Explore news and happenings at Bhaktapur

विश्वविद्यालयहरुमा अध्ययन अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड

भक्तपुर । २ जेठ २०८१, बुधबार

0
भक्तपुर नगरपालिकाको आयोजना तथा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागको सहकार्यमा गत वैशाख २५ गते सम्पन्न भक्तपुरको कला, संस्कृति र पर्यटन विषयक अन्तरक्रिया कार्यक्रमको बुधबार समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नेपाली युवाहरुलाई स्वदेशमै अध्ययन अनुसन्धान र रोजगारी दिने विषयमा सरकारको ध्यान नजाँदा युवाहरु विदेश पलायन भइरहेको बताउनुभयो । भूगोल, इतिहास, कला, संस्कृति, राजनीतिशास्त्र जस्ता महत्वपूर्ण विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु न्यून भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालयहरुमा अध्ययन अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरु विश्वकै सम्पत्ति भएको चर्चा गर्दै नगरपालिकाले कला संस्कृति रसम्पदा पुनःनिर्माण तथा नयाँ पुस्तामा सीप हस्तान्तरण प्रक्रियालाई प्रोत्साहित गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले विद्यालय तहमा स्थानीय पाठ्यक्रममार्फत नयाँ पिँढीलाई भक्तपुरको इतिहास, संस्कृतिबारे पढाइरहेको तथा उच्च तहमा अध्ययनरत विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति र शैक्षिक ऋण प्रदान गरिरहेको समेत जानकारी गराउनुभयो ।
त्रिवि नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले विश्वविद्यालयलाई समुदायसम्म पु¥याउने अभियानअन्तर्गत नगरपालिकासँग सहकार्य गरेर अध्ययन अनुसन्धान गराइरहेको बताउनुभयो । छोटो समयमा व्यवस्थित कार्यक्रम गरी उच्च तहका व्यक्तित्वहरुको उपस्थितिमा व्यापक सहभागितासहित कार्यक्रम भएकोमा नगरपालिकाप्रति उहाँले धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले विश्वविद्यालयमा भक्तपुरको कला संस्कृतिसँगै पर्यटन उद्योगबारे पनि पाठ्यक्रममा उल्लेख गरिएको प्रष्ट पार्दै यहाँका सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन विश्वविद्यालय र नगरपालिकाबीच सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरको कला संस्कृति र पर्यटनको विषयमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन त्रिविको तर्फबाट नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां, योगेन्द्रमान बिजुक्छेँ तथा कार्यपालिका सदस्यहरु छोरीमैंया सुजखू र कृष्णप्यारी भुजू उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै त्रिवि नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागका प्राध्यापकहरु डा. लोकनाथ दुलाल, डा. महेश आचार्य, डा. तिना मानन्धर, डा. पशुपति न्यौपाने, सहप्राध्यापक विश्वमोहन जोशी र अनुसन्धाता राजेश गाइँजूको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.