स्थानीय स्काउट भक्तपुर नगरपालिकाको दीक्षान्त समारोह तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न
भक्तपुर । जेठ ३२
नेपाल स्काउटअन्तर्गतको स्थानीय स्काउट भक्तपुर नगरपालिकाको दीक्षान्त समारोह तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय स्काउट भक्तपुर नगरपालिका कार्य समितिका ७ जना र परिषद् समितिका २० जना गरी २७ जना परिषद् सदस्यहरुलाई दिक्षित गर्नुभयो । सोही अवसरमा उहाँले परिषद्मा मनोनित सदस्यहरुलाई पत्र, ब्याच र स्कार्फ पनि वितरण गर्नुभयो ।
दीक्षान्त समारोहको औपचारिक कार्यक्रममा बोल्दै स्थानीय संरक्षक एवम् नगर प्रमुख प्रजापतिले स्काउटको मूल्य मान्यताभित्र बसी काम गर्ने, विद्यार्थीमाझ देशभक्तिपूर्ण भावनाको विकास गर्ने र देश विकास र समाजको निम्ति समर्पित भई काम गर्ने भावना स्काउट शिक्षाको महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
उहाँले नगरभित्रका विद्यालयहरुमा स्काउट गठनमा जोड दिनुपर्ने बताउँदै उहाँले स्काउट मास्टरहरु सेवामा प्रतिस्पर्धा गरी आफ्नो छुट्टै पहिचान कायम गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख तथा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख स्काउट रजनी जोशीले दिक्षित भएका सबैमा बधाईज्ञापन गर्दै कुनै पनि विपद्मा सक्रियतापूर्वक सहयोग गर्ने भावनाले स्काउट मास्टहरु तयारी अवस्थामा बस्नुपर्ने बताउनुभयो ।
नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संयोजक बालकृष्ण वनमालाले पद र जिम्मेवारीअनुसार आफूलाई दिइएको काम र कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न सबैजना प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त भक्तराज भण्डारी र स्काउट मास्टर पुष्पा प्रजापतिले पनि बोल्नुभएको थियो ।



