Explore news and happenings at Bhaktapur

बुद्ध जयन्तीको अवसरमा प्रवचन कार्यक्रम

२०७६ वैशाख ३ गते, शुक्रबार

0

‘बुद्ध नेपालमा जन्मेका हुन् र बौद्ध दर्शनको उदय नेपालमा भएको हो’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इ. कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि, शारदा मावि र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको संयुक्त आयोजनामा शुक्रबार २५६३ औं बुद्धजयन्तीको अवसरमा प्रवचन कार्यक्रम भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले क्रान्तिकारी भावना शिथिल बनाउन धर्मलाई योजनाबद्ध तरिकाले प्रचार गरी जनतामा अन्धविश्वास जगाउने काम भइरहेको बताउनुभयो ।

हरेक कुरालाई भौतिकवादी दृष्टिकोणले व्याख्या गर्नु नै बौद्ध दर्शनको शिक्षा भएको उल्लेख गर्दै अध्यक्ष रोहितले हरेक पक्षमा आलोचनात्मक दृष्टिकोणले विश्लेषण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पुँजीवादी राज्यसत्ता व्यक्तिगत स्वार्थ र भ्रष्टाचारबाट प्रेरित हुने बताउनुहुँदै पुँजीपति वर्गले शोषणको रुप फेरेर मजदुर वर्गलाई शोषण र दमन गरिरहेको बताउनुभयो ।

साम्यवादी समाज स्थापना गर्ने महत्वपूर्ण तत्व बुद्ध दर्शनभित्र भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले शोषण र साम्राज्यवादको विरोध गरी शान्तिको पक्षमा लड्नु आवश्यक भएको बताउनुभयो ।

जनताको सैद्धान्तिक चेतनास्तर नउठेसम्म समाजलाई अगाडि बढाउन गा¥हो भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले बुद्ध धर्मलाई दर्शनको रुपमा ग्रहण गरी समाजलाई परिवर्तन गर्ने माध्यमको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुद्धका जन्मभूमि लुम्बिनीले पनि पर्यटन उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुहुँदै प्रमुख प्रजापतिले नेपालको प्रगति नचाहने छिमेकी देश भारतले गौतम बुद्धको जन्म भारतमा भएको प्रचार गरी संसारमा भ्रम फैलाइरहेको बताउनुभयो ।

उहाँले बुद्ध जयन्ती मनाउनुको अर्थ समाजमा कसैलाई अन्याय नगर्नु, समाज सेवाको निम्ति सधंै तयार रहनु र शान्ति कायम गर्नको निम्ति योगदान गर्नु हो भन्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो महत्वपूर्ण ठाउँमा राजनारायण पाठकजस्ता व्यक्तिहरू नियुक्त हुनु आपत्तिजनक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले विभिन्न अपराधमा जेल परेका, प्रहरीको खोजीमा रहेकाहरू सांसद तथा मन्त्री हुनु देशको लागि विडम्बनाको विषय भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी एवम् कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले बुद्ध जयन्ती मनाउनुको अर्थ समाजमा बुद्ध दर्शनबारे प्रचार गर्नु रहेको उल्लेख गर्नुहुँदै समाजको समस्या शान्तिपूर्ण ढङ्गबाट समाधान गर्न बुद्ध दर्शनले महŒवपूर्ण भूमिका खेलेको बताउनुभयो ।

बौद्ध अध्ययन समाजका सचिव चन्द्रबहादुर उलकले बुद्ध धर्म शाक्यहरूको मात्र होइन विश्वका मानव जातिको दर्शन भएको स्पष्ट पार्नुहुँदै बुद्ध दर्शन र बुद्ध धर्मको प्रचारको निम्ति बौद्ध अध्ययन समाज स्थापना भएको बताउनुभयो । उक्त समाज स्थापनाकालदेखि नै ‘अर्हत’ त्रैमासिक नियमित रुपमा प्रकाशन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप इ. कलेजका आ.इ. विश्व शाक्यले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.