Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा प्रधानाध्यापकहरुको भेला

भक्तपुर । २०७६ मंसिर १८ गते, बुधबार

0

भक्तपुर नगरपालिकाले बुधबार भक्तपुर नगरभित्रका सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुको भेला कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान २०७२ बमोजिम भनपाले शिक्षा ऐन बनाइ लागू गरेको जानकारी दिनुहुँदै भक्तपुरका सामुदायिक विद्यालयहरुका शिक्षकहरुको लगनशीलता अनुकरणीय रहेको बताउनुभयो ।

उहाँले अवकाश प्राप्त शिक्षकहरुको अनुभवलाई उपयोग गर्नुपर्ने उल्लेख गर्नुहुँदै विद्यालयको कमाण्डर प्रधानाध्यापक हुने भएकोले विद्यालय राम्रो बनाउने जिम्मा पनि प्रअमै निहित हुने बताउनुभयो ।

प्रमुख प्रजापतिले विद्यालयले शिक्षकहरुलाई क्षमता अनुसारको जिम्मा लगाई कार्य गराउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै विद्यालय र शिक्षक/शिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भनपा–५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले आधारभूत परीक्षा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि कक्षा ८ को प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले केन्द्रबा निर्देशित नीतिहरु स्थानीय तहबाट आवश्यकतानुसार परिवर्तन गर्नुपर्नेमा जोड दिनुहुँदै एउटा विद्यालयको असल अभ्यास अर्को विद्यालयसँग साटासाट गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भनपा शिक्षा शाखाका उपसचिव हरिप्रसाद निरौलाले शिक्षकहरुले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुहुँदै समाजलाई सुसंस्कृत र विकासित तुल्याउन स्थानीय पाठ्यक्रमलाई विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सार्वजनिक परीक्षा समितिका गंगाधर हाडा, संयुक्त परीक्षा समितिका अम्बिका न्याईच्याई र नपा शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.