Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा नवआगन्तुक प्रजिअ हुमकला पाण्डेलाई स्वागत

२०७६ मंसिर २७ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेको स्वागत तथा परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ पाण्डेलाई ढाकाको सल र पुष्प गुच्छाले स्वागत गर्नुहुँदै उहाँको कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।

जनप्रतिनिधि बहालीपश्चातको साढे दुई वर्षको अवधिमा दुई जना प्रजिअहरुसँग काम गर्ने अवसर प्राप्त भएको बताउनुहुँदै प्रमुख प्रजापतिले प्रशासक र जनप्रतिनिधिबीचको समन्वयले समाजलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुभयो ।

काम गर्ने सिलसिलामा आइपर्ने बाधा अड्चन र अप्ठ्यारा परिस्थितिमा प्रशासनको सहजीकरणको भूमिका आवश्यक भएको बताउनुहुँदै भक्तपुर जिल्लाको शान्ति–सुरक्षा कायम गर्न प्रशासनको सकारात्मक सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

कुनै पनि ठाउँको शान्ति–सुरक्षा त्यस ठाउँ विकासको पहिलो सूचक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रहेर प्रशासनको सहयोगमा आफ्ना कार्यहरू अगाडि बढाइरहेको र विकास निर्माणमा उपभोक्ता समितिलाई नै जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक र पर्यटकीय नगरको शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले सहयोगी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गर्नुहुँदै सामाजिक समस्याहरूबारे सचेतना कार्यक्रममा सहजीकरण भूमिका आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै भक्तपुर जिल्लाका नवनियुक्त प्रजिअ हुमकला पान्डेले ऐतिहासिक एवम् सांस्कृतिक नगरमा प्रजिअको रुपमा काम गर्न पाएकोमा उत्साहित भएको बताउनुहुँदै भक्तपुर नपाले गरेको न्यानो स्वागतको लागि आभार प्रकट गर्नुभयो । उहाँले विभिन्न संघ–संस्थामा आफ्नो कार्य अनुभव पनि सुनाउनुभयो ।

स्थानीय सरकार र प्रशासन जति नजिक भएर काम गर्छ, जनताको समस्या समाधान गर्न र विकास निर्माणको गति त्यहीअनुरुप अगाडि बढ्ने बताउनुहुँदै प्रजिअ पाण्डेले भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुर नपासँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला र जनप्रतिनिधिका तर्फबाट वडा नं। ७ का वडाध्यक्ष उकेश कवांले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभयो ।

नगर प्रमुख प्रजापतिले प्रजिअ पाण्डेलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.