Explore news and happenings at Bhaktapur

‘दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्दैनन्’ —सुनिल प्रजापति

भक्तपुर । २०७६ माघ २ गते, बिहीबार

0

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ मूल नाराका साथ २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुन गइरहेको यो कार्यक्रमले हामी भक्तपुरबासीलगायत सम्पूर्ण देशबासीलाई भूकम्पबाट सुरक्षित हुने विषयमा थप सचेत बनाउने अपेक्षा गरेका छौं ।
वि.स. १९९० साल माघ २गते गएको विनाशकारी भूकम्पको सम्झनास्वरुप हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउँदै आएको हो । भूकम्प प्राकृतिक विपति हो । यसलाई कसैले रोक्न सक्दैन । समय समयमा भूकम्प आइरहन्छ तर त्यसबाट जोगिन पूर्वतयारी आवश्यक छ । वास्तवमा भूकम्पले भन्दा हामीले बनाएका कमजोर संरचनाले हाम्रो धनजनको क्षति हुने हो ।हाम्रा हरेक संरचना बलियो, भरपर्दो र गुणस्तरीय हुनु आवश्यक छ । त्यसको लागि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारहरु जिम्मेवार हुनुपर्छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई जनचेतना फैलाउने एक महत्वपूर्ण अभियानको रुपमा लिइनु पर्छ ।
भक्तपुर कला र संस्कृतिले भरिएको प्राचीन नगर हो । देशको सानो नगरपालिकामध्ये एक भक्तपुर नगरमा मूर्त र अमूर्त गरी थुप्रै अनुपम सम्पदाहरू छन् । दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र भक्तपुरका विशेष आकर्षणका सम्पदा केन्द्रहरू हुन् भने पुरानो बस्ती सिंगो नै सम्पदा बस्ती हो । लिच्छवीकाल र मल्लकालमा निर्मित कयांैसम्पदाहरू अहिले पनि जीवन्त छन् । संरक्षणको अभावमा कयौं सम्पदाहरु लोप भइसके भने कयौं लोपोन्मुख स्थितिमा छन् । भक्तपुर नगरपालिकाले सम्पदा क्षेत्रहरूको अध्ययन र अनुसन्धान गर्दै सम्पदाहरूलाई पुनःजीवन दिने कोसिस गरिरहेको छ ।
ङातापोल (५ तले मन्दिर), भैरवनाथको मन्दिर, ५५ झ्याल दरबार, सुनढोकालगायत काष्ठकला, प्रष्टरकला र धातुकलाका उत्कृष्ट नमुनाहरू छन् । भूकम्पबाट क्षतिग्रस्त भैरवनाथको मन्दिर हालै जीर्णोद्धार सम्पन्न गरिसकेका छौं भने ङातापोल (५ तले मन्दिर) जीर्णोद्धार गर्दैछौं । बिग्रे–भत्केका सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गर्दै भक्तपुर नगरपालिका ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउन क्रियाशील छ ।
२०७२ सालको भूकम्पले अति प्रभावित जिल्लाहरूमध्ये भक्तपुर पनि एक हो । भक्तपर जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा मात्र आंशिक र पूर्ण गरी करिब ८ हजार घरमा क्षति पुगेको र २५२ जना नागरिकको ज्यान गएको थियो । क्षतिग्रस्त निजी घरहरुमध्ये पहिलो किस्ता लिने लाभग्राहीहरूको संख्या ५६३७, दोस्रो किस्ता लिने लाभग्राहीहरुको संख्या १८७४ र तेस्रो किस्ता लिने लाभग्राहीहरू १५७२ मात्रै छन् । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि धेरै घरहरु निर्माण गर्न बाँकी छन् । जग्गामा पीडितहरुको पूर्ण स्वामित्व कायम नहुनु,मोहियानी हक, गुठी जग्गा वा दर्ताविनाको जग्गामा घर बनाएर बस्नु, एउटै घरमा बहुस्वामित्व कायम हुनु, सरकारले किस्ताबन्दीमा अनुदान वितरण गर्नु र पहिलो किस्तावापत माटो पन्छाउन पनि नपुग्ने रु. ५० हजार मात्र दिनु पीडितहरुले घर बनाउन नसक्नुका प्रमुख कारणहरु हुन् ।
पुनः निर्माणसंगै निजी घर निर्माणमा पनि मौलिकतालाई नगरपालिकाले जोड दि“दै आएको छ । मौलिकता नै हाम्रो पहिचान हो । पुरानो नगरभित्र मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई घरको मोहडामा लाग्ने काठ, इटा र झिंगटीको लागि लाग्ने खर्चमध्ये ३५ प्रतिशत रकम नगरपालिकाले अनुदान दिई उत्साहित गर्दै आएका छौं । हजारौं घरहरु र सम्पदाहरु निर्माण गर्नु हाम्रो लागि ठूलो चुनौति हो । यद्यपिनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले कल्पना गर्नुभएको १०० वर्षपछिको भक्तपुर पुस्तकअनुसारआधार निर्माण गर्ने यो एक महत्वपूर्ण अवसरको रुपमा पनि हामीले लिएका छौं ।
