Explore news and happenings at Bhaktapur

वडा नं. २ मा तीन दिने कौशी खेती तालिम शुरु

२०७६ कार्तिक २८ गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा वडा नं. २ द्वारा आयोजित तीन दिने कौशी खेती तालिमको आज उद्‍घाटन भयो ।कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले कम जग्गामा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्ने हिसाबले नगरपालिकाले कौशी खेती तालिमलाई प्राथमिकता दिएको बताउनुहुँदै नगरबासीहरुले नक्सा बमोजिम घर बनाउनुपर्ने बताउनुभयो ।

उहाँले मौलिक शैलीमा घर निर्माण गर्नेलाई नगरपालिकाले अनुदानको व्यवस्था गरेको जानकारी दिनुहुँदै तरकारी, फलफूल दिनदिनै महँगिदै गएको अवस्थामा आफ्नै कौशीमा तरकारी उत्पादन गर्न सके आर्थिक र स्वास्थ्यमा सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले कृषि प्राविधिकको सहयोगमा कृषि कर्म गरे उत्पादनमा बृद्धि गर्न सकिने बताउनुहुँदै बालीमा किटनाशक औषधीको प्रयोगमा पनि ध्यान जान आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवं कृषि समितिका संयोजक राजकृष्ण गोराले अन्य देशबाट आयात हुने विषादीयुक्त तरकारी र फलफूलहरुको सेवनले गर्दा शरीरमा नकारात्मक असर पुगेको हुँदा नगरपालिकाले प्रत्येक परिवारलाई पुग्दो तरकारी उत्पादन गर्न सहयोग मिल्ने ढंगले कौशी खेती तालिममा जोड दिइरहेको बताउनुभयो ।

उहाँले बजार अनुगमनका क्रममा मिठाइ पसलहरुमा अत्यधिक अखाद्य रंग मिसावट गरेको पाइएको हुँदा उपभोक्ताहरु सचेत हुन आवश्यक भएको बताउनुभयो ।

वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरपालिकाले गरेको विभिन्न गतिविधि अन्तर्गत सबै वडामा कौशी खेती तालिम सञ्चालन पनि गरिरहेको बताउनुहुँदै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाबारे जनतासँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक रमेश वैद्यले युवा कृषकहरुलाई कृषि क्षेत्रमा अगाडि बढाउन कृषिसँग सम्बन्धित तालिम सञ्चालनमा सक्रिय रहेको जानकारी गराउनुहुँदै कृषि पेशाालाई सम्मानजनक ढंगले हेर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडाका कृषि समितिका संयोजक एवं सभापति रत्नकाजी नायभारी र कृषक राजाराम बासुकलाले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.