घरदैलो नर्सिङ सेवा र विद्यालय नर्स सेवाको मासिक बैठक सम्पन्न
भक्तपुर । २०८२ असोज ७ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकाद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवा र विद्यालय नर्सको भदौको मासिक समीक्षा बैठक आज सम्पन्न भयो ।
बैठकमा बोल्दै प्रमुख प्रजापतिले नर्सिङ पेशा विशुद्ध सेवासँग सम्बन्धित सम्मानित पेशा भएको बताउँदै नर्सले बिरामीसँग गर्ने असल व्यवहारले बिरामीहरुको मनोबल बढ्ने हुँदा आफ्नो पेशामा दत्तचित्त भएर काम गर्न प्रेरित गर्नुभयो ।
नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवा व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले भक्तपुरलाई सभ्य र सुसंस्कृत बर्ना यहाँका नागरिकलाई स्वस्थ बनाउने हेतुले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले देशको राजनीतिक व्यवस्था राम्रो भए मात्र जनताको जीवन सहज हुने बताउँदै नर्सहरुले आफ्नो पेशासँगसँगै देशको राजनीतिक र समसामयिक विषयमा पनि चासो राखेर अगाडि बढनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङ कलेजले धेरै नर्सहरु उत्पादन गरिसकेको बताउँदै उहाँले घरदैलो नर्सिङ सेवा व्यापक जनताको हित र सेवाको निम्ति सञ्चालन गरिएको कार्यक्रम भएको प्रष्ट पार्नुभयो ।
घरदैलो नर्सहरुले वडासँग समन्वय गरी काम गर्न मार्गनिर्देश गर्दै उहाँले नर्सहरुले जनताको भावनाअनुसार असल व्यवहारका साथ आफ्नो कर्तव्य निर्वाह गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
बैठकमा शारदा मावि, बासु मावि र ख्वप माविका विद्यालय नर्सहरुले आफ्नो मासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त बैठकमा भक्तपुर नपा स्वास्थ्य शाखा संयोजक डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।







