Explore news and happenings at Bhaktapur

३९ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुर, २४ असोज ।

0

३९ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो । सम्मेलनको दोस्रो दिन शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सांस्कृतिक गुरूहरूलाई सम्मान गर्नुभयो । डाफा भजन गुरू गोपसिं बोय्जू, खिं गुरू हरिभक्त सुवाल, बाँसुरी बाजा गुरू काजीलाल बोय्जू र डाफा भजन गीत गुरू लक्ष्मीभक्त व्यान्जू सम्मानित हुनुभएको हो ।
सभामा बोल्दै नेमकिपा अध्यक्ष बिजुक्छेँले संस्कृति संरक्षणको लागि लगातार समर्पित सांस्कृतिक गुरूहरूलाई सम्मान गर्ने तःमुँज्याको कार्यक्रम उपयुक्त भएको भन्दै तःमुँज्या जनस्तरकै सहयोग र मेहनतबाट सफल हुने जनताको दबु भएको बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा सांसद सदस्य प्रेम सुवालले चीनको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) लाई सैनिक गठबन्धन भनी संरा अमेरिकालगायत पश्चिमा देशहरूले गलत प्रचार गरिरहेको बताउनुभयो ।

उहाँले संरा अमेरिकी साम्राज्यवादले अघि सारेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा नेपाली काङ्ग्रेसका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनतालाई थाहा नदिई हस्ताक्षर गर्नु देश हितमा नभएको चर्चा गर्दै भन्नुभयो, “नेपाल सार्कको अध्यक्ष देश भए पनि भारतको दबाबमा सार्कको बैठक नेपालले आमन्त्रण गरेको छै्रन ।”

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्थानीय तहको निर्वाचनमा नेमकिपाले सार्वजनिक गरेको घोषणापत्रअनुसार भक्तपुर नगरपालिकामा जनताको सेवा गरिरहेको बताउनुभयो । भक्तपुर नपाले जनताको सेवा गर्ने उद्देश्यले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक ऋण, घर–घरमा नर्सिङ सेवा, ८० जना बिरामीलाई दस हजारको दरले क्यान्सरका रोगीलाई सहयोग, चिकित्साशास्त्रअन्तर्गत एमडी अध्ययन गर्ने दुई जनालाई छात्रवृत्ति दिने गरेको बताउनुभयो ।

शहिद साप्ताहिक काठमाडौंका सम्पादक नारायण महर्जनले सरकारको अकर्मण्यताको कारण काठमाडौँको खोकना र बुङ्गमतीका जनताले दुःख भोग्नुपरेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सङ्घीयताको प्रयोग सही तरिकाबाट नहुँदा जनताको लागि सङ्घीयता भार बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई वर्षौदेखि पिउने मनग्य पानी छैन, सरकार भने अझै पनि मेलम्चीको सपना बाँडेर थाकेको छैन ।”

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले जनता बाँचे भाषा बाँच्ने वास्तविकता चेतना भएको हरेक व्यक्तिले मनन गर्न सक्ने बताउनुभयो । जनताको साहित्य र भाषा संरक्षणको लागि तःमुँज्याले गर्दै आएको अभियान प्रशंसनीय भएको चर्चा गर्र्दै उहाँले तःमुँज्या स्तरीय भाषाको दबु भएको प्रष्ट पार्नुभयो ।

मनोविद् धनरत्न शाक्यले आत्महत्या समाजमा विकराल समस्या बनेकोमा चिन्ता व्यक्त गर्दै जीवनका समस्या समाधान गर्न नसक्ने व्यक्तिले मात्र आत्महत्याको बाटो रोज्ने गरेको बताउनुभयो ।

चिकित्सक डा. शम्भु पहाडीले अस्पतालमा चिकित्सकलाई सेवा गर्ने वातावरण नबन्दा बिरामी अन्यायमा परेको धारणा राख्दै औषधि तितो भएजस्तै कतिपय साहित्य पनि तितो हुने गरेको बताउनुभयो ।

लेखक शास्त्रदत्त पन्तले विदेशीको भरमा शासन चलाउने शासकहरूले देशलाई कहिल्यै आत्मनिर्भर बनाउन नसक्ने विचार राख्दै देश लुट्नेहरूलाई जनताबीच उदाङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । राजनीति गरेर अकुत सम्पत्ति आय आर्जन गर्ने कम्युनिस्ट भनिने नेताहरू पैसाकै निम्ति मन्त्री बन्न तछाडमछाड गरिरहेको दृष्टान्त उल्लेख गर्दै उहाँले देश र जनताप्रति समर्पित नेताहरूको देशमा खाँचो छ भन्नुभयो ।

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले देशमा इमानको राजनीति गर्ने नेताहरूको अभाव भएकोमा चिन्ता व्यक्त गर्दै जनताको विश्वास नभएको संविधान लामो समय नटिक्ने विचार व्यक्त गर्नुभयो ।
राज्य व्यवस्था सञ्चालन गर्न विदेशीसँग ऋण मागेर कम्युनिस्टको सरकारले संसारमा कसैले नगरेको काम गरेर देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने काम गरेको उल्लेख गर्दे उहाँले नेपाल मनपरी गर्ने सत्तासीन दलको निजी देश होइन भन्नुभयो ।

