Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ —प्रमुख प्रजापति

भक्तपुर । २०७६ मंसिर १८ गते, बुधबार

0

नेपाली सेनाका प्रधान सेनापति, महारथी पूर्णचन्द्र थापाज्यू, रथीज्यू र उपरथी तथा सम्पूर्ण उपस्थित अधिकृतज्यूहरु,
भक्तपुरबासी जनता र नेपाली सेनाबीच सुमधुर सम्बन्ध स्थापित गर्दै जाने उद्देश्यले नगरपालिकाको तर्फबाट मायाको चिनोस्वरुप प्रसिद्ध मयुर झ्याल उपहार प्रदान गर्न पाउँदा हामी ज्यादै खुशी छौं । यो उपहार २०७६ कार्तिक १७ गते नगरपालिकाद्वारा सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममै प्रदान गर्ने योजना थियो ।

भक्तपुर कला र संस्कृतिले भरिपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो । १२ औंदेखि १५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानीसमेत रहेको भक्तपुरमा वास्तुकला, प्रस्तरकला र धातुकलाका उत्कृष्ट नमुनाहरु प्रशस्त पाइन्छ । समयक्रमसँगै कयौं मूर्त र अमूर्त कलाहरु लोप भएर गए भने कयौं लोपोन्मुख अवस्थामा छन् । हाम्रो कला र संस्कृति हाम्रो साझा सम्पत्ति हुन् । भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ ।

२०७२ सालको भूकम्पले भक्तपुरमा ठूलो धनजनको क्षति भयो । त्यतिबेला नेपाली सेनाले गरेको उद्धार कार्य अत्यन्त प्रशंसनीय छ । संकटको बेला सहयोग गर्ने नेपाली सेनालाई भक्तपुरका जनताले बिर्सने छैनन् ।

विपद्को बेला कसरी नागरिकहरुलाई जोगाउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गयो । नेपाली सेनासँगको समन्वयमा हामीले ३ वटा समूहमा १२२ जना युवाहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको तालिम सम्पन्न गरिसकेका छौं । प्रत्येक महिनाको १ र १५ गते हुने नियमित सफाइ कार्यक्रममा पनि समय समयमा नेपाली सेनाका जवानहरुको सहभागिताले सफाइमा नमुना नगर बनाउने हाम्रो योजनामा थप मनोबल बढाएको छ ।

भूकम्पले करिब ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरु बिग्रेकोमा निजी घरहरु र सम्पदाहरुको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । भक्तपुर नगरपालिकाले हालसम्म ९१ वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको छ भने डेढ दर्जनभन्दा बढी सम्पदा निर्माणाधीन अवस्थामा छन् ।

भक्तपुरको रानीपोखरी निर्माणाधीन सम्पदाहरु मध्ये एक हो । नेपाल संवत् ७५० (बि.सं. १६८७) मा राजा जगज्योति मल्लको पालामा बनेको उक्त पोखरी काठमाडौंको रानी पोखरीभन्दा ४० वर्ष पुरानो इतिहास छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पोखरीले सांस्कृतिक र धार्मिक महŒव पनि बोकेको छ । वरिपरि कुल देवता र देवाली पूजा गर्ने महŒवपूर्ण थलो पनि हो – रानीपोखरी ।

आजभन्दा ठीक ८ महिनाअघि २०७६ मंसिर १८ गते हामीले प्रधान श्री सेनापति पूर्णचन्द्र थापाज्युसँग भेट्ने अवसर पायौं । त्यतिबेला हामीले उक्त ऐतिहासिक पोखरी जीर्णोद्धारबारे छलफल ग¥यौं । उहाँले सकारात्मक सन्देश दिनुभयो । २०७६ जेठ १ गते लिखित रुपमै उक्त ऐतिहासिक रानी पोखरी जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्ने पत्र प्राप्त भयो । यसलाई जनता र सेनाबीचको सम्बन्धको एउटा महŒवपूर्ण पाइलाको रुपमा लियौं ।

भक्तपुर नगरपालिकाले रानी पोखरीको नापजाँच, नक्सा तयार गरी ल.इ. पास गरी जीर्णोद्धार कार्य थालनी ग¥यो । हाल रानी पोखरीले मौलिक स्वरुप ग्रहण गर्दैछ । आजभन्दा झण्डै चार सय वर्षअघिको स्वरुपमा निर्माण गर्न भक्तपुर नगरपालिका लाग्दैछ । त्यहाँकोबारे अध्ययन अनुसन्धानको लागि संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी कार्य भइरहेको छ । उत्खनन्को क्रममा प्राप्त हुने पुरातात्विक महत्वका वस्तुहरुको रेकर्ड राख्दै छिटै नै त्यसबारे प्रतिवेदन बुझाउने तयारी भइरहेको छ ।

सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा सर्वसाधारण जनताले खेल्न पाएका छन् । मैदानको वरिपरि तारजाली राखी मैदान निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । च्वङा गणेश मन्दिर परिसर ऐतिहािसक, सांस्कृतिक र धार्मिक महत्वको भएकोले उक्त स्थानमा स्थानीय जनताले सेनासँगको समन्वयमा भौतिक संरचना निर्माण र सरसफाइ तथा संरक्षण गर्दै आएका छन् । पुनःनिर्माण कार्यको सिलसिलामा सेनाबाट कहिलेकाहीं अवरोध सिर्जना गरेको गुनासो आउने गरेको छ । जनताको आस्थाको केन्द्रको रुपमा रहेको त्यस्ता ठाउँहरुमा कहींकतैबाट बाधा अवरोध नपु¥याई दिन हाम्रो अनुरोध छ ।

प्रधान सेनापतिज्यूलगायन रथी उपरथीज्यूहरु,
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा पनि उत्कृष्टता हासल गर्दै आएको छ । ६ वटा शिशु स्याहार केन्द्र, २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरेर देशभरका जनताको सेवा गर्दै आएको छ । घरदैलो नर्सिङ सेवा प्रदान गर्ने देशको एक मात्र नगरपालिका भक्तपुरले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
देशको सार्वभौमिकता रक्षाको मामिलामा हामी अत्यन्त सचेत छौं । संसद, प्रदेश सभा, स्थानीय तह र सेना सबैको उद्देश्य देश र जनताको सेवा हो । हामी जनप्रतिनिधिहरुमा जनताको सेवाबाहेक अर्को कुनै स्वार्थ छैन ।

भक्तपुरको प्रख्यात मयुर झ्यालले जनता र सेनाबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिइरहने हाम्रो विश्वास छ । यो अवसरमा प्रधानसेनापति र रथी तथा उपरथीहरुमा खुशी व्यक्त गर्दै यसको अवसर जुटाइ दिने मेजर जर्नेल अनन्त कार्की र कर्णेल शिवप्रसाद पौडेललगायतको पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

Leave A Reply

Your email address will not be published.