Explore news and happenings at Bhaktapur

विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, २०७६ माघ २० गते, सोमबार ।

1

भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुर्‍याएको भक्तपुर नगरको प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार ६५ लाख १३ हजार ३५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरु गरेको छ । नेपालकै अग्लो विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेपाल भूकम्पीय जोखिमको हिसाबले ११ औं स्थानमा रहेको जानकारी गराउनुहुँदै ङातापोल संरक्षणको लागि मौलिक प्रविधिका साथै गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्पदामा पर्न सक्ने भूकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि काठको संरचना महत्वपूर्ण हुने भएको बताउनुहुँदै उहाँले सम्पदा संरक्षणको लागि सरकारी तहबाट सुपथ मुल्यमा गुणस्तरीय काठ उपलब्ध गराउनुपर्छ भन्नुभयो ।

प्रमुख अतिथि सुवालले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा कामको गुणस्तर र आर्थिक अनुशासनलाई विशेष जोड दिनुपर्ने तथा मुख्य मुख्य सम्पदाहरुको भूकम्प अघि र पछिको विस्तृत अध्ययनको आवश्यकता औल्याउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सन् १७०२ मा राजा भूपतिन्द्र मल्लको पालामा निर्मित ङातापोल मन्दिर ३१७ वर्षसम्म पनि जस्ताको तस्तै रहनु उत्कृष्ट प्रविधिको प्रमाण हो भन्नुभयो ।
भूकम्पपछिको भक्तपुरका सम्पदा पुनःनिर्माण भक्तपुर नगरपालिकाले मौलिक प्रविधिलाई जोड दिंदै मौलिक स्वरुपमै जीर्णोद्धार गर्ने र मन्दिरमा अवस्थित हरेक वस्तुको क्षतिबारे अध्ययन र अनुसन्धान गर्दै सुरक्षित अभिलेखीकरण गरिरहेको उहाँले बताउनुभयो ।
सम्पदा पुनःनिर्माणमा काठ अभाव रहेको बताउनुहुँदै सरकारले सहज रुपमा काठ उपलब्ध गराउनेतिर ध्यान दिनुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको पुनःनिर्माण वा जीर्णोद्धारको कार्य साधारण जनतालाई जानकारी गराई आवश्यक राय–सुझाव संकलन र छलफलको आवश्यकता औंल्याउनुभयो । सांस्कृतिक सम्पदाहरुको मौलिक नाम संरक्षण गर्नुपर्ने बताउनुहुँदै सांसद सुवालले ङातापोल मन्दिर जीर्णोद्धारमा कुनै किसिमको कमी हुन नदिन विज्ञ र प्राविधिकहरुको सुझाव आवश्यक छ भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सम्पदा संरक्षणको कार्य नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने विचार व्यक्त गर्नुहुँदै सम्पदा संरक्षणलाई विशेष महत्व दिई भक्तपुर नगरपालिकाले विज्ञहरुको सल्लाह र सुझावलाई मनन गर्दै अगाडि बढिरहेको जानकारी दिनुभयो ।
राय–सुझाव संकलनको क्रममा प्राध्यापक सुदर्शनराज तिवारीले प्राचीन प्रविधि र सामग्री उपलब्ध भएसम्म त्यसैको प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै आधुनिक सामग्री प्रयोगको नाउँमा मन्दिरको छानामा जर्मन प्रोजेक्टले तार्र्पेत राख्ने शुरु गरेपछि धेरै सम्पदाहरुको बेहाल भएको बताउनुभयो ।
उहाँले भनपाले ५५ झ्याले दरबारको जीर्णोद्धार गरेर नमूना काम गरेकोमा प्रशंसा गर्नुहुँदै भक्तपुरको ५ तल्ले मन्दिर र ५५ झ्याले दरबारमा तत्काल उपलब्ध सबै खालका प्रविधि र बस्तु प्रयोग भएको हुन सक्ने बताउनुभयो ।
पूर्व निर्देशक विष्णुराज कार्कीले ङातापोलमा राखिएका टुडालहरुको अध्ययन गराउनुपर्ने, अमूर्त सम्पदाहरुलाई जोगाउनुपर्ने, भक्तपुर नपाबाट निर्माण सम्पन्न सम्पदा संरक्षणबारे प्रतिवेदन तयार गर्नुपर्ने, ङातापोलको गाह्रो र अन्य विषयबारे प्राविधिक अध्ययन गराउनुपर्नेमा जोड दिनुभयो ।
संरक्षणविद् ई. भरत शर्माले आफ्नो मौलिक प्रविधि छोडेर अरुको सहयोग माग्न नहुने बताउनुहुँदै भक्तपुरका सम्पदा पुनःनिर्माण उपभोक्ता समितिमार्फत गर्नु उदाहारणीय छ भन्नुभयो । उहाँले सम्पदाहरुलाई जीवन्तता दिने विज्ञहरुको सुझाव लिई कार्य अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्वन्यायाधीस गौरीबहादुर कार्कीले भक्तपुरको मन्दिरको प्रोफाइल बनाउनुपर्ने बताउनुहुँदै पुजा आजा नगरिने मन्दिर मन्दिर नहुने हुनाले मन्दिर सञ्चालनका लागि आर्थिक व्यवस्था गर्नुपर्ने बताउनुभयो । पुराना मौलिक नामहरु परिवर्तन गर्न नहुने उहाँको भनाइ थियो ।
त्यसैगरी प्रा. पुरुषोत्तमलोचन श्रेष्ठले ङातापोलको तल्लो तल्लामा आएको फुटबारे अध्ययन हुनुपर्ने र ङातापोल मन्दिरको बेलाबखतमा संरक्षण र सम्बद्र्धन हुनुपर्ने बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले मन्दिरमा कार्यगर्ने कामदारका सुरक्षालाई विशेष ध्यान दिई हेल्मेट, लुगा, जुत्ता, बेल्टको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुहुँदै मर्मत सम्भारको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराउन नहुने तथा सम्भावित चोरीलाई रोक्न सिसिटिभी जडान गरी सुरक्षा व्यवस्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।
गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंका सहायक प्रशासक हरिप्रसाद सुवेदीले भक्तपुरका अमूर्त सम्पदाहरुमा पनि नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै सांस्कृतिक सम्पदाहरुमा प्रयोग गरिएका काठहरु बलियो रहेको बताउनुभयो ।
दरबार हेरचाह कार्यालयका पुरातत्व अधिकृत मोहनसिंह लामाले विश्वप्रसिद्ध मन्दिर जीर्णोद्धार कार्यको स्थलगत अध्ययन गरी आवश्यक सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको सो कार्यक्रममा ख्वप इ. कलेजका आ.ई. रबिना शिल्पकारले ङातापोल मन्दिरबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

 

1 Comment
  1. chhusyaki says

    अन्तरक्रिया कार्यक्रम अाैधी उपयाेगीी देखिएकाे छ । कार्यक्रममा ङातापाेल पुननिर्माण उपभाेक्ता समितिकाे उपस्थिति नभएकाे पाे हाे कि ??? अगुवा तथा दिग्गज विद्वानहरुकाे राय अनुसार समिति र कामदारहरुले पनि प्रत्यक्ष अामनेसामने रही प्राविधिक कुरा साटफेर गर्ने माैका मिल्दाे हाे त पुननिर्माणमा कार्यमा कुनै प्राविधिक खाडल देखिने छैन ।

Leave A Reply

Your email address will not be published.