Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको पाँचौ नगरसभामा प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम

0

नगर सभासद्ज्यूहरु,
–प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवं संघर्षहरुमा आप्mनो जीवन वलिदान गर्नुभएका प्रातःस्मरणीय शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं । जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
–नेपालको संविधान बमोजिम स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष पूरा भयो । यस अवधिमा भक्तपुर नगरपालिकाका हामी जनप्रतिनिधिहरु नगर र नगरवासीहरुकै हितलाई केन्द्रमा राखेर काम गर्दैछौं । नगरपालिकाको काममा सधैं साथ र सहयोग गर्नुहुने सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं र निरन्तर सहयोगको अपेक्षा पनि गर्दछौं ।
–हामी नेपाल मजदुर किसान पार्टीको तर्पmबाट निर्वाचित जनप्रतिनिधिहरु हौं । निर्वाचनको बेला जनताबीच नेमकिपाले अगाडि सारेको निर्वाचन घोषणापत्र नै हाम्रो काम गर्ने आधार हो । घोषणापत्रका हरेक बुँदालाई एक एक गरी पूरा गर्न हामी प्रतिवद्ध छौं ।
–भक्तपुर साँस्कृतिक र ऐतिहासिक नगर हो । यहाँका पुरातात्विक महत्वका सम्पदाहरुले विश्वकै ध्यान आकर्षित गरेका छन् । विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रको महत्व झन् झन् बढ्दै छ । यस नगरलाई पर्यटकीय गन्तव्य स्थल र ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्य अनुरुप नगरपालिकाका जनप्रतिनिधिहरु सकृय छौं ।
–संघीयताको अर्थ प्रशासनिक र वित्तीय स्वायत्तता र विकेन्द्रीकरण हो । संघ, प्रदेश र स्थानीय तहबीच एकल र साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक श्रोत साधनको उपयोग र बाँडफाँडमा समन्वय हुन आवश्यक छ । संघले प्रदेश र स्थानीय तहलाई तथा प्रदेशले स्थानीय तहलाई हस्तक्षेप रोक्नु आवश्यक छ ।
–नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम सबै स्थानीय तहहरु स्वायत्त छन् । जनताको नजिकको सरकार र जनभावना अनुसार काम गर्ने नगरपालिका र गाउँपालिकाका कर्मचारीहरु भर्ना गर्ने अधिकार स्थानीय तहलाई हुनु आवश्यक छ । संघ र प्रदेशले स्थानीय तहको लागि कर्मचारी भर्ना गर्ने काम गाउँ गाउँमा सिंहदरबारको नारा अनुरुप छैन । यो स्थानीय तहको स्वायत्तताकै अपहरण हो । यो कानूनी प्रावधान स्थानीय स्वायत्त शासन ऐन, २०५५ भन्दा पनि प्रतिगामी छ । यसको खारेजी आवश्यक छ ।
– संघीयता कार्यान्वयनका लागि काठमाडौं केन्द्रित विकासलाई देशको सन्तुलित विकासमा रुपान्तरण गरिनु आवश्यक छ । स–साना कामको लागि प्रधानमन्त्री र मन्त्रीहरुको आदेश चाहिने प्रथा गलत छ । स्थानीय तहलाई माथिको आदेश पालना गर्ने इकाइबाट मुक्त गरेर स्वायत्त ढ·ले आ–आप्नो क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्नु नै संघीयताको मर्म हो । तर प्रदेश र स्थानीय तहलाई संघको इकाइको रुपमा परिभाषित गर्दै संघको मातहतमा बस्नुपर्ने वा निर्देशन पालना गर्ने इकाइको रुपमा परिभाषित गर्नु पंचायती मानसिकता हो र यो संघीयता, संविधान र कानूनको भावनाविपरीत छ । संविधान र कानूनभन्दा माथि कोही हुन सक्दैन । संघ, प्रदेश र स्थानीय तह संविधान र कानूनको सीमामा रही स्वायत्त रुपमा काम गर्ने प्रावधानमाथि संघ र प्रदेशका जिम्मेवार पदाधिकारीहरु हस्तक्षेप गर्दैछन्, जुन आपत्तिजनक छ ।
