Explore news and happenings at Bhaktapur

नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न तयारी बैठक

२०७६ पुस ९ गते, बुधबार

0

नेपाल सरकारले कम्तीमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० अभियान सफल र प्रभावकारी कार्यान्वयनको लागि तथा सन् २०२० जनवरी १ मा हुने समुद्घाटन कार्यक्रमको तयारीस्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईले पर्यटन वर्ष नेपाल सरकारको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन विभिन्न संघ संगठनहरूसँग छलफल थालेको बताउनुहुँदै जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संघ संगठनबाट एक सय जनालाई सहभागी गराउन पनि आग्रह गर्नुभयो ।

पर्यटन क्षेत्रलाई एक ठाउँमा मात्र सीमित नराखी देशैभरि फैलाउन आवश्यक रहेको बताउनुहुँदै मन्त्री भट्टराईले नेपालको राजनीतिक र सामाजिक विकासक्रम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

उपत्यकाका सडक मर्मत, सरसफाईलगायतका कार्यमा उल्लेख्य प्रगति गर्न आवश्यक भएको बताउनुहुँदै नेपाल सरकारले नयाँ पुर्खाधार विकासमा जोड दिइ अन्तर्राष्ट्रिय स्तरको विमानस्थलहरू निर्माणको क्रममा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर नपाले सम्पन्न गरेका र चालु योजनाहरू प्रस्तुत गर्नुभयो । उहाँले २०२० जनवरी १ मा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने तयारी रहेको बताउनुभयो ।

भूकम्पले क्षति पु¥याएका ११६ वटा सम्पदामध्ये ९३ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको तथ्यांक पेश गर्नुहुँदै प्रमुख प्रजापतिले लोपोन्मुख सम्पदाहरूको पुनःनिर्माण र संरक्षण कार्यलाई प्राथमिकता, सम्पदा क्षेत्रहरूमा नियमित सरसफाई, मर्मत सम्भार र झल्लरहरू राख्ने व्यवस्था र निजी आवासीय घरहरूलाई परम्परागत शैलीमा निर्माण गर्न अनुदानको व्यवस्था भक्तपुर नपाले गरिरहेको बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० विना तयारी हतारमा घोषणा गरेको अभास भएको बताउनुहुँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चैत ४–८ गतेसम्म भक्तपुर महोत्सव २०७६ को घोषणा गरी आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो । रात्रीकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदा स्थलमा सोलार र बिजुली बत्रीको व्यवस्था, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटकहरूको निमित स्तरीय शौचालय निर्माण गरिसकेको उहाँले बताउनुभयो ।

स्थानीय पथ प्रदर्शकहरूलाई नगरपालिकाले तालिम प्रदान गरी अझ व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न स्थानीय पथप्रदर्शक परिचालन समितिमार्फत व्यवस्थापन गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले हकर्ष नियन्त्रणको व्यवस्था गरी नगरको सरसफाई र हरियाली प्रवद्र्धनलाई विशेष महत्व दिइरहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० को उद्घाटन सत्र सभ्य र भव्य हुनेमा विश्वास प्रकट गर्नुहुँदै भ्रमण वर्षको महत्वबारे विदेशमा व्यापक प्रचारप्रसार आवश्यक भएको बताउनुभयो । काठमाडौंलाई हेर्न लायक र बस्न लायक बनाउन विज्ञ टोली गठन गरी आवश्यक छलफललाई अगाडि बढाएको बताउनुहुँदै मेयर शाक्यले पर्यटकहरूलाई फरक किसिमको सेवा सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले २०२० लाई व्यवस्थित रुपमा वर्षैभरि सञ्चालन गर्न योजनाहरू तयार गरिरहेको बताउनुहुँदै आन्तरिक पर्यटक अभिवृद्धि गर्न ऐतिहासिक पोखरीहरूको पुनःनिर्माण गरिरहेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले नेपाल भ्रमण वर्षको तयारीमा आफ्नो नगरपालिकाले तयार गरेका योजना तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित स्थानीय तहहरूले भ्रमण बर्ष सफल बनाउन महोत्सवको तयारी, सरसफाई, सार्वजनिक शौचालय निर्माण, महत्वपूर्ण स्थानहरूमा सीसी क्यामेरा जडान, पर्यटकीय पार्कहरू निर्माणलगायतका कार्यहरू गरिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.