भक्तपुर नगरपालिकाको आयोजनामा सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारी संस्थाका पदाधिकारीहरुको भेला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने कोसिस गरिरहेको बताउँदै आर्थिक तथा वित्तीय संस्थाहरु भ्रष्टाचार र आर्थिक अथियमिताबाट टाढा रहने सके मात्र देशको विकास हुने धारणा राख्नुभयो ।
भ्रष्टाचारीहरुलाई राज्य संयन्त्रबाटै संरक्षण भइरहेको बताउँदै समस्याग्रस्त सहकारी संस्थाहरुमाथि नगरपालिकाले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइरहेकोबारे प्रष्ट पार्नुभयो ।
भक्तपुर नपामा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई सञ्चालन गर्न स्वीकृति नदिनुका कारणहरुबारे प्रष्ट पार्दै उहाँले समुदायमा आधारित सहकारी संस्थाहरुले सदस्यहरुको बचत रकम संरक्षण र हितमा काम गर्न प्रेरित गर्नुभयो ।
राजनीति व्यापारको लागि नभई सेवाको लागि गर्नुपर्ने बताउँदै उहाँले देशमा राजनीतिक अस्थिरताले देश विकराल अवस्थामा पुगेको बताउनुभयो ।
भक्तपुरमा आन्तरिक पर्यटन वृद्धि गर्ने उद्देश्यका साथ नपाले काम गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरलाई संसारकै एक उत्कृष्ट गन्तव्यस्थल बनाउने अभियानमा सबै नगरबासीहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
सहकारी समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विना धितो ऋण प्रवाह, आफ्नो मान्छेलाई मात्र ऋण दिने, नाफा लुकाउने र संस्थाका केही पदाधिकारीहरुले मात्र प्रयोग गर्ने, संस्थाको बचतको रकम आफूखुशी सञ्चालन गर्ने, व्यक्तिगत नाममा जग्गा खरिद गर्ने, समुदायको हितमा काम गर्नेजस्ता विषय सहकारी क्षेत्रमा ब्याप्त भ्रष्टाचार भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले समुदायमा आधारित सहकारी संस्थामा पनि सञ्चालकहरुको मनोमानी चलिरहेको बताउँदै एकजना व्यक्ति एकवटा संस्थामा बाहेक सदस्य बन्न नपाउने निर्देशन व्यवहारिक नभएको बताउनुभयो ।
कार्यक्रममा सहकारी समितिका सदस्य हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।