– यसअघिसम्म किसानहरुको लागि चाहिने रासायनिक मल विक्री वितरण गर्न स्थानीय तहले सिफारिस गर्दै आएकोमा हालै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईले सिफारिस मार्फत गर्ने निर्णय गर्नु स्थानीय तहको अधिकार कटौतीकै रुप हो ।
– संघीय संसद र प्रदेश संसद मूलत नीति निर्माण गर्ने थलो हुन् । साँसदहरु नीति निर्माताहरु हुन् । स्थानीय पूर्वाधार विकासको नाममा प्रधानमन्त्री, मन्त्री र साँसदहरुको सिफारिसमा बजेट विनियोजन गर्नु राष्ट्रिय दृष्टिकोण होइन । विगतमा स्थानीय तह नभएको बेला राखिएको निर्वाचन क्षेत्र विकास कोष हटाउन र विकास बजेट स्थानीय तहमा पठाउन आवश्यक छ ।
– भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार तथा भौतिक पूर्वाधार निर्माण गुणस्तरीय बनाउन, स्थानीय जनताको अपनत्व कायम गर्न र स्थानीय जनतालाई रोजगारीको अवसर प्रदान गर्न अमानत र उपभोक्ता समितिमार्पmत कार्य गर्दै आएको छ । यसलाई निरन्तरता दिंदै जानेछौं ।
– देशका विभिन्न स्थानमा अवस्थित मठ–मन्दिर, पर्व, संस्कृति र सम्पदाहरु संरक्षणका लागि गुठी जग्गा र अन्य आयस्ताको व्यवस्था छ । तर उद्देश्यअनुरुप मठ–मन्दिरहरु, पर्व र सम्पदाहरु संरक्षण हुन सकिरहेको छैन । गुठीको जग्गा बेचविखन गरी कैयौं महन्त र मठाधीसहरु अर्वपति बनेका छन् । जग्गा कमाउने जोताहा किसानहरु अहिलेसम्म मोहियानी हकबाट बञ्चित छन् । यसर्थ गुठी जग्गा कमाउने जोताहा किसानहरुलाई मोहियानी हक दिनुका साथै रैतानीको अधिकार प्रदान गर्नु आवश्यक छ । गुठी संस्थान खारेज गरी मठ मन्दिरहरुको आयस्ता र सम्पति स्थानीय तहहरुलाई दिनु उपयुक्त हुन्छ । गुठीसम्बन्धि विधेयक परिमार्जन गरी पेश गर्न संघीय सरकारसंग माग गर्दछौं ।
– दुई वर्षको अवधिमा भक्तपुर नगरपालिकाले गरेका कार्यहरु जनताबीच सार्वजनिक गरेका छौं । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण, खेलकुद, बजार अनुगमन जस्ता विषयहरुमा भक्तपुर नगरपालिकाले महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । दुई वर्षमा गरेका कामलाई आधार बनाउँदै आगामी आर्थिक वर्ष नगरवासीहरुको हितमा अझ बढी काम गर्न हामी प्रतिबद्ध भएर लाग्नेछौं । यही विश्वासका साथ आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौं ।
शिक्षा
१. भक्तपुर नगरपालिकाले दुईवटा इन्जिनियरि· कलेजसहित सातवटा शैक्षिक संस्थाहरु संचालन गर्दै आएकोमा विद्यार्थीको माग र समयको आवश्यकता अनुसार नयाँ विषयहरु थपिंदै लगिनेछ । यही शैक्षिक वर्षदेखि ख्वप कलेजमा कृषि विज्ञान कक्षा संचालनको तयारी गरिनेछ । ख्वप मा.वि. मा कक्षा ११ र १२ मा कानून र चित्रकला विषयको पढाइ शुरु गरिनेछ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा पनि नयाँ विषय थप्न प्रकृया अगाडि बढाइने छ ।
२. नगरभित्र संचालित सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरको अन्तरलाई कम गर्दै सबै विद्यालयहरुको समान शैक्षिक गुणस्तर कायम गर्ने नीति कार्यान्वयन गरिनेछ । विद्यालयका शिक्षकहरुलाई तालिमसँगै अनुगमनको व्यवस्था मिलाइनेछ ।
३. सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयको भौतिक पूर्वाधारहरु निर्माण गर्न सहयोगको नीति लिइनेछ ।
४. लामो समयदेखि संसदमा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन निरन्तर पहल जारी राखिनेछ । त्यसको लागि प्राज्ञिक व्यक्तित्वहरु मध्येबाट ख्वप विश्वविद्यालय कार्यदल गठन गरिनेछ ।
