Explore news and happenings at Bhaktapur

“भक्तपुर महोत्सव एक खुला विश्वविद्यालयको रूपमा रहनेछ”

मंसिर ३०, २०८१

0
सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुरमा आजबाट पुस २ गते (पाँच दिन) सम्म भक्तपुर महोत्सव हुँदै छ । महोत्सवलाई भव्यरूपमा सफल पार्न कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण भक्तपुरवासी तथा स्वदेशी र विदेशी मित्रहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्दछौँ ।
भक्तपुर कला र संस्कृतिको केन्द्रको रूपमा विकास हुँदै छ । यहाँ लिच्छविकालीन र मल्लकालीन असङ्ख्य मूर्त तथा अमूर्त सम्पदाहरू जीवन्त देख्न पाइन्छ । दरबार क्षेत्रमा अवस्थित ५५ झ्याल दरबार र सुनढोका, टौमढीस्थित ३२० वर्षभन्दा पहिले निर्मित ङातापोल्हँ (पाँचतले मन्दिर) र भैरवनाथको मन्दिर तथा दतात्रयमा रहेको दत्तात्रय मन्दिर काष्ठकला, धातु कला र प्रस्तर कलाका अनुपम उदाहरणहरू हुन् । टोल–टोलमा रहेका दाफा भजन, परम्परागत नाचगानहरूले भक्तपुरलाई सांस्कृतिकरूपमा अति सम्पन्न बनाएका छन् । भक्तपुरमा रहेका यी नै सम्पदाहरूको उच्च मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले दरबार क्षेत्र र टौमढी क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको थियो भने बजार क्षेत्रलाई सम्पदामा राखिएको थियो ।
भक्तपुरको मौलिकतालाई जोगाइराख्न भक्तपुर नगरपालिकाले प्राचीन सहरभित्र परम्परागत शैलीमा घर बनाउनेहरूलाई अनुदानको व्यवस्था, परम्परागत घर निर्माण गर्ने डकर्मी र सिकर्मीहरूको तालिम तथा सम्पदाको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न स्थानीय पाठ्क्रमको व्यवस्था गर्दै आएको छ । हाम्रो भाषा र संस्कृति नै हाम्रो पहिचान हो । भाषा र संस्कृति नरहे हाम्रो पहिचान गुम्न सक्छ । यसबारे नगरपालिका अत्यन्त सचेत छ । सम्पदाहरूको मौलिकतालाई बचाइराख्नु हामी भक्तपुरवासीहरू सबैको साझा कर्तव्य र जिम्मेवारी हो ।
२०७२ को भूकम्पले भक्तपुरका हजारौँ घरका साथै सयौँ सम्पदाहरूमा क्षति पु¥यायो । हाम्रा पुर्खाहरूले निर्माण गर्नुभएका ती क्षतिग्रस्त अधिकांश सम्पदाहरू विदेशीको कुनै सहयोग नलिई पुरानै शैलीमा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेका छौँ । अझै थंथु दरबार, इखालाछी मठजस्ता केही महत्वपूर्ण सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्यमा स्थानीय स्रोत, साधन र प्रविधिको अधिकतम प्रयोग गरेका छौँ ।
आर्थिक अनुशासन, पारदर्शिता र इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले भक्तपुर नगरपालिकाका हामी जनप्रतिनिधिहरू क्रियाशील छौँ । शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, सम्पदा पुनःनिर्माण र जीर्णोद्धार तथा विकास निर्माणका कार्यहरूसमेत जनतामा केन्द्रित गरेर गर्दै आएका छौँ । इमानदार राजनैतिक नेतृत्व, जनप्रतिनिधि, स्थानीय जनता र कर्मचारीहरूको मजबुत एकता भए भन्ने छिटो परिवर्तन सम्भव छ भन्ने भक्तपुर एक उदाहरण हुनसक्छ ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नेतर्फ हाम्रो ध्यानकेन्द्रित छ । अहिले बर्सेनि लाखौँको सङ्ख्यामा विदेशी पर्यटकहरू भक्तपुर आउने गरेका छन् भने आन्तरिक पर्यटकहरू पनि दिनानुदिन वृद्धि भइरहेका छन् । नेपाल आउने विदेशी पर्यटकहरूमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ । भक्तपुर महोत्सव स्वदेशी र विदेशी पर्यटकहरूको प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार बन्ने हाम्रो अपेक्षा हो ।
