Explore news and happenings at Bhaktapur

‘सम्पदाको मौलिकता संरक्षणको लागि संस्कृति मन्त्रालय, पुरातत्व विभाग र स्थानीय तह एक भएर लाग्नु आवश्यक छ’

सुनिल प्रजापति, प्रमुख — भक्तपुर नगरपालिका

0
‘२०७२ सालको भूकम्प पश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन’ विषयक अन्तराष्ट्रिय वैज्ञानिक समिति (काठमाडांै उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।
नेपालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्प आज १० वर्ष पुरा भयो । २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट प्रभावित १४ वटा प्रमुख जिल्लाहरूमध्ये भक्तपुर पनि एक हो । भूकम्पको कारण भक्तपुरका धेरै नागरिकहरुको ज्यान जानुका साथै यहाँ झण्डै आठ हजार निजी घरहरुमा आँशिक र पूर्ण क्षति पुगेको थियो । यहाँका प्रसिद्ध पाँचतले मन्दिर, भैरवनाथको मन्दिर, वत्सला मन्दिरलगायत १३० वटा भन्दा बढी सम्पदाहरूमा पूर्ण र आंशिक क्षति पुगेको थियो । त्यतिबेला साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माण गरी भक्तपुरलाई पुरानै अबस्थामा पु¥याउनु हामी सबैको लागि ठूलो चुनौती थियो ।
सांस्कृतिक नगर, नाचगानको राजधानी र जीवित संग्रहालयको रुपमा परिचित भक्तपुरका सांस्कृतिक धरोहरहरू पुनःनिर्माण र जीर्णोद्धारमा सारा भक्तपुरबासीहरू एकजुट भएर लाग्दै छौं । ‘पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिको नारालाई मूर्त रुप दिन पहल गरिरहेका छौं । सम्पदा पुनःनिर्माण र जिर्णोद्घार स्थानीय उपभोक्ता समितिमार्फत गर्नमा जोड दिंदै छौं ।
सम्पदा पुनःनिर्माणको काम ठेक्कामार्फत गराइएमा सम्पदाको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वमा असर पर्नेबारे हामी सचेत छौं । ठेकेदारले सम्पदाको मौलिकताभन्दा नाफालाई बढी प्राथमिकतामा राख्छन् । यसले सम्पदाको गुणस्तरीयतामा प्रश्न उठिरहेको छ । सम्पदाको मौलिकता जोगाउन, गुणस्तरीय निर्माण गर्न र कम लागतमा छिटो छरितो निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समिति नै राम्रो र भरपर्दो विकल्प भएको हाम्रो अनुभव छ ।
भूकम्प पछि भक्तपुरको पुनःनिर्माणको लागि जर्मनी सरकार केएफडब्लुमार्फत सहयोग गर्न तयार थियो । भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि १ करोड युरो (१ अर्ब २० करोड रुपैञा)सहयोग गर्ने सम्बन्धी नेपाल सरकार र जर्मनी सरकारबीच सम्झौता पनि भयो । तर हामी आफ्नै प्राविधिक जनशक्ति, स्थानीय श्रोत र साधनहरुको अधिकतम प्रयोग गरी पुनःनिर्माण गराउन चाहन्थ्यौं । विभिन्न प्राविधिक कारणले गर्दा त्यो सहयोग स्वीकार गर्न सकिएन । यद्यपि भक्तपुर नगरपालिकाले विदेशीको सहयोगविना नै हालसम्म ४ वटा मठ, ४६ वटा मन्दिर, ६२ वटा पाटी, १४ वटा द्योछें, ४ वटा प्रबेशद्घार, १८ वटा पोखरी ९ वटा इनार, ९ वटा सत्तल, ९ ढुँगेधारा र अन्य १५ वटा समेत गरी १९० वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण सम्पन्न गरी सकेको छ भने दर्जनौ सम्पदाहरु अहिले निर्माणाधीन अवस्थामा छन् । केही प्राविधिक समस्या परेकाबाहेक अधिकाँश निजी घरहरुको पुनःनिर्माण कार्य पनि सम्पन्न भएको छ ।
जनस्तरबाट सम्पदा पुनःनिर्माण हुँदा उल्लेख्य आर्थिक सहयोग, जिन्सी र श्रमदान पनि प्राप्त हुने गरेको छ । एउटै सम्पदा पुनःनिर्माणको लागि पनि लाखौं मात्र होइन अझ एक करोडभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको उदाहरण पनि हामीसँग छ । ङातापोल्हँ जीर्णोद्धारको क्रममा ४,२०० भन्दा बढी जनताले श्रमदान गरे, १५।१६ लाख आर्थिक सहयोग र त्यतिकै जिन्सी सहयोग प्राप्त भएको थियो भने वाकुपति चाँगुनारायण मन्दिरमा सुनको जलप लगाउने कार्यमा १ करोडभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको थियो । प्राय सबै जसो सम्पदा पुनःनिर्माणमा जनताको उल्लेख्य सहयोग प्राप्त हुँदै आएको छ । यसलाई जनताले सम्पदाप्रतिको अपनत्व ग्रहण गरेको अर्थमा हामीले बुझेका छौं । हरेक सम्पदा पुनःनिर्माणमा पारदर्शितालाई ध्यान दिएका छौं ।