भूकम्पबाट भक्तपुर नगरभित्र रहेका ११५ भन्दा बढी सम्पदाहरुमा क्षति भएको थियो । नगरपालिकाले आफ्नो स्रोत र साधनको अधिकत्तम परिचालन गरी २०७६ मंसिर १ गतेसम्म ९१ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ भने डेढ दर्जन सम्पदाहरू निर्माणाधीन छन् । हालसम्म सम्पदा पुनःनिर्माणमा नगरपालिकाले २५ करोड ४९ लाख ५२ हजार रुपैया“ खर्च गरिसकेको छ । सम्पदा पुनःनिर्माणमा कुनै विदेशीको सहयोग छैन ।
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिड्ड कलेजमा नेपालमै पहिलो पटक भूकम्प प्रविधि विषयमा स्नातकोत्तर तहको अध्यापन गराई ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राविधिकहरुमार्फत भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको विस्तृत इन्जिनियरिड्ड अध्ययन गराइरहेका छौं । उहा“हरुको अध्ययन प्रतिवेदनकै आधारमा भक्तपुर नगरपालिकाले सम्पदा पुनः निर्माण कार्यलाई तीब्रता दिइरहेको छ ।
हामी ठेकेदारलाई भन्दा स्थानीय जनतालाई विश्वास गर्छौं । स्थानीय जनताबाट बनेका उपभोक्ता समितिहरूमार्फत नै भक्तपुरका सम्पदाहरू पुनःनिर्माण हुँदैछन् । उपभोक्तामार्फत काम हुँदा मौलिकताको संरक्षण हुने, सम्पदामाथिको अपनत्व कायम रहने, स्थानीय जनताले रोजगारी पाउने र निर्माण गुणस्तरीय हुने हाम्रो अनुभव छ ।
भक्तपुरमा रहेका केही महत्वपूर्ण सम्पदाहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक पुनःनिर्माण गर्न बाँकी छन् । ती भवनहरू मल्लकालीन समयमा एउटै दरबार थियो । राणाकालमा मात्रै टुक्राएर दुई अलग अलग भवन निर्माण भएको इतिहास छ । भक्तपुर नगरपालिकाले विगतका फोटाहरू, ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा मल्लकालीन शैलीमै निर्माण गर्नुपर्ने अडानपछि २०७५÷४÷८ मा भक्तपुर नगरपालिका, संस्कृति मन्त्रालय र पुरातत्व विभागको संयुक्त बैठकले मल्लकालीन शैलीमै नगरपालिकाले बनाउने निर्णय ग¥यो । तर बजेट व्यवस्था नहुनु र पुरातत्व विभागले आवश्यक प्रक्रिया अगाडि नबढाउँदा कार्य सुरु हुन सकेको छैन । भनपा वडा नं. ९ स्थित पुजारी मठ, पहिले नगरपालिका कार्यालय रहेको थन्थु दरबारलगायत बजेट र प्राविधिक कारण पुनःनिर्माणमा ढिलाइ भइरहेको यथार्थ यहाँ प्रस्ट पार्न चाहन्छौं ।
‘दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्दैनन्’ भन्ने जनताबीच व्यापक चर्चा छ । यसर्थ भूकम्प पीडितहरूलाई दिने अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुस्ट दिनुपर्ने, अनुदान वितरणको समय बढाउनुपर्ने र घरवारविहीन सुकुम्वासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।
विपद् व्यवस्थापनको लागि भक्तपुर नगरपालिकाले विपद व्यवस्थापन ऐन २०७४ पारित गरी नगर प्रमुखको अध्यक्षतामा विपद् व्यवस्थापन नगरसमिति गठन गरिसकेको छ । विपद व्यवस्थापन कोषको रुपमा रु. २० लाख नगरपालिकाले विनियोजन गरेको र अन्य क्षेत्रबाट प्राप्त रकम पनि त्यही कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी तीनवटा समूहलाई विपद व्यवस्थापन तालिम दिइसकेको छ । नगरभित्र १२२ जना तालिमप्राप्त विपद व्यवस्थापन उद्धारकर्ताहरू तयारी अवस्थामा छन् । त्यसबाहेक विभिन्न संस्थासित समन्वय गरी विपद् व्यवस्थापन र क्षति न्युनीकरणसम्बन्धी कार्यहरु पनि गर्दै आएका छौं । भूकम्पबाट क्षति न्युनीकरण गर्न नेपाल सरकार, नगरपालिका र भवन विभागको भवन निर्माण मापदण्डलाई कडाइका साथ लागु गर्दै आएका छौं ।

