नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार बिहान भक्तपुर दरबार स्क्वायर स्थलगत अवलोकन गर्नुभयो । सामान्य पर्यटक बनेर भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर र दत्तात्रय मन्दिर लगायतका ठाउँहरु अवलोकन गर्नुभएका विदेशमन्त्री वाङ यीले भक्तपुर क्षेत्र अवलोकन गर्नुभई यहाँका ऐतिहासिक सम्पदाहरूलाई आफैंले आफ्नो क्यामरामा कैद गरी उहाँले सेल्फी पनि खिच्नुभयो ।
चिनियाँ विदेशमन्त्री वाङ यीका आग्रहअनुसार भक्तपुर क्षेत्र अवलोकन भ्रमण गरेको तस्वीर नखिच्न पत्रकारलाई सुरक्षाकर्मीहरुले आग्रह गरेका थिए । विदेशमन्त्री वाङको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भन्नुभयो – ‘मलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न दिनुस् । मेरो फोटो खिच्नु पर्दैन ।’

भक्तपुर घुम्न पाउँदा अत्यन्त खुसी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताउनुभयो ।
मोबाइलबाट तस्वीर खिच्दै घुमघाम गरेका वाङ प्रशन्न मुद्रामा देखिनुहुन्थ्यो । साथै चिनियाँ राजदूत होउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्य पनि उपस्थित हुनुहुन्थ्यो ।
विदेशमन्त्री वाङले सामान्य नागरिक भएर पर्यटकीय क्षेत्र घुम्ने इच्छा गरे पनि उनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यद्यपि स्थानीयबासीलाई कुनै रोकतोक भने गरिएको थिएन ।
चिनिया“ विदेशमन्त्री वाङ गत आइतबार तीनदिने नेपाल भ्रमणमा आउनुभएको थियो । नेपाल आउनुभएलगत्तै उहाँले चन्द्रागिरि केबलकारको पनि भ्रमण गरी सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्टमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुभएको थियो ।