प्रसिद्ध थन्थु दरबार, छुमा गणेश द्यो छेँलगायतका सम्पदाहरू माटो जोडाइबाटै पुनःनिर्माण भइरहेका छन् भने लक्ष्मीनरसिंह मन्दिर हालै पुनःनिर्माण सम्पन्न भएको छ ।
पुरातात्विक महत्वलाई बचाइराख्न विवादित घरहरू नपाले नै पुरानै शैलीमा निर्माण गरी लागत घरधनीबाट असुल गर्ने नीतिअनुसार भक्तपुर नपाले काम गरिरहेको छ । त्यसैगरी यहाँको मौलिकता बचाइराख्न मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई अनुदानको व्यवस्था गर्दै आएका छौं ।
मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा योगदान गर्ने अग्रज सांस्कृतिक गुरुहरूको सम्मान, भक्तपुरको कला संस्कृति र इतिहाससम्बन्धी गोष्ठी, भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा नियमित रुपमा भूकम्पसम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरुको आयोजना पनि गर्दै आएका छौं ।
भक्तपुरको मौलिकता बचाइराख्न पुरानो शहरको सिमाड्ढन गरी यहाँको घरजग्गा स्थानीय जनताबीच मात्रै किनबेच गर्न सकिने नीति निर्माण ग¥यौं तर सर्वोच्च अदालतको रोकपछि हामी त्यसबाट पछि हट्नु पर्यो । विश्व सम्पदाहरूको संरक्षण गर्ने हो भने राज्यले नै संरक्षणको लागि विशेष कानुन निर्माण गर्नु आवश्यक छ ।
भक्तपुरको अत्यन्त महत्वपूर्ण जगन्नाथ क्षेत्र, ९९ चोक, साकोठालगायत पुरातात्विक महत्वका बिषयहरुमा उत्खनन् गर्नुपर्ने आवश्यकता छ । पुरातत्व विभागले त्यस्ता ठाउँहरूलाई प्राथमिकतामा राखेर उत्खनन्मा ध्यान दिने अपेक्षा गर्द छौं ।
भक्तपुर दरबार क्षेत्रमा अवस्थित कला संग्रहालय रहेको न्ह्यकं झ्या दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने संस्कृति मन्त्रालय, भक्तपुर नगरपालिका र पुरातत्व विभागबीच सहमति भइसकेको थियो । तर युनेस्कोको अनुमति लिनुपर्ने भन्ने बिषयले त्यो काम अगाडि बढ्न सकेन । यस्ता काममा मन्त्रालयले सहजीकरण गरी दिएको भए राम्रो हुने थियो ।
गुठी संस्थानको भवन ३५ फिट मात्रै उचाइ राखेर पुरानो स्वरुप नै समाप्त हुने गरी पुरातत्वले नक्सा स्वीकृति ग¥यो । नगरपालिका स्वयम्ले त्यसको पहल गरेर पुरातत्व विभागसम्म पुगेर पुरानै शैलीमा निर्माणको लागि नक्सा स्वीकृति ग¥यो ।
भक्तपुर पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै छ । नेपाल आउने विदेशी पर्यटकहरुमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याड्ढ छ । गएको आ.ब. मा सार्क र गैरसार्क मुलुकका गरी जम्मा २ लाख ४६ हजारभन्दा बढी पर्यटकहरुले भक्तपुर भ्रमण गरेका थिए भने चालु आ.ब. को बितेको ९ महिनामा सार्क र चीनका गरी ८१,८४४ र गैर सार्क देशका १,०३,७०४ गरी १ लाख ८५ हजार ५४८ जनाले भक्तपुर भ्रमण गरिसकेका छन् । हाम्रो सम्पदाको महत्व अझ बढ्दै गएको छ । हाम्रो सम्पदा संरक्षणले देशको पर्यटन उद्योगलाई थप टेवा पु¥याउने विश्वास छ ।
अन्त्यमा, सम्पदाको मौलिकता संरक्षणको लागि संस्कृति मन्त्रालय, पुरातत्व विभाग र स्थानीय तह एक भएर लाग्नु आवश्यक छ । भूकम्प पछिको पुनःनिर्माणसँगै भूकम्प पूर्व तयारी गर्नु पनि उतिकै आवश्यक छ । ‘२०७२ सालको भूकम्प पश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन’ बिषयमा अन्तराष्ट्रिय वैज्ञानिक समिति (काठमाण्डौ उपत्यका विश्व सम्पदा क्षेत्र) तेस्रो वार्षिक बैठकको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।
(भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन, अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.