वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्ष तथा वागीश्वरी कलेजको ११ औं वार्षिक उत्सवको अवसरमा प्रशिक्षण तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २१ औँ शताब्दीमा प्रतिस्पर्धी हुनसक्ने विद्यार्थी तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

भक्तपुरलाई देशकै शैक्षिक गन्तव्य केन्द्रका रूपमा परीक्षण गरिरहेको बताउँदै उहाँले विद्यार्थीहरूलाई कोर्षमा भए पनि नभए पनि देशको समसामयिक विषयहरूमा शिक्षकहरूले बताउनुपर्छ भन्नुभयो ।

व्यापारी र शिक्षकबीच भिन्नता देखाउँदै उहाँले व्यापारीले पैसालाई महत्व दिन्छ भने शिक्षकले समाज रूपान्तरणको निम्ति आधार तयार गर्ने बताउनुभयो ।

अध्यक्ष रोहितले समसामयिक विषयमा बोल्दै देशका मुख्य पदहरू भीसी, राजदूतहरू सबैमा भागवण्डाको राजनीतिले गर्दा देश बर्बादीतर्फ गइरहेको बताउनुभयो । उहाँले प्रतिपक्ष नै भागवण्डामा पर्दा छायाँ सरकारले गर्नुपर्ने कर्तव्य पूरा गर्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अरूले सोच्दै नसोचेको काम भक्तपुरले गरेको र सामुदायिक विद्यालयमा वागीश्वरी अगाडि बढिरहेको र सिङ्गो समाजलाई शिक्षाले परिवर्तन गर्न खोजेको बताउनुभयो ।

उहाँले सरकारी, सहकारी र निजीक्षेत्र तीन खम्बे नीतिमा विदेशी प्रभाव परेकोले देश सड्ढटमा गइरहेको बताउनुभयो । नेपाल लगानी सम्मेलनमा सरकारले विदेशी लगानी गर्न खोजिएको प्रति सड्ढेत गर्दै उहाँले जति पनि सरकारले विधेयक पारित गर्छ विदेशीको लागि भइरहेको बताउनुभयो । नेपाली लगानीकर्ताका लागि विदेशीलाई जति सेवा सुविधा दिने हो भने धेरै हदसम्म समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।

अतिथि प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले शोषित पीडित जनताका छोराछोरीहरू शासक वर्गमा पु¥याउने नेमकिपाको सोचअनुसार नै वागीश्वरीले काम गरेको बताउनुभयो । उहाँले आमूल परिवर्तन हाम्रो गन्तव्य हो, त्यसलाई पूरा गर्न वागीश्वरी लागिरहेको बताउनुभयो ।

अतिथि प्रदेश नं. ३ का सांसद सृजना सैंजूले विदेशी लगानीले नेपालको प्राकृतिक स्रोत–साधन कब्जा गर्ने स्पष्ट पार्दै उहाँले सरकारले विदेशीको लगानीबाट समृद्धि आउने बाल रहर पालेको छ भन्नुभयो । धमिराले रूखलाई खोक्रो पारेजस्तै भ्रष्टाचारले देशलाई खोक्रो बनाइरहेको दृष्टान्त दिंदै उहाँले ९७ प्रतिशत पूरा भएको मेलम्ची खानेपानी आयोजना बीचमा रोकिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक राजन लाखालगायतले बोल्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालय तथा कलेजमा कार्यरत सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारीहरूलाई धन्यवाद स्वरूप मायाको चिनो प्रदान गर्नुभएको थियो ।