Explore news and happenings at Bhaktapur

नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न

भक्तपुर, २० कार्तिक ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शैक्षिक वर्ष २०७६÷७७ मा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातक तहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मानिस सामाजिकका साथै राजनीतिक प्राणी पनि भएकोले चाहेर या नचाहेर मानिसले राजनीति गरिरहेको हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र राजनीति हो ।

राजनीतिक दलहरू दर्शन, सिद्धान्त र विचारको आधारमा स्थापना र सञ्चालन हुन्छ । राजनीतिक पार्टी विचारको विद्यालय हो, जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय हितको बारेमा आधिकारिक धारणा दिन्छ ।”
पुँजीवादी र समाजवादी विचारधाराबारे स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले समाजवादी विचारधाराले सबैलाई समान नजरले हेर्ने र कमजोर र पिछडिएका जनतालाई अगाडि ल्याउने विभिन्न अवसरहरू उपलब्ध गराउने बताउनुभयो ।

उहाँले जोड दिनुभयो, “विद्यार्थीहरू राजनीतिबाट भागेर होइन राजनीतिमा सहभागी भएर देश विकासमा योगदान गर्नुपर्छ ।”

कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भनपा प्रमुख सुनिल प्रजापतिले कलेज स्थापनाका उद्देश्यहरूबारे प्रस्ट पार्दै अध्ययनरत विद्यार्थीहरूले श्रमलाई माया र सम्मान गर्नुपर्छ भन्नुभयो ।
भनपाबाट सञ्चालित कलेजहरूको शुल्क तुलनात्मकरूपमा कम भएको र कलेजले जेहेनदार गरिब विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आर्थिक अभावको कारण विद्यार्थीहरूले पढाइ छोड्न नपरोस् भनी नगरपालिकाले नगरका विद्यार्थीहरूलाई शैक्षिक ऋणको व्यवस्था गरेको छ ।”

उहाँले जोड दिनुभयो, “परीक्षा उत्तीर्ण गर्ने उद्देश्यले मात्र विद्यार्थीहरूले अध्ययन गर्नु हुन्न । आफूले हासिल गरेको ज्ञान र शिक्षाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने लक्ष्य लिनुपर्छ । जहाँ गए पनि कलेजको प्रतिष्ठा बढाउने काम गर्नुपर्छ ।”
“भनपाले नाफा कमाउन कलेजहरू सञ्चालन गरेको नभई शिक्षामार्फत देशकै सेवा गर्ने उद्देश्य कलेजको हो”, उहाँले भन्नुभयो ।
ठेकेदार र इन्जिनियरहरूको मिलेमतोमा गुणस्तरहीन विकास निर्माण भइरहेकोमा विद्यार्थीहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले नेकपाको सरकारले कम्युनिस्ट चरित्रविपरीत कार्य गरिरहेको बताउनुभयो ।

सरकारको पक्षपातपूर्ण नीतिको कारण ख्वप विश्वविद्यालयको स्वीकृति नपाएको तर ख्वप कलेजहरूभन्दा कम पूर्वाधार भएका कलेजहरूले विश्वविद्यालयको स्वीकृति पाएको विचार उहाँले व्यक्त गर्नुभयो ।

भनपाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ एउटै उद्देश्यले सञ्चालित कलेज भएको चर्चा गर्दै भनपाले शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिई कार्य गरिरहेको बताउनुभयो ।

 

 

 

 

 

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. राजेन्द्र श्रेष्ठले इन्जिनियरिङको पाठ्यक्रम विशेषज्ञहरूको सहकार्यमा तयार भएको चर्चा गर्दै नेपालमा इन्जिनियरिङ अध्ययन पूरा गरेका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा गएर सजिलै अध्ययन गर्नसक्ने बताउनुभयो ।

पूर्वाधार विकास केन्द्रका निर्देशक प्रा.डा. जगतकुमार श्रेष्ठले भनपाद्वारा सञ्चालित इन्जिनियरिङ कलेजहरू देशकै उत्कृष्ट कलेजको रूपमा सफलता पाएको र ती कलेजहरू देशकै लागि अनुकरणीय भएको बताउनुभयो ।

प्रा.डा. जगन्नाथ श्रेष्ठले विदेशी विश्वविद्यालयहरूमात्र राम्रो हुने धारणा गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूले राम्ररी अध्ययन गर्न सके ख्वप इन्जिनियरिङ कलेजबाट पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ ।”

भनपाका कार्यकारी अधिकृत दीपक कोइरालाले आफूले अध्ययन गर्ने कलेजको विषयमा विश्लेषण गर्नु आवश्यक रहको र कलेजको जीवनपश्चात् असल नागरिक बनी ज्ञान र सीपको उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.