५. जनज्योति पुस्तकालयलाई राष्ट्रिय स्तरको पुस्तकालयको रुपमा विकास गर्न इ–लाइब्रेरीको व्यवस्थाको साथै आवश्यक पूर्वाधारहरुको निर्माण गर्दै लगिनेछ । युवा पिंढीमाझ अध्ययन संस्कार वृद्धि गर्न जनज्योति पुस्तकालयको तर्फबाट समय समयमा अतिरिक्त कृयाकलाप तथा साहित्यिक अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिनेछ । वडा वडामा रहेका पुस्तकालय तथा वाचनालयहरुलाई आवश्यकता अनुसार सुधार गर्न सहयोगको व्यवस्था मिलाइनेछ ।
६. विद्यार्थीहरुलाई स्थानीय इतिहास, भूगोल, राजनीति, सम्पदा, कला–संस्कृति, भाषा, खेलकुद लगायतबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम बनाई कक्षा १, २, ६ र ७ मा लागू गर्दै आएकोमा आगामी वर्ष कक्षा ३ र ८ मा पनि लागू गरिनेछ ।
७. भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, भाषा, पुरातत्व, वातावरण, सरसफाइ, खानेपानीलगायत विभिन्न विषयमा अध्ययन—अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरुलाई आर्थिक सहयोगको नीतिलाई निरन्तरता दिइनेछ । साथै विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु भक्तपुर नगरपालिकामा इन्टर्न गर्न चाहेमा आवश्यकता अनुसार सोको व्यवस्था मिलाइनेछ ।
८. इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरु घट्दै गएको हुँदा ती विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विशेष छात्रवृत्ति दिने कार्यलाई निरन्तरता दिइनेछ । साथै उच्च शिक्षा हासिल गर्न चाहने योग्य तर आर्थिक अवस्था कमजोर भएका नगरवासी विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखी रु. ५ लाखसम्म सहुलियत व्याजदरमा ऋण दिने व्यवस्थालाई आगामी वर्ष निरन्तरता दिइनेछ ।
९. चिकित्साशास्त्र अन्तर्गत विभिन्न विषयहरुमा स्नातकोत्तर तह (एमडी वा सो सरह) अध्ययन गर्न चाहने नगरवासी विद्यार्थीहरुमध्ये वार्षिक २ जनालाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको व्यवस्थालाई आगामी वर्ष निरन्तरता दिइनेछ । छात्रवृत्ति पाउने चिकित्सकहरुले कम्तिमा ५ वर्ष ख्वप अस्पतालमा पूर्णकालीन सेवा गर्नुपर्नेछ ।
१०. शिशु स्याहार केन्द्रहरुमा कार्यरत शिक्षिकाहरुको स्तरोन्नतिको लागि समयानुकुल तालिमको व्यवस्था गरिनेछ । साथै शिशु स्याहार केन्द्रहरुको भौतिक पूर्वाधारहरुको पनि सुधार गर्दै लगिनेछ ।
११. नगरपालिकाभित्र संचालित कलेजहरुमा अध्ययन अध्यापनको साथै अनुसन्धानमा पनि जोड दिइनेछ ।
१२. स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम नगरभित्र विशेष विद्यालय संचालन गर्न चाहेमा त्यसलाई अनुमति दिई विद्यालय संचालनको लागि आवश्यक सहयोग गरिनेछ ।
१३. विद्यालयहरुमा कार्यरत वालविकास सहजकर्ता (इसीडी शिक्षक) हरुको मिहेनतको कदर गर्दै थप सुविधा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
१४. नगरका कुनै एक सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषणा गरी विशेष अनुदानको व्यवस्था गरिनेछ ।
१५. नगरभित्रका सामुदायिक विद्यालयहरुको स्तरोन्नतीलाई प्राथमिकतामा राखेर सबल विद्यालयले दुर्वल विद्यालयलाई हेर्न उसाहित गरिनेछ ।
१६. जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतलाई आप्mना सन्तानहरुलाई सामुदायिक विद्यालयमा अध्ययनका लागि उत्साहित गरिनेछ ।

