Explore news and happenings at Bhaktapur

इन्द्रायणी मन्दिरको द्योछेँ पुनःनिर्माणसम्बन्धी सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न

भक्तपुर । जेठ ३२

0
भक्तपुर नगरपालिका वडा नं. २ खौमास्थित ऐतिहासिक एवम् पुरातात्विक सम्पदा श्री इन्द्रायणी मन्दिरको द्योछेँ पुनःनिर्माणबारे आर्थिक विवरण सार्वजनिक परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले निर्वाचत प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, सरसफाइलगायत सम्पदा संरक्षण र पुनःनिर्माणलाई प्राथमिकताअनुसार कार्य गर्दै आएको चर्चा गर्दै कला संस्कृति संरक्षणलगायत नयाँ पुस्तालाई जानकारी दिन विभिन्न सांस्कृतिक प्रतियोगिताहरु आयोजना गरिरहेको बताउनुभयो । भक्तपुर नगरभित्रका युवाहरुलाई स्वरोजगार बनाउन युवा लक्षित युवा उद्यमशीलता ऋण दिने प्रक्रिया अगाडि बढिरहेको चर्चा गर्दै उहाँले युवाहरुलाई तालिम सञ्चालन गरी आत्मनिर्भरताको बाटोतर्फ दो¥याउने काम नपाले गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सम्पदा शाखा प्रमुख इ. रामगोविन्द श्रेष्ठले उपभोक्ता समितिमार्फत काम गर्दा प्रभावकारी हुनुका साथै जनताको अपनत्व पनि रहने बताउनुभयो ।
वडा सदस्य मन्जु लाखाजुले वडामा भइरहेको विविध विकास निर्माण कार्यलगायत घरदैलो नर्सिङ सेवाअन्तर्गत सञ्चालित कार्यक्रमबारे बताउनुभयो । उहाँले आ.व.. २०८१।८२ को योजना छनोट गर्न नगरबासीहरुसँग रायसुझाव संकलनको क्रममा वडा अगाडि बढिरहेको सोही क्रममा बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मन्दिर पुनःनिर्माण कार्यमा नगरपालिकाको बजेट (लगानी) का साथै विभिन्न संघ, संस्थाहरु, गुठीलगायत स्थानीयहरुले आर्थिक सहयोग गरिरहेको जानकारी दिनुभयो । साथै हालसम्मको पुनःनिर्माण कार्यमा रु. ५८ लाख ९४ हजार १३३।७८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भयो । उक्त कार्यक्रममा समितिका पदाधिकारीहरु राधेसुन्दर सैंजु, कृष्ण प्रधानांग र कृष्णश्वरी हाडाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.