भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर । २०८२ मंसिर २९
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारणसभा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त, पारदर्शी र इमानदारीपूर्वक जनताको सेवा गर्ने संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको बताउनुभयो ।
आर्थिक कारोबार हुने संस्थामा आर्थिक अनियमितता हुन सक्ने हुँदा सजगकता आपनाएर काम गर्नुपर्ने बताउँदै उहाँले सहकारी संस्थाले सदस्यहरुको बौद्धिक र राजनीतिक स्तर उकास्ने गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाको नीतिहरु कार्यान्वयन गर्ने विषयमा कर्मचारीहरु चनाखो हुनुपर्ने बताउँदै नगरपालिका जनताको समस्या समाधानको लागि सहजीकरण गर्ने संस्था भएको बताउनुभयो ।
समाजवादी देशमा सहकारी संस्थाहरुले बचत तथा कारोबारमा मात्र सीमित नरही उत्पादनमूलक काम पनि गरिरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले सरकारले नै सहकारी संस्थालाई लगानी गर्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
कर्मचारीहरु इमादार भए मात्र संस्था राम्रो हुने बताउँदै उहाँले नयाँ पुस्तालाई देशको समसामयिक राजनीतिक घटनाक्रमबारे सचेत पार्न नसक्दा देशका महत्वपूण सम्पदाहरु क्षणभरमै ध्वस्त भएको बताउनुभयो ।
राजनीतिलाई कमाइ खाने भाडो बनाउँदा र भ्रष्टाचारलाई बढावा दिँदा शासकहरु बद्नाम छन् भन्दै उहाँले देश खरानी पारेर खरानीको व्यापार गर्नेहरुले गर्दा देश आर्थिक र राजनीतिक रुपमा पछाडि पर्दै गएको बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरु बचत तथा ऋणमा मात्र सीमित हुन नहुने बताउँदै नगरपालिकाका गतिविधिहरुबारे कर्मचारीहरु जानकारी र सुसूचित हुनुपर्छ भन्नुभयो ।
उहाँले कर्मचारीहरुले आफूलाई समयसापेक्ष ढंगले योग्य बनाउनतर्फ लाग्नुपर्ने बताउँदै भक्तपुर श्रमिक साकोसले नपाका कर्मचारीहरुको हकहितमा सेवा सुविधा ल्याउनुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाले रसायनिक मल वितरण, आदर निकेतन सञ्चालन, शिक्षा र स्वास्थ्य शिविर, सीपमूलक तालिम, भूगोल अध्ययनजस्ता गतिविधि सञ्चालन गरिरहेको बताउँदै नपाभित्र सञ्चालित सहकारी संस्थाको कडा अनुगमनमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरुले आर्थिक लाभको लागि मात्र काम ग¥यो भने सामुहिक र संस्थागत हितमा काम गर्नेहरुको कमी हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका अध्यक्ष राजकुमार लघुले संघअन्तर्गत रहेका २०३ वटा सहकारीहरुलाई अझ राम्रो बनाउन सक्दो प्रयास गरिरहेको बताउँदै सहकारी संस्थाबाट लिएको ऋणको उचित सदुपयोग भएको छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष दिलकृष्ण माकले जनप्रतिनिधिमूलक स्थानीय तह र सो अन्तर्गतका कर्मचारीहरुको सामूहिक प्रयासबाट सञ्चालित भक्तपुर श्रमिक साकोसले न्युन आयस्रोत भएका कर्मचारी सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष पुन्यराम लाखा र संस्थाका व्यवस्थापक रामसुन्दर सुजखुले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रस्तुत लेखा सुपरिवेक्षण समितिका संयोजक दिव्यलक्ष्मी बज्राचार्यले लेखा सुपरिवेक्षण समितिको तर्फबाट आ.व. २०८१।८२ को प्रतिवेदन, सचिव दिलिपकुमार सुवालले आ.व. २०८१।८२ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष भरत अवालले आय व्यय विवरण तथा लेखा परीक्षक एस एण्ड एम एसोसिएसट्सले लेखा परीक्षण गरी दिएको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८२।८३ को बजेट तथा भावी कार्यक्रम साधारणसभाबाट सर्वसम्मतिमा पारित भयो ।