कवि डा. रामप्रसाद ज्ञवालीले पुँजीवादले व्यक्तिवादी र स्वार्थी भावना विकास गर्ने हुँदा प्रत्येक राजनीतिज्ञ र साहित्यकारले त्यसको विरोधमा बोल्नुपर्ने र साहित्य लेख्नुपर्नेमा जोड दिँदै शासक वर्गले युवाहरूको श्रमशक्तिलाई विदेशमा लगेर रेमिट्यान्सको आम्दानीबाट देश सञ्चालन गरिरहेको दावी दास मनोवृत्ति हो भन्नुभयो ।
कवि ज्ञवालीले भन्नुभयो, “राजनीतिको विकल्प राजनीति नै हो तर खराब राजनीति छोडेर असल राजनीति गर्नुपर्छ ।”

डा. पुकारचन्द्र श्रेष्ठले देशकै लागि उदाहरणीय कार्य गरिरहेको मृगौला प्रत्यारोपण केन्द्रलाई राजनीतिकरण गर्न खोजेको आरोप सत्ताधारी नेताहरूले लगाएकोमा चिन्ता व्यक्त गर्दै केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना रहेको बताउनुभयो ।
डा. श्रेष्ठले नेपालमै पहिलोपटक मुटुको सम्पूर्ण उपचार सेवा भक्तपुरस्थित मृगौला प्रत्यारोपण केन्द्रले काम थालेको चर्चा गर्दै नेमकिपाको कारण नातेदारबाट मृगौला प्रत्यारोपण गर्नसक्ने सेवा जनताले पाएको हो भन्नुभयो ।

संस्कृतिविद् तीर्थबहादुर श्रेष्ठले नेवार समुदायको अनेक रीतिथिति, संस्कार र पर्वमा विज्ञान लुकेको स्पष्ट पार्दै ती रीतिथिति र संस्कारको लेखाजोखा, अन्वेषण गरी तथ्याङ्क सङ्कलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भाषा, संस्कृति र कलाको संरक्षण सोही समुदायले नै गर्नुपर्ने उहाँको जोड थियो ।
प्रा.डा. जट्टाधर झाले सोभियत सङ्घमा लेनिनले गर्नुभएको योगदानको चर्चा गर्दै ‘लेनिन तिमी सदा जीवित छौ’ँ भन्ने कविता वाचन गर्नुभयो ।

स्त्रीरोग विशेषज्ञ डा. सानुमाया श्रेष्ठले भक्तपुरमा महिलाहरूको लागि गरेको स्वास्थ्य सेवा जीवनभर स्मरणीय भइरहने विचार राख्दै स्त्रीसम्बन्धी शिविर खोलेर चेतना जगाउने काममा सहयोग गरेको बताउनुभयो । उहाँले महिला स्वस्थ भएमा समग्र परिवार स्वस्थ रहने हुँदा महिलाहरू चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

सम्पदा संरक्षणमा लागिपरेका भावगतनरसिं प्रधानले सत्ता र शक्तिको आडमा काठमाडौँको सार्वजनिक कमलपोखरीलाई छायादेवी कम्प्लेक्सको व्यापारिक भवन बनाएर कालो दाग लाग्ने काम गरेको उल्लेख गर्नुभयो ।

लेखक शिशिर वैद्यले साहित्य भाषाको सेवा गर्ने कलात्मक विधा हो, भाषाविना कुनै पनि जनजातिको अस्तित्व कायम नहुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा लेखक योगेन्द्रमान श्रेष्ठ, धर्म राजकर्णिकार, कृष्णलाल प्रधानलगायतले बोल्नुभएको थियो ।
अधिवक्ता अनिता जधारीको सभापतित्वमा भएको सो सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष गणेशप्रसाद सुवालले स्वागत मन्तव्य, कोषाध्यक्ष प्रनेश बाटीले आय–व्यय प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको बीच–बीचमा अग्रज तथा नयाँ साहित्यकारहरूको कविता, कथा र गीत प्रस्तुत गरिएको थियो ।
साहित्यिक प्रतियोगिताअन्तर्गत निबन्ध विधामा एल के सुन्दर पहिलो र प्रेम के निडर दोस्रो हुन सफल भए भने ओम धौभडेललाई विशेष पुरस्कार प्रदान गरियो । त्यस्तै कवितातर्फ केशव तमखू पहिलो, भक्तलक्ष्मी भासिमा दोस्रो, सुनिता गाइसी तेस्रो र पृथ्वीकुमार प्रजापति सान्त्वना हुन सफल भए ।
तःमुँज्याको दोस्रो दिन ढिला रातिसम्म विभिन्न सांस्कृतिक समूहका नृत्य, नाटक, गीत आदि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो ।

Leave A Reply

Your email address will not be published.