Explore news and happenings at Bhaktapur

सहकारी अध्ययन समाजको आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

भक्तपुर । २०८२ असोज ३१

0
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी सञ्चालकहरुले सहकारी सदस्यहरुको संख्यालाई भन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै अधिकांश सहकारीहरु नाफामा केन्द्रित हुँदा उत्पादनमूलक गतिविधिहरु कम हुँदै गएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरुसँग विभिन्न विषयमा सहकार्य गर्दै भक्तपुरलाई उदाहरणीय नगरको रुपमा विकास गर्न प्रयत्नरत रहेको बताउँदै सहकारी संस्थाहरुलाई सैद्धान्तिक र वैचारिक रुपमाले सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रमुख प्रजापतिले चीनको प्रत्येक सहकारी सदस्यमा चीनको राष्ट्रिय एकताको भावना रहेको पाइएको छ भन्दै उहाँले सहकारी संस्थामा आर्थिक पारदर्शितामा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो ।
समाजवादी व्यवस्था निःस्वार्थ रुपले जनताको सेवासँग सम्बन्धित रहेको र पुँजीवादी व्यवस्था केबल नाफालाई जोड दिने व्यवस्था भएको हुँदा नेपालमा पनि समाजवादी व्यवस्था स्थापनाले मात्र गरिब जनताको हकहित सुरक्षित हुने विचार राख्नुभयो ।
प्रमुख प्रजापतिले जेनजी आन्दोलनले देशलाई असहज परिस्थितितर्फ दोर्याइरहेको बताउँदै विदेशी संस्थाबाट सञ्चालिन एनजीओ आइएनजीओहरुले नेपाललाई आर्थिक परनिर्भरतातर्फ धकेलिरहेको स्पष्ट पानुभयो ।
वर्तमान सरकार संविधानअनुसार बनेको सरकार होइन भन्दै उहाँले संविधान जीवत छ या मृत अवस्थामा छ भन्ने अन्योल उत्पन्न भइरहेको बताउनुभयो । प्रमुख प्रजापतिले निर्वाचनलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै अबको निर्वाचनमा भ्रष्टाचारीहरुलाई जित्न नदिन देशभक्त जनताहरु एकजुट हुुनपर्ने बताउनुभयो ।
सहकारी समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाजुले नेमकिपाको पेशागत संगठन सहकारी अध्ययन समाजले सहकारी संस्थाहरुलाई आफ्नो हक अधिकारबारे सुसुचित पार्ने कार्य गर्दै आएको बताउँदै सामाजिक र आर्थिक विकासमा टेवा पुर्याइरहेका सहकारी क्षेत्रमा हाल गलत प्रवृत्तिका व्यक्तित्वहरुले प्रवेश पाइरहेको बताउनुभयो । उहाँले पारदर्शिता र इमानदारिता सहकारी सिद्धान्त र मूल्यमान्यताको महत्वपूर्ण विषय हो भन्दै सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रहरुमा आफ्नो लगानी बढाउन नसक्दा बचतमा जम्मा भएका रकमहरुको सही सदुपयोग हुन नसकिरहेको बताउनुभयो ।
त्यस्तै समाजका सदस्य राधेश्याम सुवालले सहकारी संस्थाहरुलाई लगानी गर्ने क्षेत्रहरुको पहिचानमा समस्या भइरहेको बताउँदै सहकारीमा देखिएका विकृति विसंगतिहरुबाट समुदायमा आधारित सहकारीहरु सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका सदस्य महेन्द्र बखुन्छेँले पनि बोल्नुभएको थियो भने कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुले देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना जिज्ञासाहरु राखेका थिए ।

Leave A Reply

Your email address will not be published.