स्वास्थ्य
१७. भनपाले च्याम्हासिंह, भवगतीस्थान र व्यासी गरी ३ वटा शहरी स्वास्थ्य केन्द्रहरुमार्पmत् विरामीहरुको सेवा गर्दै आएको छ । जनस्वास्थ्य केन्द्रमा नयाँ नयाँ उपकरणहरु जडान गरी सेवाहरु थप्दै लगिनेछ ।
१८. घरदैलो नर्सि· सेवालाई विस्तार गरी विद्यालय तहसम्म पु¥याइनेछ । विद्यालयहरुमा समय समयमा चिकित्सकहरुद्वारा स्वास्थ्य जाँचको व्यवस्था मिलाइनेछ । चिकित्सक र नर्सहरुबाट विद्यालयहरुमा स्वास्थ्य सम्बन्धी कक्षा संचालनको व्यवस्था मिलाइनेछ ।
१९. शारीरिक तथा बौद्धिक अपांगता भएका नगरवासीहरुका लागि नियमित स्वास्थ्य परिक्षणको व्यवस्था गरिनेछ ।
२०. आयुर्वेदिक स्वास्थ्य सेवालाई विस्तार गरी वडा वडाको साथै कलेज–विद्यालयसम्म पुर्‍याउन आवश्यक व्यवस्था गरिनेछ ।
२१. वडा वडामा विभिन्न रोगहरु तथा स्वास्थ्य चेतनासम्बन्धि शिविरहरु संचालन गरिनेछ ।
२२. क्यान्सर, मृगौला, मुटुको शल्यकृया, मस्तिष्कघात जस्ता कडा रोग लागेका विरामीहरुलाई दिइदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
२३. च्याम्हासिंहमा संचालित जिल्ला सामुदायिक आँखा केन्द्रको सेवा विस्तार गरिनेछ । हाल १५ दिनको १ पटक मात्रै शल्यकृया हुँदै आएकोमा अब नियमित शल्यकृयाको व्यवस्था मिलाइनेछ ।
सम्पदा र संस्कृति संरक्षण
२४. भक्तपुरको कला–संस्कृति संरक्षण गर्न निरन्तर कृयाशील रहने दाफा–भजन तथा परम्परागत साँस्कृतिक कलाकार र गुरुहरुलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२५. भक्तपुर दरवार क्षेत्र वरिपरिको ऐतिहासिक ९९ चोक तथा जगनाथ मन्दिर क्षेत्रको उत्खननको अध्ययन कार्यलाई अगाडि बढाइनेछ ।
२६. भक्तपुरमा मनाइने गाइजात्रा देशकै विशिष्ट र छुट्टै पहिचान बोकेको हुँदा गाइजात्रामा प्रस्तुत हुने घिन्ताङ्घिसी, परम्परागत र आधुनिक विधाका नृत्य, नाटक तथा ख्याल र कुनै पनि साँस्कृतिक विधालाई प्रतियोगितात्मक मूल्याड्ढन गरी पुरस्कारको व्यवस्था गरिनेछ । यसबाट गाइजात्रा पर्वलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन थप मद्दत पुग्नेछ । यससंगै आधुनिक विधाका साँस्कृतिक तथा साहित्यिक प्रतियोगिताहरु पनि संचालन गरिनेछ । यसका साथै अन्य नगरपालिकाहरुसंग साँस्कृतिक आदानप्रदान गरी आपसी सम्बन्ध सुधार गर्दै लगिनेछ ।
२७. परम्परागत बाजा तथा विभिन्न साँस्कृतिक विधाहरु नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण दिने टोलीहरुलाई मूल्यांकनको आधारमा सहयोगको नीति लिइनेछ । विद्यालयहरुमा साँस्कृतिक प्रशिक्षण संचालन गरिनेछ ।
२८. भक्तपुरको परम्परागत साँस्कृतिक विधाहरुको नगरब्यापी प्रतियोगिता संचालन गरिनेछ ।
२९. भक्तपुरको साँस्कृतिक, पुरातात्विक महत्व बोकेका पाटी–पौवा, ढु·ेधारा, पोखरी, इनार, सत्तल, द्योछें लगायतका सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिइनेछ । ती सम्पदाहरु पुनःनिर्माण वा जीर्णोद्धार गर्दा अध्ययन अनुसन्धानको साथै मौलिक शैलीलाई जोड दिइनेछ ।
३०. भक्तपुरको सम्पदा संरक्षित क्षेत्रको निश्चित सीमा तोकी साँस्कृतिक क्षेत्र घोषणा गरिनेछ ।
विकास निर्माण
३१. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भनपा वडा नं. ५ टौमढीस्थित विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्यलाई अगाडि बढाइनेछ ।
३२. भनपा वडा नं. १ स्थित भाजुपोखरी र रानीपोखरीको जीर्णोद्धार कार्यलाई निरन्तरता दिइनेछ ।
