भक्तपुरको पर्यटन विकास गरी आर्थिक स्तर बृद्धि गर्नु महोत्सव आयोजनाको उद्देश्य
भक्तपुर महोत्सव २०८१ भव्य रूपमा सम्पन्न भएको ठिक एक वर्ष पूरा भएको अवसरमा भक्तपुर महोत्सव सचिवालयको आयोजनामा महोत्सवबारे एक विशेष छलफल कार्यक्रम मंसिर २८ गते आईतबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले महोत्सव राम्रोसँग सम्पन्न भएकोमा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अथक मेहनत गर्नुहुने सचिवालयका सदस्यहरु लगायत विशिष्ट व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर एवम् प्राचिन शहरको मुर्त तथा अमुर्त कला र संस्कृतिको संरक्षण भएको, ऐतिहासिक सम्पदाहरु जिर्णाेद्धार र पुनःनिर्माण सम्पन्न भइसकेकोले ती सम्पदाहरु प्रदर्शन मार्फत भक्तपुरको पर्यटन विकास गरी यहाँका जनताहरुको आर्थिक स्तर बढाउन नगरपालिकाले महोत्सव आयोजना गर्नु नै मुख्य उद्देश्य रहेको कुरा स्पस्ट पार्नु भयो । भक्तपुर महोत्सवबाट भक्तपुर नगरको राम्रो प्रचार प्रसार हुनु नै हाम्रो लागि फाईदा हो भन्नु भयो । उहाँले नगरको संन्तुलित विकास गर्न पनि विभिन्न समयमा नगरका सबै क्षेत्रहरुमा उत्सव तथा कार्यक्रमहरुको आयोजना गरेको पनि प्रकाश पार्नु भयो । भक्तपुर महोत्सवबाट भक्तपुरको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव प्रभावकारी भएको पनि बताउनु भयो । प्रमुख प्रजापतिले ऐतिहासिक नगर भक्तपुर सानो भएता पनि यहाँको मौलिक कला र संस्कृति जगेर्ना गरि भविष्यमा यहाँको जनताको आयआर्जनको मुख्य श्रोत पर्यटन व्यवसाय नैे बनाउन लागि परेको बताउनु भयो । त्यसका लागि भक्तपुरका पर्यटकीय क्षेत्रहरुमा सवारी साधनमूक्त नगरको रुपमा विकास गर्न प्रयासरत रहेको र यस शहरलाई कसरी पर्यटकीय हिसाबले अझ विशेष बनाउने भन्नेबारे अडिग रहेको पनि बताउनु भयो ।
प्रमुख प्रजापतिले प्रजग कोरिया र क्यूवा भौगोलिक हिसाबले सानो भएर पनि हरेक हिसाबले सक्षम र सार्वभौम रहेको उदाहरण प्रस्तुत गर्दै हामी पनि त्यही बाटो अंगालेर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो । उहाँले पैसाले नभई भावनाले राम्रो काम गर्ने भएकाले यसबारे सबैलाई सचेत पार्नुपर्नेमा पनि जोड दिनु भयो । राज्यले आम्दानी र खर्चको सन्तुलन कायम गर्न नसक्दा राज्य नै असफल हुन्छ । तसर्थ खर्च र आम्दानीको व्यवस्थापन गर्नु राज्यको दायित्व हो । हामीले हरेक काम जनताको भवना अनुसार गर्नुपर्ने र आलोचनादेखि डराउने होइन कमी कमजारीलाई आत्मसात गरि त्यसलाई सच्याउनु पर्ने पनि बताउनु भयो । हामीले फाईदाको लागि भन्दा पनि रोजगारीको अवसर सिर्जना गर्न पनि काम गर्नुपर्ने औंल्याउनु भयो । भक्तपुर नगरपालिकाले भक्तपुर नगरका शैक्षिक क्षेत्रको विकास गर्न ख्वप कलेज समेत सञ्चालन गरि ४५ हजार विद्यार्थीहरुलाई अध्यापन गरि सकेको बताउनु भयो । यसबाट भक्तपुर नगर शिक्षाको केन्द्र रहेको रुपमा विकास भईरहेको प्रष्ट पार्नु भयो । जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरि न्यून शुल्कमा उपचार सेवा दिईरहेको पनि प्रष्ट पार्नु भयो । कोभिडको समयमा जनताको बीचमा गएर जनता कै सहयोगमा अक्सिजन प्लान्ट स्थापना, निःशुल्क आईसोलेसन सञ्चालन गरेको पनि बताउनु भयो ।
महोत्सव सचिवालय संयोजक गौतम प्रसाद लासिवाले भक्तपुर महोत्सवलाई जनताको महोत्सव बनाउने उद्देश्य सफल भएको बताउनु हुँदै भक्तपुर महोत्सव एउटा अध्ययन केन्द्रको रुपमा विकास भएको अतिथि पाहुनाहरुको कथनबारे प्रकाश पार्नुभयो । भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउन नगरभरी नै महोत्सवको विभिन्न गतिविधिहरु प्रदर्शन र सम्पूर्ण जनताहरु सहभागी हुने वातावरण तयार गरेको बताउनु हुँदै भक्तपुर महोत्सव तयारीको क्रममा महोत्सव सचिवालयले महोत्सवलाई सफल पार्न नगरवासी र जनप्रतिनिधिहरुसंग समन्वय गरि कार्य गरेकोे बताउनु भयो । उहाँले भक्तपुर महोतसवबाट भक्तपुरको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा समेत टेवा पुगेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा सचिवालयका सदस्य दामोदर सुवालले भविष्यमा पनि भक्तपुरमा पर्यटन उद्योगलाई विकास गर्न यस्तै महोत्सवहरुको नियमित आयोजना गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्व अध्यक्ष विरेन्द्र जति, रामसुन्दर सुजखु, मुरज दिदिया, बिकास प्रजापति, रामसुन्दर भेले, न्हुज किजु र रिना प्रजापतिले पनि आआफ्नो अनुभव व्यक्त गर्नुभएको थियो । कार्यक्रम सकिएपछि प्रमुख अतिथिबाट विशेष सहयोग पु¥याउनुहुने सबैलाई मायाको चिनो प्रदान गरी कृतज्ञता ज्ञापन गर्नुभयो ।