Explore news and happenings at Bhaktapur

१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ सम्पन्न

भक्तपुर । २०७९ मंसिर १९, सोमबार

0
“महिला सामुदायिक स्वयम्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता” नाराका साथ भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ सोमबार सम्पन्न भयो ।
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका विभिन्न वडामा खटिरहेका उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाहरू समाजको सेवा गर्ने सामाजिक कार्यकर्ताको रुपमा परिचालन हुनुपर्ने बताउनुहुँदै स्वयम्सेविकाहरूले समुदायसँग शिष्ट र सम्मानजनक बोलीमा जनतासँग व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
‘जनताको आँखा दुरबिनसरह’ भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगहरूसम्बन्धी स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै सामाजिक कार्यकर्ताहरू राजनीतिक कार्यकर्ताको रुपमा रुपान्तरित हुने बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले ‘शिक्षा र स्वास्थ्यलाई एक सिक्काको दुई पाटा’ को रुपमा अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाको काम सम्मानजनक रहेको उल्लेख गर्नुहुँदै समाज र समुदायलाई सचेत बनाउने काम स्वयम्सेविकाहरूमार्फत नै भइरहेको बताउनुभयो ।
त्यस्तै वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले नगरमा स्वास्थ्य स्वास्थ्यस्वयम्सेविका परिचालनले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत अतिथि कृष्ण गिरी र स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले पनि स्वास्थ्य स्वयम्सेविकाको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा भनपा वडा नं. ६ का महिला स्वास्थ्य स्वयमसेविका मन्जु कुम्पाख र ख्वप अस्पतालका कमलकेशरी राजचलले पनि बोल्नुभएको थियो ।
सोही क्रममा प्रमुख अतिथि प्रजापतिले उत्कृष्ट ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई पुरस्कार तथा प्रशंसा–पत्र वितरण गर्नुभयो ।
आज सम्मानित हुनेमा भक्तपुर नपा वडा नं. १० का रामलक्ष्मी दुवाल पहिलो, भनपा ५ का सजना कवां दोस्रो र भनपा १ का शिवलक्ष्मी दुवाल तेस्रो स्थान प्राप्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.