Explore news and happenings at Bhaktapur

जेन्यून स्कूलमा भनपाको पहलमा भइरहेको गतिविधिबारे अन्तरक्रिया कार्यक्रम

भक्तपुर, १७ पुस ।

0

भक्तपुर नगरपालिकाअन्तर्गत भइरहेको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा सार्वजनिक जग्गाको संरक्षणका गतिविधिहरू स्थानीयवासीलाई जानकारी गराउने उद्देश्यले बिहीबार जेन्यूइन सेकन्डरी स्कूलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर नेपालको सबभन्दा सानो नगरपालिकाहरूमध्येमा पर्ने परे पनि अत्यन्त महŒवपूर्ण नगर भएको बताउनुभयो ।
नेपाल ट्रस्टअन्तर्गतको सम्पत्ति सरकारी सम्पत्ति भएको हुनाले सल्लाघारीको १०८ रोपनी जग्गालाई संरक्षण गरी जनताको हितमा अधिकतम उपयोग गर्ने उद्देश्यले नगरपालिकाले पर्खाल लगाएको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले उक्त जग्गामा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकाले माग गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०४० सालमा सैनिक महाविद्यालयको नाउँमा रहेको १४० रोपनी जग्गाअन्तर्गत पर्ने च्वङा गणेश मन्दिर, रानी पोखरी, खेलमैदान र दूध चिस्यान केन्द्र नगरपालिकाको स्वामित्वमा ल्याउने नेपाली सेनासँग सहकार्य भइरहेको छ ।”
भक्तपुर क्यान्सर अस्पतालको भ्रष्टाचार र अनियमितता रोक्न भनपाले नगर प्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरी कार्य सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
भनपाभित्र सञ्चालन हुने गरी दर्ता भएका एनजीओ र आईएनजीओलाई भनपाले नवीकरणका साथै नयाँ दर्ता पनि नगरेको जानकारी दिँदै उहाँले एनजीओ र आईएनजीओले विनास्वार्थ लगानी नगर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो, “राष्ट्रिय कला सङ्ग्रहालय मल्लकालीन स्वरूपमा पुनः निर्माण गर्न भनपाले सहमति गरिसकेको छ । पुरानो नपा भवन (थन्थु दरबार) पनि नपाले नै बनाउने योजना अनुरूप कार्य अगाडि बढिरहेको छ ।”
ठेकेदारमार्फत निर्माण भएका संरचनाहरू गुणस्तरहीन रहेको तथ्य प्रस्तुत गर्दै उहाँले गुणस्तरीय निर्माण तथा जनतामा अपनत्व भावना जगाउन भनपाले उपभोक्ता समितिमार्फत जनश्रमदान र अमानतबाट विकास निर्माण कार्यलाई जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक योगेन्द्रमान बिजुक्छेँले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी एवम् देकोचावासीको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.