Explore news and happenings at Bhaktapur

नेमकिपाको सातौं महाधिवेशनको सन्देश कार्यक्रम

२०७६ असोज १६ गते । बिहीबार

0

“शासक कथित नेकपाका नेताहरूलाई सी विचारधाराको प्रशिक्षण भालुलाई पुराण सुनाउनुजतिकै हो । सी विचारधाराअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा भ्रष्टाचारविरोधी अभियान चलाएको छ । नेता भईटोपलिएका धेरै भ्रस्टहरूलाई चीनमा जेलमा कोचिएका छन् ।”

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपा लिबाली एकाइ समितिको आयोजनामा बिहीबार भएको सातौँ महाधिवेशनको सन्देश कार्यक्रममा उक्त विचार व्यक्त गर्नुभएको हो ।
उहाँले अगाडि भन्नुभयो, “नेपालका शासक नेताहरू नै अरर्बौँको भ्रष्टाचारमा मुछिएको अवस्थामा भ्रष्टाचारविरोधी सी विचारधाराको प्रशिक्षण चलाउनु औचित्य छैन ।”

आफूले धरै वर्षदेखि एमाले–माओवादी कम्युनिस्टै होइन भन्दै आएकोमा अहिले त्यसका नेताले नै कम्युनिस्टजस्तो नभएको भनेर सकारेको चर्चा गर्दै उहाँले चुनावबाट समाजवाद आउँदैन भनेको कुरा अहिले पुष्टि भएको छ भन्नुभयो ।
देश विकास नहुनुको दोष हालका शासकभन्दा पनि नेपाली काङ्ग्रेस नै बढी जिम्मेवार भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको थिति काङ्ग्रेसले नै बसालेको र त्यसैमा एमाले–माओवादी चलेको प्रस्ट पार्नुभयो ।

पार्टी महाधिवेशनको महत्वमाथि प्रकाश पार्दै उहाँले महाधिवेशनले जनताको प्रजातन्त्र हुँदै समाजवादमा पुग्ने तय भएको र पुँजीवादी सरकारमा नजाने नीति तयार गरेको बताउनुभयो ।

जनताको प्रजातन्त्रमा मजदुर–किसानको नेतृत्वमा राष्ट्रिय पुँजीपति वर्गलाई समेटेर सरकार चलाइन्छ भन्दै उहाँले त्यसबेला अहिलेजस्तो ठूलालाई कर मिनाहा र सानालाई करको भार नलादिई प्रगतिशील कर नीति लागू हुनेछ भन्नुभयो ।
जनताको प्रजातन्त्रमा जाने एउटा सिँढी भएको चर्चा गर्दै उहाँले समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिने तर त्यसको लागि लामो समय लाग्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीमा केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर अस्पतालमा भएको भ्रष्टाचारविरूद्ध चालेको कदमबाट छटपटिएर स्थानीय शासक दलका नेता–कार्यकर्ताहरूले सङ्घ र प्रदेश सरकारसँग गुहार्न थालेका छन्, यो उनीहरूको छटपटाहट हो भन्दै नगरपालिकाले सल्लाघारीको १०८ रोपनी जग्गा संरक्षण उनीहरूको लागि थप टाउको दुखाइको विषय बनेको स्पष्ट पार्नुभयो ।

भनपाका गतिविधि भक्तपुरवासीको लागि मात्र नभई अन्य धेरै नगरपालिकाहरूका लागि प्रेरणादायी भएको कुरा अरू नपाका जनप्रतिनिधिहरूको छलफलबाट पुष्टि भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू अराजक, अनुशासनहीन र पद–पैसामा मात्र ध्यान दिन्छन् भन्द सैद्धान्तिक छलफलमा नेमकिपाबाहेक अरू नभएको दाबी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईंले पुँजीवादी व्यवस्था नै खराब भन्ने कुरा जनतालाई जगाउनुपर्ने आजको चुनौती भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू रवीन्द्र ज्याख्व, नारायणबहादुर दुवालसहित स्थानीय ज्ञानसागर प्रजापति, कृष्णप्रसाद धन्छा, विकास प्रजापति र बलराम प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.