Explore news and happenings at Bhaktapur

चन्द्रागिरी नपाका प्रतिनिधि भक्तपुर नगरपालिकामा

भक्तपुर । २०७८ पुष १९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आउनुभएका चन्द्रागिरी नपा विधायन समितिका भ्रमण टोलीले सोमबार भेट गर्नुभयो ।

भक्तपुर नगरपालिका विधायन समितिबाट भए—गरेका कार्यहरुको अध्ययन अवलोकन गर्ने क्रममा भक्तपुर पुग्नुभएको उक्त टोलीलाई भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले खादा, भादगाउँले टोपी र परम्परागत थैलीबाट संयुक्त रुपमा स्वागत गर्नुभयो ।

भेटमा नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ पश्चात भक्तपुर नपाले १० वटा नगरसभा सम्पन्न गरी ४६ वटा ऐन, कानुन, नियमावली तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको अवगत गराउनुभयो ।

सांस्कृतिक नगरको रुपमा ख्याति कमाएको भक्तपुर नपाले यहाँको कला र संस्कृति संरक्षणमा विशेष जोड दिँदै पुरानो सम्पदा क्षेत्रमा मौलिक शैलीमा घर बनाउने नगरबासीहरुलाई घरको मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

भक्तपुर नपाले २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका ११८ वटाभन्दा बढी सम्पदाहरु जनताको आर्थिक सहयोग, जनश्रमदानबाट पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी गराउनुहुँदै सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले कसैको भर नपरेको र उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत गर्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।

कोभिडको समयमा भक्तपुर नपाले स्थापना गरेको आइसोलेसन कन्द्रबाट ४५५ जना कोभिडका बिरामीहरुलाई निःशुल्क उपचार गरेको जानकारी दिनुहुँदै उहाँले भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै जनताकेन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाले भर्खरै भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न गरेको अवगत गराउनुहुँदै उपभोक्ता समितिको काम नै भक्तपुरको विशेषताको रुपमा रहेको बताउनुभयो ।

भेटकै क्रममा चन्द्रागिरी नपा १४ नं. वडाका वडाध्यक्ष रामहरि बस्नेतले भक्तपुरको सम्पदा क्षेत्रको विषयमा जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आएको बताउनुहुँदै विधायन समितिबाट सम्पादित कार्यहरुबारे आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले अग्रणी स्थान हासिल गरेको बताउनुहु“दै भ्रमणका क्रममा भक्तपुरका पुराना शैलीका घरहरु, सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रको पनि अध्ययन भ्रमण गर्ने योजना रहेको बताउनुभयो ।
भ्रमण टोलीमा चन्द्रगिरी नपाका वडाध्यक्षसहित, नगर सभा सदस्य, न्यायिक समिति संयोजक र सदस्य, कर्मचारी, कानुनी सल्लाहकार, इन्जिनियर तथा न्यायिक सहजकर्तालगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.