३३. भनपा वडा नं. ३ दरबार क्षेत्रस्थित नगरपालिकाको साविक भवन (थन्थु दरबार) र दरबार क्षेत्रकै नक्सा शाखा रहेको भवनको मौलिक शैलीमै पुनःनिर्माणको काम अगाडि बढाइनेछ ।
३४. भनपा २ स्थित पुरानो जनज्योति पुस्तकालय रहेको भवनलाई पर्यटन प्रवद्र्धनको उद्देश्यअनुरुप कोसेली पसः बनाउने प्रकृया अघि बढाइनेछ ।
३५. च्याम्हासिंहस्थित ख्वप अस्पतालको भवन आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अगाडि बढाइनेछ ।
३६. भनपा ९ स्थित ब्रम्हायणी बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरी उपयोगमा ल्याइनेछ ।
३७. नगरको महत्वपूर्ण पर्यटकीय स्थलहरुमा क्रमशः फ्रि वाइफाईको व्यवस्था गर्दै लगिनेछ ।
३८. नगरका ठाउँ ठाउँमा बाल उद्यानको विकास गर्नेतर्पm ध्यान दिइनेछ ।
३९. जेष्ठ नागरिकहरुको लागि नगरको उपयुक्त ठाउँमा आदर निकेतन संचालनको लागि प्रकृया अगाडि बढाइनेछ ।
४०. च्याम्हासिंहमा निर्माणाधीन छात्ती पुनःस्थापना केन्द्रको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । केन्द्रमा आवश्यक उपकरणहरुको जडान गरी दम खोकी रोगको उपचार गर्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई तालिम संचालन गरी जनताको सेवामा खटाइनेछ ।
४१. भनपा वडा नं. १ मा बहुउद्देश्यीय भवन निर्माणको कार्य सुरु गरिनेछ ।
४२. भनपा वडा नं. ७ स्थित माहेश्वरी खेल मैदान र भनपा वडा नं. २ स्थित शहीद स्मृति खेल मैदानको स्तरोन्नति गर्दै खेलाडीहरुको आवश्यकताअनुसार कभर्ड हल र र·शालाको निर्माण प्रक्रिया अगाडि बढाइनेछ । भक्तपुर नपा वडा नं. ८ लिवालीमा कबर्ड हल निर्माण कार्य सम्पन्न गरिनेछ ।
४३. साँस्कृतिक नगरको पहिचानलाई जोगाइ राख्न नगरका विभिन्न स्थानहरुमा ठूला तथा भारी गाडीहरुलाई क्रमशः प्रवेश निषेध गर्दै लगिनेछ । नियमविपरीत प्रवेश गर्ने गाडी चालक वा धनीलाई कडा दण्ड जरिवानाको व्यवस्था मिलाइनेछ ।
४४. नगरबासीहरुको लागि तरकारीको सहज आपूर्तिको व्यवस्था गर्न नगरभित्र उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्थापन गरिनेछ । यसले तरकारी उत्पादन गर्ने किसान र उपभोक्ता दुबैको हित हुने हाम्रो विश्वास छ ।
४५. माहेश्वरी पीठ, ब्रम्हायणी पीठ, हनुमानघाट, बाराही स्थान, महाकाली स्थानलगायत ऐतिहासिक र धार्मिक स्थलहरु तथा भनपा ५ स्थित पुरानो डम्पिङ साइट क्षेत्रको क्रमशः गुरु योजना तयार गर्दै लगिनेछ ।
४६. जथाभावी गाडी र मोटरसाइकलहरु पार्कि· गरेको कारण नगरको सौन्दर्यमा बाधा पुग्नुको साथै सडकमा हिड्ने यात्रुहरुलाई समस्या भई दुर्घटना समेत हुने गरेको हुँदा नगरको विभिन्न स्थानमा गाडी तथा मोटरसाइकल पार्कि·को व्यवस्था मिलाइनेछ ।
४७. नगरका टोल टोलमा संकलित कुहिने र नकुहिने फोहरमध्ये कुहिने फोहरको कम्पोष्ट मल बनाइ किसानहरुलाई सस्तोमा विक्री गर्ने उद्देश्यले कम्पोष्ट मल प्लान्ट निर्माण गर्ने प्रकृया अगाडि बढाइनेछ । साथै नकुहिने फोहरलाई पुनः प्रयोग वा अन्य प्रकृयाबाट आयको श्रोत बनाइनेछ ।
४८. नगरवासीहरुलाई घुमफिर गर्ने उपयुक्त ठाउँहरुको अभावलाई ध्यानमा राखी नगरको उपयुक्त ठाउँमा पार्कको निर्माण गरिनेछ ।
४९. भनपा ७ स्थित हनुमानघाटमा विद्युतीय शवदाह गृह निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।
५०. नगरको पुराना तथा नयाँ बस्तीहरु तथा सम्पदा क्षेत्रहरुमा आवश्यकता अनुसार बत्तीको व्यवस्था गरिनेछ ।
