रतियोगिता र गतिविधिमा संलग्नता बढाइरहनुपर्ने बताउनुहुँदै उहाँले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै किसिमको लापरबाही हुनु नहुनेतर्फ सजग पार्नुभयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष तथा धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य उकेश कवांले धिमेबाजाको विकास र प्रवद्र्धनमा अग्रजको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै मानव सभ्यताको विकासको निम्ति निरन्तर लागिरहनुपर्ने बताउनुभयो । नयाँ पुस्तामा विदेशी वाद्यवादनमा आकर्षण बढिरहनु चिन्ताको विषय भएको औंल्याउनुहुँदै नेपालको गीत—संगीतलाई बचाइराख्न नयाँ पुस्तालाई क्रियाशील बनाइराख्नु आजको आवश्यकता हो भन्नुभयो ।

उक्त समारोहमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर देशकै सांस्कृतिक महत्व बोकेको ठाउँ भएको बताउनुहुँदै भक्तपुर नपाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी भएको स्रोत—साधनको अधिकत्तम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य रबिन्द्र ज्याख्व, भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भक्तपुर नपा वडा नं. २का वडाध्यक्ष हरिप्रसाद बासुकला, निर्णायक मण्डलका सदस्य शेषनारायण महर्जनले पनि बोल्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय स्थान हासिल गरेको  टोलीलाई नगद रु. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय स्थान ओगटेको  टोलीलाई नगद रु. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु. १०,०००।—, भुछ्या १ थान, धिमे १ थान प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागी सबै टोलीलाई भुछ्या १ जोडी र खाजा खर्च रु. २००० प्रदान गरिएको उक्त समारोहमा निर्णायक मण्डलका सदस्य, धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य, बजार परिक्रमा मूल्यांकनकर्ताहरुलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.