Explore news and happenings at Bhaktapur

विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रम

२०७६ असोज २९ गते, बुधबार

0

भक्तपुर नगरपालिकाको आयोजना र नेपाली सेना विपद् व्यवस्थापन शिक्षालयको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन बुधबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमबाट प्राप्त सीप र ज्ञान विपद्को समयमा उपयोग गर्न प्रेरित गर्नुभयो ।

उहाँले पुँजीवादी व्यवस्थाले समाजलाई भन्दा पुँजीलाई महत्व दिने र नेकपा सरकारले पुँजीपति वर्गको हितमा काम गरिरहेको प्रस्ट पार्नुहुँदै जनता राजनैतिक रुपमा सचेत हुनु आवश्यक भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले आर्थिक अनुशासनभित्र रहेर विकास निर्माण कार्यहरु उपभोक्ता समितिमार्फत् जनसहभागिता र जनश्रमदान जुटाएर गरिरहेको जानकारी उहाँले गराउनुभयो ।

भक्तपुर नगरपालिकाले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषय अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिरहेको र आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रति विद्यार्थी पाँच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्दै आइरहेको प्रमुख प्रजापतिले प्रस्ट पार्नुभयो ।

विपद् व्यवस्थापन तालिमका प्रमुख प्रशिक्षक सेनानी दिपेन्द्र पोखरेलले नेपालमा आइपर्ने विपद् जोखिम न्युनीकरण गर्न नेपाली सेनाले विभिन्न ठाउँहरुमा तालिम सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाबाट गठित विभिन्न समितिबाट नगरबासी युवाहरुलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.