Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापति र राप्ती नपाका प्रमुख शमशेर लामाबीच भेट

२०८१ पुस २५

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चितवनको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो ।
प्रमुख प्रजापतिले प्रमुख लामासहितको टोलीलाई खादा र भादगाउँले टोपीले स्वागत गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई उत्पादन श्रमसँग मिलाई दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप कलेज अफ ल सहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरु समेतलाई समेतेर कला, संस्कृति, विज्ञान, अर्थशास्त्र, प्रविधि, चिकित्साशास्त्र, शिक्षा, व्यवसायिक विषय तथा अन्य विषयमा समेत अध्ययन अध्यापन गर्न ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
शैक्षिक क्षेत्रमा सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बढिरहेको बताउँदै उहाँले नेपालमा प्राविधिक शिक्षा मात्रै नभई अन्य धेरै विषयहरु अध्यापन हुने कलेजहरु बन्द हुने क्रम जारी रहेको बताउनुभयो ।
सोही क्रममा राप्ती नपाका प्रमुख शमशेर लामाले भक्तपुरको कार्यशैलीबाट आफूहरु निकै प्रभावित भएको बताउँदै भक्तपुरको सिकाइ उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो ।
राप्ती नपाले पनि स्नातक र स्नातकोत्तर तहको कलेज सञ्चालन गर्न लागेको र सोको लागि भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजको विधान र सञ्चालन प्रक्रियाबारे जानकारी लिने उद्देश्यले भक्तपुर भ्रमणमा आएको बताउँदै उहाँले राप्ती नपा कृषिमा धेरै सम्भावना भएको नपा रहेको बताउनुभयो ।
प्रमुख प्रजापतले प्रमुख लामालाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने टोलीले नपाबाट सञ्चालित शैक्षिक संस्था र अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.