Explore news and happenings at Bhaktapur

अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न

२०७६ कार्तिक ७ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाको आयोजना र २८ औं विश्व अपा·ता दिवसको उपलक्ष्यमा शनिबार अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता ख्वप कलेज प्रांगणमा सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई मेडल, सेरामिक कप र प्रमाणपत्र वितरण गरियो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले अपांगतासम्बन्धी विशेष अधिकार प्रयोग गरी अपांगतमैत्री खेल प्रतियोगिताको आयोजना गरेको बताउनुहुँदै नगरपालिकाले सोही समूहका व्यक्तिहरुको लागि विशेष किसिमको विद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गरिसकेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले नपाभित्र अवस्थित सरकारी तथा सार्वजनिक संस्था, स्वास्थ्य केन्द्र तथा पार्कहरुलाई अपांगमैत्री बनाउँदै लगेको बताउनुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवा अपांगता भएका व्यक्तिहरुको सेवा निम्ति सुरु भएको हो भन्नुभयो ।

अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसारको परिचय पत्र वितरणको थालनी पनि नगरपालिकाले गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले शारीरिक र मानसिक विकासको निम्ति खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति, भक्तपुर नपा अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका संयोजक एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अपांगता भएका व्यक्तिहरुमा पनि आ–आफ्ना प्रतिभा हुन्छन् र त्यसलाई प्रदर्शन गर्ने दबु नगरपालिकाले सिर्जना गरेको बताउनुहुँदै कार्यक्रम सफल रुपमा सम्पन्न गर्ने सम्पूर्णलाई धन्यवादज्ञापन गर्नुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् भक्तपुर नपा अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका सदस्य श्यामकृष्ण खत्रीले अपांगता भएका व्यक्तिलाई लक्षित गरी आयोजना भएको खेलमा १९५ जना खेलाडीहरुको सहभागिता रहेको जानकारी दिनुहुँदै पुरस्कृत हुने सम्पूर्णमा पनि बधाईज्ञापन गर्नुभयो ।

अर्का सदस्य ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले नगरपालिकाद्वारा सञ्चालित विशेष किसिमका खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा उत्साह थपेको बताउनुहुँदै उनीहरुको उच्च शिक्षाको लागि परिवारले पनि हौसला दिनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नपा अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका सदस्य हिमालयश्वरलाल मुलले यस किसिमको प्रतियोगिताले अपांगता भएका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा टेवा मिल्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।

विश्व अपांगता दिवसको अवसरमा शनिबार बिहान भक्तपुर नगरपालिकाले प्रतियोगिता स्थलमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि सुनिल प्रजापतिले मेडल, सेरामिक कप र प्रमाणपत्र वितरण गर्नुभयो भने खेल सफल सञ्चालनको लागि सहयोगी भूमिका खेल्नु रेफ्री तथा प्रशिक्षकहरुलाई पनि मायाको चिनो वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.