Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा ५ महिने कृषि प्राविधि तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

२०७६ कार्तिक १० गते, आइतबार

0

भक्तपुर नगरपालिकाद्वारा आयोजित पाँच महिने कृषि प्राविधिक तालिमका प्रशिक्षार्थीहरुलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभयो ।

नगरपालिकाले सञ्चालन गरेको पाँच महिने कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा गठित कृषि समितिमार्फत् मौसमअनुसारको उन्नत जातको धान, गहुँ, र आलुको बीउ वितरण गरिरहेको अवगत गराउनुभयो ।

कृषि उत्पादकत्व बढाउनको लागि भक्तपुर नगरपालिकाले माटो परीक्षण तालिम, विषादी प्रयोगसम्बन्धी तालिम, कौसी खेती तालिमलगायतका विभिन्न तालिम सञ्चालनमा जोड दिइरहेको बताउनुहुँदै परम्परागत शैलीलाई आधुनिक शैलीको खेतीमा रुपान्तरण गर्दै नयाँ प्रविधिहरुको विकासलाई ध्यान दिनु आजको आवश्यकता भएको बताउनुभयो ।

चुनावबाट समाजवाद नआउने कुरा अहिलेको नेकपा सरकारले प्रमाणित गर्दैछ भन्नुहुँदै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीले चुनावमा भाग लिएर त्यसको क्रान्तिकारी उपयोग गर्ने कुरा प्रस्ट पार्नुभयो ।

नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनका सन्देशहरुबारे प्रस्ट पार्नुहुँदै प्रमुख प्रजापतिले महाधिवेशनले टोल–टोलमा पुस्तकालय तथा वाचनालय स्थापना र नयाँ पुस्ताको लागि राजनैतिक कक्षा सञ्चालनमा जोड दिने विचार प्रस्तुत गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष तथा कृषि समितिका संयोजक राजकृष्ण गोराले तालिम सञ्चालनका उद्देश्यहरुबारे प्रस्ट पार्नुहुँदै कृषि क्षेत्रमा नयाँ प्राविधिको प्रयोगले उत्पादनमा वृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा नेक्राकिसङ्घ भक्तपुर गोविन्द दुवालले पैसाको निम्ति नैतिकता बेच्नेहरु समाजका घृणित पात्र हुन् भन्नुहुँदै देशको कृषि उत्पादन बढाउन तालिम प्राप्त प्रशिक्षार्थीहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पाँच महिने कृषि प्राविधिक तालिमका प्रशिक्षक रमिन्द्र सुवालले तालिमबाट सिकेको सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्न उत्प्रेरित गर्नुभयो भने प्रशिक्षार्थी चन्द्रशेखर रन्जितकारले कृषि प्राविधिक तालिम निकै उपयोगी भएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.