उपस्थित जनसमुदाय,
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना सार्वजनिक ग¥यो । त्यसलाई सहयोग पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न पर्यटन केन्द्रित गतिविधि गर्दैछ । भक्तपुर आउने र यही बास बस्ने पर्यटकहरूको लागि टोल–टोलमा रहेका पाटी–पौवाहरूमा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्नेजस्ता तयारी सुरु गरेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा भक्तपुरमा जम्मा २ लाख ५३ हजार ८६३ जनाले भक्तपुर भ्रमण गरेका थिए भने आ.व. २०७६÷७७ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा जम्मा १ लाख ३३ हजार ६३२ जना पर्यटकहरूले भक्तपुर भ्रमण गरेको रेकर्ड छ ।
भक्तपुर आउने पर्यटकहरूले कुनै किसिमको असहजता महसुस गर्न नपरुन् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पर्यटक सूचना केन्द्र निर्माण, तालिम प्राप्त स्थानीय पथप्रदर्शकहरूको व्यवस्था, महत्वपूर्ण सम्पदा क्षेत्रहरूमा गाडी निषेध, चिनियाँ र जापानी भाषाको कक्षा संचालन र मूल सडकमा ढुंगा छपाई तथा आवश्यक शौचालयको बन्दोबस्त पनि नगरपालिकाले गरेको छ ।
पर्यटकहरूको लागि सुरक्षा अति महत्वपूर्ण हुने हुँदा प्रमुख ठाउँहरूमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि सक्रिय बनाउने हाम्रो प्रयास हुँदै आएको छ । पर्यटकहरूको बसाइ लम्ब्याउने र मनोरञ्जन लिन सक्ने गरी सिद्धपोखरीमा नौका बिहार, सम्पदा क्षेत्रमा बत्ती व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएका छौं ।
भ्रमण वर्षकै अवसर पारेर भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने घोषणा गरिसकेको पनि यहाँ जानकारी गराउन चाहन्छौं । महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वाद्यवादन प्रतियोगिता गर्ने तयारी छ भने नेवारी परम्परागत जीवनशैली प्रदर्शनी, माटाका भाँडाको सीप प्रदर्शनीलगायत प्रदर्शन गरी महोत्सव भव्य बनाउने कोशिश भइरहेको छ ।
उक्त महोत्सव भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुखको अध्यक्षतामा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरी तयारी अगाडि बढाइसकेको छ भने सन् २०२० भरि नै महोत्सवमय बनाउने उद्देश्यले मासिक रुपमा विभिन्न गतिविधिहरू गर्ने व्यवस्था मिलाउँदैछौं ।
अन्तमा, २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन विभिन्न संस्थाबाट पाल्नु भएका सम्पूर्ण सहभागीहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

(२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहका सभापति एवं मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक तथा भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको मन्तव्य)

२०७६।१०।२

Leave A Reply

Your email address will not be published.