५१. भनपा ६ स्थित देकोचामा आधुनिक सुविधासम्पन्न अरनिको सभाभवन निर्माण कार्य थालनी गरिनेछ ।

खेलकुद
५२. भक्तपुर नगरपालिकाले फुटबल, भलिबल, टेबुल टेनिस, सितेरियो कराँते, बक्सि·, जिम्नेष्टिकको नियमित प्रशिक्षण दिंदै आएकोमा ती खेलहरुको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने प्रयत्न गरिनेछ । साथै नगरवासी युवाहरुको चाहनाबमोजिम थप खेलको प्रशिक्षण संचालन गर्ने तयारी गरिनेछ । खेल प्रशिक्षकहरुको सेवालाई ध्यानमा राखेर पूर्णकालीन प्रशिक्षकहरुको संख्यामा वृद्धि गर्दै लगिनेछ ।
५३. वडा खेलकुद समिति मार्फत वडा वडामा रहेका टिम, क्लवलाई सक्रिय बनाइनेछ ।
५४. विद्यालय÷कलेजहरुमा पनि प्रतिस्पर्धी खेलाडीहरु तयार गर्न क्रमशः खेल प्रशिक्षकहरुको व्यवस्था गर्दै लगिनेछ । समय समयमा अन्तर विद्यालय खेलकुदको आयोजना गरी खेलाडीहरुको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्नुका साथै स्तरीय खेलाडीहरु उत्पादन गर्ने नीति लिइनेछ ।
५५. महिलामाथि हुने सम्भावित हिंसात्मक गतिविधिबाट नगरवासी महिलाहरुलाई सुरक्षित बनाउन आत्मरक्षाको तालिमको व्यवस्था गरिनेछ ।
५६. विगत वर्ष झैं कुनै एक खेलको अन्तर नगर खेल प्रतियोगिता आयोजना गरिनेछ । खेलकुदको माध्यमबाट भक्तपुरलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन प्रतियोगिताले मद्दत पु¥याउने विश्वास छ ।
५७. ज्येष्ठ नागरिक, वालवालिका तथा युवाहरुको स्वास्थ्यलाई ध्यानमा राखी नगरका ठाउँ ठाउँमा राखिएका शारीरिक व्यायाम स्थलहरुको विस्तार गरी विद्यालय र कलेज कलेजमा पुर्‍याउने व्यवस्था मिलाइनेछ ।
बजार अनुगमन
५८. उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखी बजार अनुगमनलाई निरन्तरता दिइनेछ । अनुगमनको क्रममा कानूनविपरीत म्याद नाघेको, कुहेको वा स्वास्थ्यको लागि हानिकारक कुनै बस्तु फेला परेमा त्यस्तालाई कडा कार्वाही गरिनेछ ।
कृषि
५९. कम जग्गामा बढी उत्पादन गर्ने उद्देश्यले किसानहरूलाई विभिन्न किसिमका तरकारी वा बाली उत्पादन सम्बन्धी कृषि विशेषज्ञहरुबाट तालिमको व्यवस्था मिलाइनेछ ।
६०. किसानहरुको लागि आवश्यक कृषि उपकरण तथा कृषि सामग्री, विउविजन वितरण गरिनेछ ।
पर्यटन
६१. भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर महोत्सवको आयोजना गरिनेछ ।
६२. भक्तपुर आउने पर्यटकहरुको सुविधाको लागि पर्यटकीय क्षेत्रहरुमा स्तरीय शौचालय, हारियाली प्रबद्र्धनलगायतका कार्यहरु क्रमशः गर्दै लगिनेछ ।
६३. परम्परागत गाइजात्रा मार्गलाई पर्यटन पैदल मार्गको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ ।
६४. पर्यटकहरुको बसाई लम्ब्याउनका लागि साँझको समयमा ठाउँ ठाउँमा सा“स्कृतिक गतिविधिहरु सञ्चालनको व्यवस्था मिलाइनेछ । यससंगै सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरिनेछ । सम्पदा क्षेत्र र पर्यटकीय स्थलहरुमा सन्ध्याकालीन बत्तीको बन्दोबस्त गरी थप आकर्षण बढाउन जोड दिइनेछ ।
६५. नगरभित्र भइरहेको अनियमितता नियन्त्रण गर्न र सहज बजार व्यवस्थापनको लागि नगर प्रहरीको व्यवस्था गरिनेछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई जनस्तर र विद्यालय स्तरसम्म पु¥याइनेछ । साथै पर्यटक प्रहरीको प्रभावकारी परिचालन गरी भक्तपुरलाई सुरक्षित पर्यटकीय स्थल बनाउन पहल गरिनेछ ।
