Explore news and happenings at Bhaktapur

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप इन्जिनियरिङ कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन

भक्तपुर । २०८२ मंसिर २६

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले कलेजमा कार्यरत प्राध्यापक र कर्मचारीको मेहेनत र कर्तव्यबोधले गर्दा ख्वपको छुट्टै पहिचान कायम भएको बताउनुभयो ।
सशस्त्र क्रान्ति र जनमतले मात्र देशमा आमूल परिवर्तन सम्भव हुने बताउँदै उहाँले शासकहरुको सामन्तवादी सोचकै कारण ख्वप विश्वविद्यालयले सम्बन्धन नपाएको बताउनुभयो ।
जेनजी आन्दोलनको नाममा देशमा प्रत्यक्ष रुपमा वैदेशिक हस्तक्षेप भएको बताउँदै उहाँले एनजीओ आइएनजीओले विनास्वार्थ कुनै पनि देशमा सहयोग गर्दैन भन्नुभयो ।
देशको राजनीतिक कतातिर गएको छ भन्ने कुरा अझै अन्योल नै रहेको बताउँदै उहाँले शिक्षक, कर्मचारी, बौद्धिक व्यक्तित्वहरुमा देश र जनताको निःस्वार्थ सेवा गर्ने भावना हुनुपर्छ भन्नुभयो ।
महिलाहरुलाई रोगको जोखिम तुलनात्मक रुपमा धेरै छ भन्दै उहाँले सरकारले गाउँ गाउँमा क्यान्सर परीक्षणका शिविरहरु सञ्चालन गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न शैक्षिक संस्थाहरु स्थापना गरेको बताउनुभयो ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि अविचलित भई अगाडि बढेकै कारण आज भक्तपुर शैक्षिक र ज्ञानविज्ञानको केन्द्र बन्न सकेको बताउँदै उहाँले नेमकिपाको दूरदर्शी सोचले भक्तपुर निर्माणको आधार तय भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण गरिसक्दा पनि शासकहरुको पक्षपातपूर्ण व्यवहारले गर्दा सम्बन्धन नपाएको बताउँदै ख्वप विश्वविद्यालयलाई छुट्टै विशेषताका साथ सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले ख्वप सर्कलले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै व्यवहारिक र सामाजिक उत्तरदायित्वका विषयमा पनि प्रशिक्षित गर्दै आएको बताउनुभयो ।
ख्वप सर्कलले विश्वविद्यालयको स्तरमा उच्च शिक्षा पठनपाठन गर्दै आएको बताउँदै उहाँले शासक दलको संकीर्णताकै कारण ख्वप विश्वविद्यालय सम्बन्धनमा ढिलाइ भइरहेको बताउनुभयो ।
उहाँले राज्यको महत्वपूर्ण सम्पदा र धरोहर जल्दा पनि मौन बस्ने बौद्धिक जमातले गर्दा देश क्षणभरमै ध्वस्त हुन पुगेको बताउनुभयो ।
यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका सांस्कृतिक र शैक्षिक रुपमा अगाडि बढेको नगर हो भन्दै उहाँले ख्वप इ. कलेजले विद्यार्थीहरुलाई यहाँको कला संस्कृतिको महत्व र पुनःनिर्माणबारे अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कलेजको वार्षिकोत्सवको उतरोत्तर प्रगतिको कामना गर्दै नपाबाट सञ्चालित कलेजहरुले भक्तपुर नगरपालिकाकै पहिचान बढाउने काम गरेको बताउनुभयो ।
उहाँले ख्वप सर्कल नगरपालिकाको सफलताको मानक बनेको बताउँदै कलेजले अध्ययन अनुसन्धानलाई शिक्षा विकासको मुख्य आधार बनाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
ख्वप कलेज अफ इ. का उपप्राचार्य इ. रत्नशोभा प्रजापति र कर्मचारी राजन जतिले पनि बोल्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले कर्मचारी, प्राध्यापकहरुलाई सम्मान पत्र तथा वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.