Explore news and happenings at Bhaktapur

जनस्वास्थ्य केन्द्र, च्याम्हासिंहमा सामान्य शल्यक्रिया शुरु

२०७६ मंसीर ६ गते शुक्रबार ।

0

भनपा प्रमुख सुनिल प्रजापतिले जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंहमा सामान्य शल्यक्रिया सेवाको शुक्रबार उद्‍घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रहरुमा सस्तोमा गुणस्तरीय सेवा दिन इमर्जेन्सी सेवालाई स्तरोन्नती गरिसकेकोमा आजबाट सामान्य शल्यक्रिया सेवा शुरु गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले घरदैलो नर्सिङ सेवाका साथै दीर्घ रोग लागेका बिरामीहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको जानकारी दिनुहुँदै उहाँले नगरमा सर्ने भन्दा नसर्ने रोगका विरामी बढेको देखिएको हुँदा सबै वडाहरुमा निःशुल्क व्यायामशाला स्थापना गरेको बताउनुभयो ।

प्रमुख प्रजापतिले तिलगंगा आँखा अस्पतालमा भन्दा सस्तो दरमा आँखाको अपरेसन शुरु गरिसकेको बताउनुहुँदै नगरपालिकाको जनताको सेवा बाहेक अन्य केही स्वार्थ नभएको तथा आधुनिक साधन सम्पन्न ख्वप अस्पताल सञ्चालन गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जनस्वास्थ्य केन्द्रले कम आयश्रोत भएका विरामीलाई सस्तोमा गुणस्तरीय नयाँ सेवा शुरु गर्दै आएको र जनस्वास्थ्य केन्द्रलाई नै ख्वप अस्पतालमा स्तरोन्नती गरी टाढा–टाढाका विरामीलाई फाइदा पुग्ने बताउनुभयो ।

उहाँले आँखाको शल्यक्रिया शुरु भैसकेको जनकारी गराउनुहुँदै सेवा विस्तारको लागि जनताको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा जनरल सर्जन डा. पुण्यराम खबुैजाले सामान्य शल्यक्रिया सम्बन्धी जानकारी दिनुहुँदै हाल एनेस्थेसिया विना गरिने अपरेशन शुरु भएको हुँदा शरिरमा रगत नबग्ने गरी हुने शरिरमा आएको कुनै गाँठागुठीको शल्यक्रिया हुने बताउनुभयो । जनस्वास्थ्य सेवा केन्द्रले कुनै अपरेशन गर्नु परे डाक्टरको परामर्शमा कम शुल्कमा गर्ने बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक प्रमुख रत्नसुन्दर लासीवाले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.