Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सव २०७६ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर, २०७६ माघ १४ गते मंगलबार ।

0

भक्तपुर महोत्सव मूल समितिको अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०७६ मूल समितिको बैठक मंगलबार बस्यो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र होइन सिङ्गो भक्तपुर जनताको महोत्सव हो” भन्नुहुँदै २०७६ चैत्र ४–८ गतेसम्म हुने ५ दिने आयोजना हुने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई विभिन्न समिति, उपसमितिहरु गठन गरिएको जानकारी गराउनुभयो ।
भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न टेवा पुर्‍याउने लक्ष्यका साथ भक्तपुर महोत्सवको आयोजना भएको बताउनुहुँदै उहाँले आन्तरिक तथा वाह्य पर्यटकहरुले भक्तपुरलाई नजिकबाट चिनोस् भन्ने उद्देश्य पनि लिएको जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले महोत्सवसँगै भ्रमण वर्षभरीनै भक्तपुरलाई महोत्सवमय होस् भन्ने हेतुले २०७६ माघ २५ गते जिल्लास्तरीय धिमेबाजा प्रतियोगिता, २०७६ फागुन ८ गतेदेखि अन्तरनगर एथलेटिक्स खेलकुद प्रतियोगिता हुने जानकारी गराउनुभयो ।
महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीहरुलाई सहयोग हुने अपेक्षा गरेको बताउनुहुँदै बैठकमा छलफलका क्रममा विभिन्न व्यक्तिहरुबाट आएका सुझावहरुलाई उपयुक्तताको आधारमा समेट्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले भक्तपुर नगरपालिकाको आयोजनामा हुन गईरहेको महोत्सवको सफलताको कामना गर्नुहुँदै जिल्लाभित्रका बाँकी ३ वटा नगरपालिकाहरुका साँस्कृतिक सम्पदाहरु र मौलिक उत्पादनहरुलाई पनि महोत्सवमा समेट्न सकेमा उपयुक्त हुने सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर महोत्सवको आयोजनाले नगरको कला, कौशल, परम्परागत सीपलाई जीवन्तता दिंदै यसको प्रचार प्रसारलाई मद्दत पुर्‍याउने बताउनुहुँदै नगर तथा देशकै आर्थिक सबलता हासिल गर्न थप टेवा पुर्‍याउने बताउनुभयो ।

उहाँले सुरक्षालाई दृष्टिगत गरी महोत्सवलाई सफल पार्न स्काउट, खेलाडीहरु तथा स्कूल कलेजका विद्यार्थीहरुलाई स्वयम्सेवक खटाउनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद बस्यालले महोत्सवको प्रचार प्रसारका साथै स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न यो महोत्सवमा नगरभित्रका सम्पूर्ण व्यवसायीहरु, सरकारी तथा गैरसरसरकारी संघसंस्थाहरु, कर्मचारीहरु, जनप्रतिनिधिहरुलगायत सम्पूर्ण नगरबासीको सहयोगको अपेक्षा गर्नुहुँदै छिमेकी नगरपालिकाहरुलाई समेट्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मूल समितिको संयोजक एवं पर्यटन अधिकृत गौतम प्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतिकरण गर्नुभएको थियो भने प्रस्तुति पश्चात समितिका सदस्यहरुले आ–आफ्नो तर्फबाट रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

 

 

बैठकले भक्तपुर महोत्वसको उद्‍घाटन समारोह भक्तपुर दरबार क्षेत्रमा २०७६ चैत्र ४ गते नेपाल मजदु्र किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यतामा गर्ने निर्णय गर्‍यो ।

 

Leave A Reply

Your email address will not be published.