भक्तपुर, २ जेठ । वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला बुधबार सम्पन्न भयो ।
भेलामा वागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राम्रो विचार र सिद्धान्तले निर्देशित संस्थामात्र अगाडि बढ्न सक्ने भएकोले कार्यरत शिक्षक कर्मचारीहरूले सधैँ राम्रो विचार राख्नुपर्ने र संस्थाको हितविरुद्ध कुनै काम गर्न नहुने बताउनुभयो ।
वागीश्वरीको प्रगतिसँगसँगै नयाँ नयाँ चुनौती पनि थपिरहेकोले नयाँ चुनौतीलाई पार लाउन कार्यरत सबैले थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत वागीश्वरी विद्यालय/कलेज देशकै नमुना शैक्षिक संस्थाहरूमध्ये एक भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरलाई देशकै उदाहरणीय नगर बनाउने लक्ष्यका साथ भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू लागिपरेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाई सभ्य र सुसंस्कृत समाज निर्माणमा हामी प्रयासरत छौँ ।”
शिक्षण पद्धतिलाई तिखार्न भक्तपुर नगरमा पदस्थापना भएका शिक्षकहरूलाई नगरपालिकाले तालिम सञ्चालन गरेको र आउँदा दिनहरूमा पनि गर्दै जाने उहाँले बताउनुभयो ।
‘जागिरे प्रवृत्ति’ त्यागी एक सचेत र जिम्मेवार नागरिक बन्न शिक्षक–कर्मचारीहरूलाई प्रमुख प्रजापतिले निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “भनपाले शिशु स्याहारदेखि स्नातकोत्तर तहसम्म पढाइ हुने शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ । भनपाले ६ सत्न्दा बढी विद्यार्थीलाई रू. ५ लाखसम्मको शैक्षिक ऋण प्रदान गरिरहेको छ । देश र जनताको सेवामा समर्पित नयाँ पुस्ता तयार हुने अपेक्षासहित भनपाले शिक्षालाई प्राथमिकता दिई खर्च गरिरहेको छ ।”
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई योग्य, इमानदार, देशभक्त बनाउन विद्यालयले शैक्षिक सत्रमा नयाँ शैक्षिक कार्यक्रम र योजनाहरू सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।
“वागीश्वरीको प्रगतिले धेरै सर्वसाधारण जनताका अभिभावक र विद्यार्थीहरू लाभान्वित भएका छन् । वागीश्वरीको प्रगतिबाट समुदायमा खुसीको लहर छाएको छ”, उहाँले भन्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थी सङ्ख्या र शिक्षाको गुणस्तर नै वागीश्वरीको सफलताको मानक भएको धारणा राख्नुभयो ।
वागीश्वरीबाट समाजले धेरै अपेक्षा राखेको चर्चा गर्दै उहाँले कार्यरत शिक्षकहरूको गुणस्तर वृद्धि गर्न कलेजले विभिन्न तालिम एवं अनुसन्धानमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी बन्द–हडतालबाट मुक्त शैक्षिक संस्था भएको बताउनुभयो ।
शिक्षक तथा कर्मचारीहरूले अनुशासनलाई जीवन पद्धतिको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वागीश्वरी मानक विश्वविद्यालयको चरणमा पुगेको उल्लेख गर्नुभयो ।
वागीश्वरी मा.वि.का प्रअ कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले पनि बोल्नुभएको थियो ।