Explore news and happenings at Bhaktapur

युनेस्कोका प्रतिनिधि मण्डल भक्तपुर नपामा

२०७६ असोज ३० गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युनेस्कोबाट पाल्नुभएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंह लगायत पुरातत्व विभागबाट आउनुभएका कर्मचारीहरुलाई भक्तपुर नगरपालिकामा बिहीबार स्वागत गर्नुभयो ।


प्रमुख प्रजापतिले प्रतिनिधि मण्डललाई सम्पदा संरक्षण र सरसफाइमा उत्कृष्टता हासिल गर्दै आएको जानकारी गराउनुहँुदै भक्तपुर नगरलाई साँस्कृतिक सम्पदाहरु संरक्षित नगरको रुपमा विकास गर्न कोशिस र घरधनीहरुलाई मौलिक शैलीमा घर निर्माण गर्न उत्साहित गर्दै आएका बताउनुभयो ।
उहाँले मौलिक शैलीमा घर निर्माण गर्नेहरुलाई मोहडामा लाग्ने इँटा, काठ र झिंगटीको खर्च मध्ये ३५ प्रतिशत अनुदान दिंदै आएको, विश्व सम्पदा सूचीमा रहेका दरवार क्षेत्र र टौमढी क्षेत्रमा गाडी निषेध गरिएको तथा मूल सडकमा ढुंगा छाप्ने काम भैरहेको पनि बताउनुभयो ।
नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्नुहुँदै उहाँले भूकम्प पछि क्षतिग्रष्त सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्वार गरिरहेको र हालसम्म ९० वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न भैसकेको, १५ वटा भन्दा बढी निर्माणाधीन अवस्थामा रहेको तथा हाल सिंहध्वाका दरवार पुनःनिर्माणको चरणमा रहेको बताउनुभयो । सिंहध्वाका दरवार पुनःनिर्माणको लागि भएको कार्यशाला गोष्ठीबाट भक्तपुर नगरपालिका र पुरातत्व विभागले संयुक्त रुपमा गर्ने निर्णय गरेको स्मरण गर्नुभयो ।
उहाँले भक्तपुरको प्रसिद्ध मन्दिर भैरबनाथको मन्दिर भर्खरै जीर्णोद्वार सम्पन्न गरिसकेको र हाल प्रसिद्ध ५ तल्ले मन्दिर लगायत कयौं सम्पदाहरु जीर्णोद्वारकै क्रममा रहेको जानकारी गराउनुभयो ।
युनेस्कोका डा गमीनीले भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको प्रशंसा गर्नुहुँदै सम्पदा पुनःनिर्माणका चरणमा मूर्त र अमूर्त संस्कृति संरक्षणमा भक्तपुर नपाले गरिरहेको प्रयास र उपभोक्ता समिति मार्फत सम्पदा पुनःनिर्माणको प्रभावकारिता बारेमा जानकारी लिनुहँदै भक्तपुर नगरपालिकाको भावी योजना, कार्यक्रम र सम्पदा संरक्षणको प्रगतिको बारेमा पनि जानकारी लिनुभयो ।
प्रनिनिधि मण्डलका क्याथरिन फोर्बस्ले सम्पदा पुनःनिर्माणले जनभावनाको कदर गरे वा नगरेको तथा पुरानै शैलीमा सम्पदा पुनःनिर्माणका चुनौतीका बारेमा जानकारी लिनुभएको थियो ।
भनपाका उपप्रमुख रजनी जोशीले निर्माणाधीन सिंहध्वाका (न्ह्यकं झ्या दरबार) बारेको विस्तृत प्रस्तुतिकरण गर्नुहुँदै प्रतिनिधि मण्डलले राखेका जिज्ञासाहरुबारे स्पष्ट पार्नुभयो ।
प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रको स्थलगत भ्रमण गर्नु भएको थियो । नगर प्रमुख सुनिल प्रजापतिले युनेस्कोका प्रतिनिधि मण्डललाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.