६६. भक्तपुरका मौलिक उत्पादनहरु कालो टोपी, जुजु धौ, हाकुपतासी, ताइच्यून चिउरा जस्ता घरेलु तथा साना उद्योगहरुलाई वातावरणमैत्री ढंगबाट प्रोत्साहित गर्न विभिन्न गतिविधिहरु अगाडि बढाइनेछ ।
६७. स्थानीय युवाहरुलाई चिनियाँ, जापानी, अंग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरुको तालिम दिइनेछ । यसका साथै नगरवासीहरुलाई होमस्टे संचालनसम्बन्धि तालिम पनि दिइनेछ ।
६८. भक्तपुरको जीवनशैली, रहनसहन र सँस्कृति झल्किने सांस्कृतिक संग्रहालयको व्यवस्था गरिनेछ ।
६९. पर्यटकहरुको सुविधाको लागि उपयुक्त स्थानमा पर्यटक बसपार्कको व्यवस्था गरिनेछ ।
७०. भक्तपुरको सुन्दरता बढाउन र प्रदूषण कम गर्न शहरको मुख्य सडक च्याम्हासिंहदेखि भार्वाचोसम्म ढु·ा छाप्ने कार्यलाई निरन्तरता दिइनेछ ।
७१. अपराध नियन्त्रणमा सहयोग पु¥याउन नगरको मुख्य सडक, गल्ली र सम्पदा क्षेत्रहरुमा सी.सी. क्यामेराको बन्दोवस्त गरिनेछ ।
७२. भक्तपुरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न एफ.एम. रेडियो सञ्चालन र टेलिभिजन प्रशारणको तयारी गरिनेछ । साथै नगरपालिकाका हरेक गतिविधिलाई जनतामाझ पारदर्शी रुपमा समयमै सम्प्रेषण गर्न तथा नगरवासीहरुका न्यायोचित गुनासाहरुको तत्काल सम्बोधन गर्ने हेतुले नगरपालिकाको तर्फबाट विभिन्न छापा तथा अनलाइन प्रकाशन एवं सामाजिक संजालको प्रभावकारी उपयोग गरिनेछ ।
७३. सहकारी र स्थानीय जनताको सहभागितामा गुणस्तरीय पर्यटकीय होटल संचालन गर्न सहकारी संस्थाहरुलाई उत्साहित गरिनेछ ।
युवालक्षित तालिमहरु
७४. युवाहरुलाई सीपयुक्त र आत्मनिर्भर बनाउन काष्ठकला, प्रस्तर कला, धातु कला, विभिन्न विदेशी भाषा, सिलाई, रेडियो–टेलिभिजन प्रस्तोता, पथ प्रदर्शकलगायतका तालिमहरु सञ्चालनलाई निरन्तरता दिइनेछ । त्यसैगरी विद्युतीय सामग्रीहरु मोबाइल, रेडियो–टेलिभिजन, रेफ्रिजेरेटर जस्ता मर्मतका तालिमहरु, मोटर साइकल मर्मत जस्ता रोजगारीमूलक तालिमहरु संचालन गरी युवाहरुलाई आत्मनिर्भर बनाउन जोड दिइनेछ ।
अन्य
७५. मौलिक शैलीका घर र सम्पदाहरुको संरक्षणको लागि पुरानो नगर क्षेत्रभित्र निजी घर निर्माण गर्ने घरधनीहरूलाई घरको मोहडामा लाग्ने काठ, इँटा र झिंगटीमा दिइँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
७६. भूकम्प पीडितका प्रमाणपत्र प्राप्त घरधनीहरुलाई नक्सापासमा दिइँदै आएको छुटलाई यथावत राखिनेछ ।
७७. नगरका विभिन्न स्थानहरुमा जथाभावी छाडिएका भुस्याहा कुकुर, गाइ—भैंसीजस्ता चौपायाहरुलाई नियन्त्रणमा लिई सम्बन्धित घरधनीहरुलाई कानुनी कार्वाही गर्ने नीति लिइनेछ ।
७८. विशेषज्ञहरुको सुझाव अनुसार फोहरमैला व्यवस्थापनको स्थायी समाधानको लागि नगरपालिका अगाडि बढ्नेछ । फोहर मैला व्यवस्थापन सम्बन्धी गठित कार्यदलद्वारा प्रस्तुत प्रतिवेदनलाई कार्यान्वयनमा ल्याइनेछ । घरबाट निस्कने फोहर कम गर्ने उद्देश्यले कौसी खेतीलाई प्रोत्साहित गरिनेछ ।
७९. नगरका मूल सडकका दायाँबायाँ पेटीमा रुख–विरुवा रोपेर हरियाली प्रबद्र्धन गरिनेछ र सम्पदा क्षेत्रहरुमा समेत विभिन्न प्रजातिका फूलहरु रोपेर नगरलाई प्रदूषणमुक्त र सुन्दर बनाउने प्रयत्न गरिनेछ ।
८०. स–साना विकास निर्माणका कामहरु वडास्तरबाटै सम्पन्न गर्न र छिटो छरितो सेवाको लागि निश्चित रकम वडाबाटै खर्च गर्न मिल्ने गरी वडा बजेटको व्यवस्था गरिनेछ ।
८१. भक्तपुर नगरभित्र रहेका सम्पदाहरुको संक्षिप्त परिचयसहितको सम्पदा बोर्ड क्रमशः राख्दै लगिनेछ ।