भक्तपुर महोत्सवकै क्रममा खुला बाँसुरी बाजा प्रतियोगिता पनि हुनेछ । देशका विभिन्न जिल्लाका ४७ वटा बाँसुरी बाजा समूहले भाग लिएको उक्त प्रतियोगिता महोत्सवको एक महत्वपूर्ण आकर्षण हुनेछ ।
भक्तपुर नगरपालिकाले यस महोत्सवमा नगरका १० वटै वडा समेटिने गरी ३२ ठाउँमा महत्वपूर्ण गतिविधिहरू गर्ने स्थल तोकेको छ । टोल टोलमा भजन गायन, हलिमली प्रदर्शनी, परम्परागत जात्रा, भेषभूषा र खेलकुद प्रदर्शनी हुनेछ भने भक्तपुरका मौलिक उत्पादन जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, हाकुपटासी, परम्परागत खाना, पुस्तक प्रदर्शनी, बालमैत्री प्रदर्शनीजस्ता गतिविधिहरू पनि हुनेछन् । नेवार समुदायको संस्कार र चाल चलन, कला प्रदर्शनी, चित्रकला प्रदर्शनी पनि हुनेछन् भने ठाउँ ठाउँमा दीपङ्कर प्रदर्शनी, परम्परागत चिउरा कुट्ने, कपडा बुन्ने प्रदर्शन, माटाका भाँडा बनाउने प्रदर्शनी, पुस्तक प्रदर्शनी, सहकारी उत्पादनका प्रदर्शनीका साथै ठाउँ ठाउँमा नाचगान भइरहने छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप कलेजहरूलगायतका शैक्षिक संस्थाहरूमा शैक्षिक प्रदर्शनी हुनेछ । यस अवधिमा पूरै नगर महोत्सवमय हुनेछ । महोत्सव अवलोकन गर्नेहरूले भक्तपुरको मौलिकता प्रस्टैसँग देख्न पाउने छन् ।
विद्यार्थी, शिक्षक, प्राध्यापक तथा सर्वसाधारण जनताको लागि समेत भक्तपुर महोत्सव सिक्ने ठाउँ हुनेछ । साँचो अर्थमा भक्तपुर महोत्सव अवधिभर भक्तपुर एक खुला विश्वविद्यालयको रूपमा रहने हाम्रो विश्वास छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सव भक्तपुरका जनताको साझा महोत्सव हो । यसलाई सफल पार्नु पनि हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो । आत्मनिर्भरतालाई जोड दिँंदै काम गरिरहेको भक्तपुर नगरपालिकालाई अगाडि बढ्न निरन्तर साथ र सहयोग गर्ने यहाँका हजारौँ सहयोगी हातहरू नै हाम्रो काम गर्ने ऊर्जाका स्रोतहरू हुन् ।
एक घर एक स्नातक घोषणा गरेर भक्तपुरको शैक्षिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुहुने र सय वर्षपछिको पुस्तक लेखेर भक्तपुरको भविष्यको रूपरेखा कोर्नुहुने तथा निरन्तर भक्तपुरको विकासको निम्ति सल्लाह र सुझावहरू दिएर हामीलाई सधैँ निःस्वार्थरूपले जनताको सेवा गर्न उत्साह दिइरहनुहुने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
भक्तपुरको गौरव बढाउने कार्यमा सधैँ साथ र सहयोग गर्ने भक्तपुरका इमानदार श्रमजीवी जनताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, सफा नगर, सम्पदा संरक्षित नगर बनाउन निरन्तर प्रयास गर्ने यहाँका अग्रजहरूप्रति पनि उच्च सम्मान व्यक्त गर्दछौँ । पाँच दिनसम्म चल्ने भक्तपुर महोत्सव अवलोकन गरेर हाम्रा कमी कमजोरीलाई रचनात्मक आलोचना गरी सहयोग गर्नुहुन पनि सम्पूर्णमा हार्दिक आग्रह पनि गर्दछौँ ।
(भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाँचदिने भक्तपुर महोत्सवको उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिद्वारा शुक्रबार व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.