Explore news and happenings at Bhaktapur

चण्डेश्वरी आधारभूत माविको ५९ औं वार्षिकोत्सव

२०७५ चैत १२ गते, मंगलबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थीको वृत्तिविकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

चण्डेश्वरी आधारभूत विद्यालयले ५९ औं वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उद्घाटन समारोहमा बोल्नुहुँदै प्रमुख प्रजापतिले अहिलेको विद्यार्थीहरूमा व्यवहारिक र नैतिक शिक्षाको कमी भएको औंल्याउनुहुँदै नयाँ पुस्तालाई भक्तपुरको इतिहास, संस्कृति, भूगोल तथा सम्पदाहरूको विषयमा जानकारी दिन नगरपालिकाले सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरेको बताउनुभयो ।

योग्य र क्षमतावान विद्यार्थी तयार गर्न विद्यालयहरूले विद्यार्थीको अनुशासन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले देशभक्ति र समाजप्रति उत्तरदायी ढंगले काम गर्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
शिक्षामा भइरहेको व्यापारीकरणले गर्दा सामुदायिक विद्यालयको गुणस्तर झन् खस्किँदै गएको बताउनुहुँदै प्रमुख प्रजापतिले शिक्षण पेशा सेवाभावले गर्नुपर्ने काम भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यालयको शैक्षिक विकासको निम्ति विद्यालय, अभिभावक र विद्यार्थीको संयुक्त सहकार्य आवश्यक भएको बताउनुहुँदै घोकन्ते विद्याले विद्यार्थीको व्यक्तित्व विकास नहुने बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख दिलेश्वर प्रधानले भक्तपुर जिल्लाका सामुदायिक विद्यालयको स्तरोन्नति र पुनःनिर्माणबारे जानकारी दिंदै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउन सम्बन्धित निकायले ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।

चण्डेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक रीता लाखेमरुले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमैया सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगन्नाथ सुजखु, शिक्षासेवी हिमालयश्वरलाल मुल, भवन निर्माण समितिका संयोजक नारायणप्रसाद त्वानाबासुले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख दिलेश्वर प्रधानले हस्तान्तरण गर्नुभएको नवनिर्मित विद्यालय भवनको प्रमाणपत्र नगर प्रमुख सुनिल प्रजापतिले विद्यालयका प्रअ रीता लाखेमरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रजापति तथा अतिथिहरूले विद्यालयका उत्कृष्ट विद्यार्थी तथा अतिरिक्त क्रियाकलापका विजयी छात्रछात्राहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.