८२. नगरभित्र काम गर्न चाहने कुनै गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नगरपालिकाको अनिवार्य स्विकृति लिनुपर्ने र ती संस्थाले वर्षभरि गर्ने कामको विवरण र बजेट पेश गर्नुपर्ने नीतिलाई कडाइका साथ लागू गरिनेछ ।
८३. घरेलु तथा साना उद्योगहरु सञ्चालनमा प्रोत्साहित गरिनेछ । ती उद्योगहरु करको दायरामा ल्याउन सम्बन्धित पक्षसँग समन्वय गरी अगाडि बढ्ने व्यवस्था मिलाइनेछ ।
८४. सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न अनुगमनलाई जोड दिइनेछ र नगरपालिका र सहकारीबीच समन्वय र साझेदारीमा नगरबासीहरुको हितमा कार्य गर्न पहल गरिनेछ । नगरभित्र संचालित सहकारी संस्थाहरुलाई उत्पादनमूलक गतिविधिमा लगानी बढाउन प्रोत्साहित गरिनेछ ।
८५. घर निर्माणमा देखिएको बढ्दो अनियमिततालाई ध्यानमा राखेर भवन निर्माण मापदण्डलाई कडाइका साथ लागू गरिनेछ । मापदण्ड मिची घर बनाएकाहरुलाई कानूनबमोजिम दण्ड जरिवाना गरिनेछ ।
८६. नगरपालिकाद्धारा भनपा २ र ६ वडामा १६५३ रोपनी जग्गामा संचालित देको मिवा इटापाके आवास योजना समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।
८७. भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानीय सीप र स्रोतसाधनको उपयोग गरी वातावरणमैत्री र पर्यटनकेन्द्रीत हस्तकला औद्योगिक क्षेत्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
८८. नगरबासीहरु र व्यवसायी तथा घर बहालमा बस्ने परिवारलाई करको दायरामा ल्याउन कर संकलन टोलीको व्यवस्था मिलाइनेछ । नगरपालिका क्षेत्रमा घरजग्गा मूल्यांकन करको विषयमा नगरवासी जनताको भावनाको सम्मान गरिनेछ ।
८९. मर्मत सम्भारबाट सम्पदाहरु संरक्षणमा टेवा पुग्ने हुँदा सम्पदाहरुको नियमित मर्मत घुम्ती टोलीको व्यवस्था गरिनेछ ।
९०. नगरबासीहरुको खानेपानी समस्यालाई ध्यानमा राखेर नगरभित्र विभिन्न स्थानमा गरिएको डिप बोरिङको पानी पिउन योग्य बनाई नगरबासीहरुलाई वितरण गर्न पानी ट्याङ्की र फिल्ट्रेसनको व्यवस्था मिलाइनेछ । साथै पुरानो नगरमा रहेको पाइप जीर्ण भएको हुँदा सोको सुधारमा ध्यान दिइनेछ । नगरभित्र आकासे पानी संकलन तथा सदुपयोगमा विशेष ध्यान दिइनेछ ।
९१. सरकारी र पर्ति जग्गा अतिक्रमण बढिरहेको हुँदा जग्गा संरक्षण कार्यलाई निरन्तरता दिइनेछ ।
९२. कर्मचारीहरुको वृत्ति विकासमा विशेष ध्यान दिइनेछ । कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि समय समयमा आवश्यक तालिमहरुको व्यवस्था गरिनेछ । साथै कर्मचारीहरुको कार्य मूल्यांकन गरी उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
९३. सल्लाघारीदेखि ब्यासी, मुलढोका हुँदै नगरकोट जाने सडकको वैकल्पिक मार्ग निर्माणका लागि पहल गरिनेछ ।
९४. मासुजन्य खाद्य पदार्थ बिक्री वितरण कार्यलाई व्यवस्थित गर्न तथा खुला स्थानमा पशु बध गर्न निरुत्साहित गरिनेछ । नगरको उपयुक्त स्थानमा व्यवस्थित पशु वधशाला निर्माण प्रक्रिया थालनी गरिनेछ ।

अन्त्यमा, भक्तपुर नगरपालिकाको आन्तरिक श्रोत, प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त हुने शसर्त र निःशर्त अनुदान तथा वित्तीय अनुदानसमेतको आधारमा आ.ब. २०७६।०७७ को बजेट तयार गरी विकास निर्माणको कामलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दछौं ।

मिति २०७६।३।९

Leave A Reply

Your email address will not be published.