Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा आजबाट सुरू

भक्तपुर, २०७६ असार ९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सोमबारबाट सुरू भयो । नगरसभाको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुभयो ।

कार्यक्रमको उद्‍घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधिहरूले जनताको मतलाई अप्ठ्यारो हुने काम गर्न नहुने र जनताको मतको कदर गर्नुपर्ने बताउनुभयो ।

नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्नुहुँदै उहाँले गुठी जग्गाको नियन्त्रण गर्न उपत्यकाका गुठीहरूको जिम्मेवारी  प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताउनुभयो ।

जनताको क्रयशक्ति कमजोर हुँदा व्यापार र उद्योगधन्दाको विकासमा प्रत्यक्ष असर पर्ने सम्भव नहुने बताउनुहुँदै अध्यक्ष रोहितले बहुमत जनताको क्रयशक्ति बलियो भएमात्र व्यापारीहरूको क्रयशक्ति पनि बलियो हुने र व्यापारीहरूलाई पनि फाइदा पुग्ने बताउनुभयो । उहाँले किसानहरूबीच समानता ल्याउन मोहियानी हकको माग उचित भएको बताउनुभयो ।

उत्पादनको साधनलाई सामाजिकीकरण गर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला नै समाजवादी सिद्धान्त भएको बताउनुहुँदै का. रोहितले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिए व्यवस्थित रुपमा कार्य सम्पन्न हुने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीहरूलाई समयसापेक्ष तालिमहरू, सडक पेटी व्यवस्थापन, सफा पशु वधशाला, आदरनिकेतनको लागि आवश्यक ऐन बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि संघीय साँसद एवम् नेमकिपाका सचिव प्रेम सुवालले काठमाडौं उपत्यकामा अव्यवस्थित आवास योजना सञ्चालन हुँदा कृषियोग्य भूमिको विनास भइरहेको बताउनुभयो । भक्तपुरको नगरकोट–बागीश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको बताउनुहुँदै सांसद सुवालले विकास निर्माण, पुनःनिर्माण तथा जीर्णोद्धारको कार्य अमानत वा उपभोक्ता समितिमार्फत् गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुवालले सरकारको नवौंं पञ्चवर्षीय योजनामा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने योजना भएको तर बजेट वक्तव्यमा काठमाडौं उपत्यकालाई मेघासिटी बनाउने योजनालाई अगाडि सारेको बताउनुभयो ।

 

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले संघीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउनुहुँदै संघ, प्रदेश र स्थानीय तहबीच एकल र साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक श्रोत साधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएको बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो – ‘संघीयता कार्यान्वयनका लागि काठमाडौं केन्द्रित विकासलाई देशको सन्तुलित विकासमा रुपान्तरण गरिनु आवश्यक छ । स–साना कामको लागि प्रधानमन्त्री र मन्त्रीहरूको आदेश चाहिने प्रथाको अन्त्य हुनुपर्छ ।’ उहाँले स्थानीय तहलाई माथिको आदेश पालना गर्ने इकाइबाट मुक्त गरेर स्वायत्त ढ·ले आ–आप्mनो क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्नु नै संघीयताको मर्म भएको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढंगले अगाडि बढाउन डाक्टर र इन्जिनियरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयहरूको अध्ययन आवश्यक भएको बताउनुहुँदै नगरपालिकाले यी विषयहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।

भक्तपुरको गौरवशाली कला–संस्कृतिलाई जोगाउन र जीवन्त बनाइ राख्न नयाँ पुस्ताको सक्रिय सहभागिताको खाँचो औंल्याउनुहुँदै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाले समाज रुपान्तरणका लागि शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको चर्चा गर्नुहुँदै संस्कारयुक्त दक्ष जनशक्तिलाई समाज रुपान्तरणको लागि परिचालन गर्नु आवश्यक भएको बताउनुभयो । प्रजिअ भट्टले भक्तपुर नगरपालिकालाई सदाचार र भ्रष्टाचारमुक्त नगरको रुपमा व्याख्या गर्नु उचित हुने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सबिन प्रधानले नगरपालिका र प्रहरीबीचको सहकार्यले जनमानसमा शान्ति र सुरक्षाको प्रत्याभूति गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले अवैध लागुऔषध सेवन र नियन्त्रण गर्न सबै सबैको सहकार्यको आवश्यकता भएको बताउनुभयो ।

 

 

 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी भक्तपुरको पृथक पहिचान भनेको उपभोक्ता जागरुक भएको र यसलाई निरन्तरता दिइनुपर्ने, भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले शैक्षिक बेरोजगारीलाई रुपान्तरण गर्ने शिक्षा प्रणालीमा जोड दिनुपर्ने, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरसभा सम्पूर्ण नगरबासीहरूको सभा भएकोलगायतका विचार प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

नगर प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे आज दिनको १ः०० बजे बस्ने बैठकमा छलफल र पारित हुने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.