Explore news and happenings at Bhaktapur

समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम

भक्तपुर, २०७५ पौष ३ गते म‌ंगलबार ।

0

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर नगर समितिको आयोजनामा मंगलबार समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने अभियानका साथ अगाडि बढिरहेको र विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैमा नभएको बताउनुभयो ।


प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सामुदायिक र निजी विद्यालयलाई समान रुपमा हेरेको र भक्तपुर नगरको शैक्षिक स्तर वृद्धिमा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिनुपर्छ भने पनि व्यवहारिक रुपमा त्यो सफल हुन नसकेको बताउँदै उहाँले शिक्षामा अगाडि बढेको देश सबै क्षेत्रमा अग्रसर हुने बताउनुभयो ।मुहान सफा भए त्यसबाट बग्ने पानी पनि सफा हुने बताउँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले विश्वविद्यालय सञ्चालनको स्वीकृति पाएमा देशकै नमुना विश्वविद्यालय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय निकायलाई विद्यालय सञ्चालनको अधिकार दिनुपर्ने माग राख्दै प्रमुख प्रजापतिले संविधानले दिएको अधिकार जनताको हकहितको निम्ति प्रयोग हुनेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाको अनुमतिविना एनजीओ/आईएनजीओमार्फत कुनै पनि सहयोग र काम–कारबाही नगर्न आग्रह गर्दै प्रमुख प्रजापतिले निजी विद्यालयहरु पनि नगरपालिकासँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकाइका प्रमुख हरिप्रसाद दाहालले भक्तपुर नपा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट नपा भएको र शिक्षाको गुणस्तर वृद्धिको निम्ति विभिन्न तालिमहरुको आवश्यकता औंल्याउनुभयो ।

प्याब्सनका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन जिल्ला कार्य समितिका अध्यक्ष श्रीकृष्ण केसी, भक्त राजभण्डारी, सल्लाहकार महेन्द्रप्रसाद मास्केलगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.