Explore news and happenings at Bhaktapur

ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा तीनदिने शैक्षिक प्रदर्शनी आजबाट सुरू

भक्तपुर, २०७६ माघ २२ गते, बुधबार ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको कार्यक्रम तथा शैक्षिक प्रदर्शनी उद्घाटन बुधबार कलेज प्रा·णमा सम्पन्न भयो ।

भक्तपुरको देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि सुरु ३ दिने शैक्षिक प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै नेता बिजुक्छेँले कुनै पनि शैक्षिक संस्थाको सफलता शिक्षक र विद्यार्थीको संयुक्त मेहेनत र प्रयासले सम्भव हुने बताउनुभयो । विद्यार्थीहरूलाई अध्ययनशील र उत्साहित बनाउन शिक्षकहरूले थप योगदान गर्नुपर्नेमा जोड दिनुहुँदै विद्यार्थीहरूसँग असल व्यवहार गर्न मार्गनिर्देशन गर्नुभयो ।

संसारमा सबभन्दा बढी ऐन–कानुन नचल्ने देश अमेरिका भएको इंगित गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले अमेरिकामा विना भिसा देशभरिका करोडौं मानिसहरूको बसोबास रहँदै आएको छ भन्नुभयो । गैरकानुनी रुपमा बसोबास गर्दै आएका मानिसहरूलाई अमेरिकाबाट देश निकाला गरे अमेरिकामा ठूलो संकट निम्तिने खतरा भएको उहाँले बताउनुभयो ।

छिमेकी मुलुक चीनमा हालै महामारीको रुपमा देखा परेको कोरोना भाइरसप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष बिजुक्छेँले संयुक्त राज्य अमेरिकाले स्वाभाविक रुपमा युद्ध जित्न नसके अनेक जालझेल गर्न सक्नेतर्फ सचेत पार्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय अनुमति मागेको १२ वर्ष बित्दा पनि विश्वविद्यालय सञ्चालन स्वीकृति नपाउनु भनेको सरकार सञ्चालक जवाफदेही नभएको प्रस्ट भएको बताउनुभयो ।

रोजगारीको नाममा ७० लाखभन्दा बढी नेपाली युवाहरू विदेशका बहुराष्ट्रिय कम्पनीहरूमा श्रम गर्न बाध्य भएकोमा चिन्ता प्रकट गर्नुहुँदै सांसद सुवालले भारतद्वारा अतिक्रमित ६० हजारभन्दा बढी जग्गा कुटनीतिक पहलबाट फिर्ता नहुने हुँदा सो मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लानुपर्ने बताउनुभयो ।

सांसद सुवालले अमेरिकी एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिअन्तर्गतकै भएको बताउनुहुँदै यो नेपालको हितविपरीत भएको बताउनुभयो । उहा“ले कोरोना भाइरस नियन्त्रणमा चीनले गरिरहेको प्रयास प्रशंसनीय भएको बताउनुहुँदै नेपाल मजदुर किसान पार्टीले कोरोना भाइरसविरुद्ध ऐक्यबद्धता जनाइसकेको धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले देशभरि सरकारी वा समुदायिक विद्यालय तथा कलेजहरू असफल भइरहेको अवस्थामा भक्तपुर नपाद्वारा सञ्चालित विद्यालय, कलेज शैक्षिक गुणस्तरको हिसाबमा कुनै निजी शैक्षिक संस्थाभन्दा कम नभएको बताउनुभयो ।

सीमाना जोडिएका ठाउँहरूमा भएको थिचोमिचो र अन्यायबारे खुलेर विरोध गर्न विद्यार्थीलाई आह्वान गर्दै प्रमुख प्रजापतिले ख्वपमा अध्ययरत हरेक विद्यार्थी देश रक्षाको निम्ति निरन्तर आवाज उठाउने सिपाहींको रुपमा अगाडि बढ्न शुभकामना दिनुभयो ।

नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले नवउदारवादलाई निमित्यान्न पार्ने बलियो हतियार समाजवाद भएको उल्लेख गर्नुहुँदै शिक्षामा भएको विभेदीकरण, वर्गविभेद, भागबण्डा र भ्रष्टाचारका कारण देशको शिक्षा क्षेत्र तहसनहस भएको बताउनुभयो । भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरू शिखरको पाइलातर्फ लम्किरहेको बताउनुहुँदै सांसद गोसाइँले अमेरिकी एमसीसी सम्झौतामा अमेरिकी साम्राज्यवाद हाबी भइरहेको प्रस्ट पार्नुभयो ।

बागमती प्रदेशका सांसद सृजना सैंजुले नेपालका विश्वविद्यालयहरू बौद्धिक भ्रष्टाचारको केन्द्रको रुपमा विकास हुँदै जानु चिन्ताजनक भएको बताउनुहुँदै नेपालले एमसीसी स्वीकार गरे देश अमेरिकी सेनाको अखडा बन्नेछ भन्नुभयो । नेमकिपाले अमेरिकी एमसीसी सम्झौताको वास्तविकताबारे जनतालाई सचेत पार्न जिल्ला र चोक–चोकमा सभाहरू आयोजना गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाद्वारा सञ्चालन भएका कलेजहरूको नतिजा र गुणस्तर दिनप्रतिदिन अभिवृद्धि हुँदै जानु सुखद पक्ष भएको बताउनुहुँदै गुणस्तरीय शिक्षा प्रदान गर्न कलेजहरू निरन्तर क्रियाशील रहने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसन्धान गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डेले नेपाल सरकारले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षक तालिममा धेरै रकम खचिरहेको तर ती तालिमहरू उपलब्धीशून्य भएको र प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण र गलत संस्कारलाई निरुत्साहित गर्न भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले निःस्वार्थ रुपमा देशभरका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हो भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको बताउनुहुँदै भक्तपुर नपाले गरिरहेको काम–कारबाही अन्य स्थानीय तहको लागि नमुनायोग्य भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले ख्वप कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप माविको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा कलेजका शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोल्नुभएको थियो भने कलेजमा अध्ययनरत विद्यार्थीहरूले गीत, संगीत, नाच र विविध साँस्कृतिक प्रदर्शनीहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँले कलेजमा अनवरत रुपमा १० वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारी तथा शिक्षकहरूलाई सम्मान गर्नुभयो भने अतिथिहरूले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो । साथै वार्षिकोत्सवको अवसरमा भएको भक्तपुर जिल्लास्तरीय कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, बास्केटवल प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले मेडल तथा प्रशंसा पत्र प्रदान गर्नुभयो ।

माघ २२ देखि २४ सम्म सञ्चालन हुने शैक्षिक प्रदर्शनी अवलोकन प्रवेश निःशुल्क हुने र प्रदर्शनीमा कलेजका विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँच वटा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले स्टलहरू राखेको कलेज स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.