Explore news and happenings at Bhaktapur

ख्वप माविमा शिक्षक कर्मचारी भेला

२०८२ साउन ७, बुधबार

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविको आयोजनामा कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाप्रति विद्यार्थी र अभिभावकको विश्वास विद्यार्थीको अनुशासनले गर्दा कायम भएको हो भन्दै जस्तो विद्यार्थी भर्ना हुन आए पनि उनीहरुलाई योग्य बनाउने जिम्मेवारी शिक्षकको हो भन्नुभयो ।
एसईईपछि कलेजमा भर्ना हुने विद्यार्थी संख्या धेरै भए पनि बीचमै पढाई छोड्ने र विदेशिने संस्कृतिको विकास भइरहेको बताउँदै उहाँले नयाँ पुस्ताले आफ्नो देशलाई कम र विदेशलाई बढी बुझ्न खोजिरहेका छन् भन्नुभयो ।
शिक्षाको मोडालिटी पुरानो हुनु नेपालको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको बताउँदै उहाँले मुलुकको सर्वाङ्गीण विकासको मूल आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच स्थापित गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा भक्तपुर नगरपालिकाका ९० प्रतिशत विद्यार्थी ग्रेडेड अथवा उत्तीर्ण हुन सफल भएको बताउँदै उहाँले आगामी वर्षहरुमा अझ उत्तीर्ण प्रतिशत वृद्धि गर्न विद्यालयहरुले मेहेनत गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रमा भर्ना हुन आएका विद्यार्थी र अभिभावकहरुमा उत्साह देखिएको बताउँदै शिक्षण सिकाइको गतिविधिलाई समयसापेक्ष ढंगले परिमार्जन गर्दै लानुपर्ने बताउनुभयो ।
शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभई सिक्न पनि अभिप्रेरित गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीलाई केही आउँदैन, शिक्षकले नै सबै सिकाउने हो भन्ने भ्रमबाट शिक्षकहरु सजग हुनुपर्ने बताउनुभयो ।
ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले शैक्षिक प्रणालीमा गुणस्तर कायम गर्न शिक्षक कर्मचारीहरु संवेदनशील हुनुपर्ने बताउँदै नयाँ पुस्ताका विद्यार्थीहरुलाई अध्ययन अध्यापनको लागि आधुनिक रणनीति आवश्यक हुने बताउनुभयो । शिक्षकहरुमा समयअनुसारको शिक्षा प्रदान गर्न सक्षम हुनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले देशभरिका विद्यार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्ने उद्देश्य लिएर ख्वपमा भर्ना हुन आएको हुँदा विद्यार्थीहरुको रुचि र आवश्यकताअनुसारको शिक्षा प्रदान गर्नमा शिक्षकहरु चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्रभावकारी बनाउन ख्वप एप सञ्चालनमा ल्याएको अवगत गराउँदै विद्यार्थीको व्यक्तिगत निगरानीको लागि मनोपरामर्श शाखा पनि कलेजमा विस्तार गर्दै लगिने बताउनुभयो ।
कार्यक्रममा ख्वप माविका उपप्राचार्य विष्णुप्रसाद किसीले २०८२ मा कक्षा ११ मा हालसम्म ६७ जिल्लाका १८२२ जना विद्यार्थी भर्ना हुन आएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
   

Leave A Reply

Your email address will not be published.