Explore news and happenings at Bhaktapur

सिलाइ सम्बन्धी तीन महिने तालिमको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

२०७६ असोज २९ गते, बुधबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न तीन महिने आधारभूत सिलाइ तालिमका प्रशिक्षार्थीहरुलाई बुधबार प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख सुनिल प्रजापतिले हातमा सीप भएका महिलाहरु आत्मनिर्भर हुने बताउनुुहुँदै शैक्षिक र आर्थिक रुपान्तरणले महिला–पुरुष बीच समानता ल्याउने धारणा व्यक्त गर्नुभयो ।
उहाँले तालिम धेरै प्रशिक्षार्थीले लिएपनि थोरैले सीपको उपयोग गर्दै निरन्तता दिने गरेकोले तालिमका प्रशिक्षार्थीहरुलाई आफूले सिकेको सीपको अधिकतम उपयोग गर्दै ग्राहकको विश्वास जित्ने ढंगले आफ्नो पेशालाई अगाडि बढाउनु उपयुक्त हुन्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर जिल्लास्थित विद्यालय, कलेज तथा संघसंस्थाहरुको पोशाक सिलाइको निम्ति वर्षको करोडौं बजेट लाग्ने हुँदा ज्यालाको लागि धेरै पैसा राजधानी लगायत अन्य जिल्लामा गइरहेको बताउनुभयो ।
उहाँले प्रशिक्षार्थीहरुलाई समयानुसार नयाँ प्रविधिबारे जानकारी हुनुपर्ने बताउनुहुँदै अरुको मन जितेर इमान्दारीपूर्वक काम गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले सीप नभएको व्यक्ति स्वरोजगार नहुने बताउनुहुँदै नगरपालिकाले दिएको सीप जीवनोपयोगी भएको र आफ्नो पेशामा समयानुसारको दक्षता विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले नगरपालिकाले सञ्चालन गरिरहेको विभिन्न तालिमहरुबारे जानकारी दिनुहुँदै आफूले सिकेको सीप निरन्तर प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, प्रशिक्षक कमला शाक्य र प्रशिक्षार्थी अन्जु सिल्पकारले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.